बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
तस्करी

१७ बुँदे निर्देशन बन्यो दलाल र मानव तस्करको कमाइ खाने भाँडो

भिजिट भिसामा कडाइ भएपछि नक्कली कागजातको सहारा
शुक्रबार, ०६ पुस २०८०, १७ : १८
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ ।  गत असोज १९ गते त्रिभुवन विमानस्थलबाट विदेश जान हिँडेकाहरुलाई फर्काइएपछि सुरु भएको भिजिट भिसा प्रकरणको अनुसन्धान र कारबाही प्रक्रिया अन्तर्गत पुस ४ गतेसम्ममा ३६ जना पक्राउ परिसकेका छन् । नक्कली कागजात बनाएर भिजिट भिसामा पठाइ खाडी लगायतका मुलुकमा मानव तस्करी गरेको सम्बन्धमा प्रहरीले संगठित अपराध र किर्तेसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

भिजिट भिसाका नाममा किन र कसरी तस्करी भइरहेको छ भनेर बुझ्नुभन्दा पहिले खाडी मुलुक, रसिया लगायतका देशमा मानिसहरु किन श्रम स्वीकृति नलिइ कामका लागि गए ? यो समस्या र विवाद कहाँ भइरहेको छ भन्ने बुझ्नु जरुरी छ ।

सरकारले मुख्यतः कुवेत लगायतका देशमा गएका महिलाहरु घरेलु तथा यौन हिंसामा परेको धेरै उजुरी र गुनासो आएपछि घरेलु कामदारका रुपमा साउदी अरब, कुवेत लगायतका देशमा जान प्रतिबन्ध लगाइदियो । त्यस्तै संयुक्त अरब इमिरेट्स लगायतका केही निश्चित देशहरुले श्रम स्वीकृति प्रक्रिया पूरा गरेर कामदार लैजानुभन्दा भिजिट भिसामा आएकाहरुलाई काममा लगाउँदा बढी फाइदा हुने देखेर भिजिट भिसामा आएका मानिसहरुलाई नै काममा लगाउन थाले ।

3

त्यसरी काममा लगाउन उनीहरुले आफ्नै देशमा खडा भएका कन्सल्टेन्सी वा कामदार सप्लाई गर्ने मेनपावर कम्पनीको एजेण्टलाई समाउन थाले । ती एजेण्टहरुले पनि नेपालको कर प्रणालीमा समावेश हुनसमेत नपर्ने र श्रम स्वीकृति लिएर लैजाँदा पर्न सक्ने दायित्वबाट मुक्ति पाउन पनि सुरुमा भिजिट भिसामा लगेर काममा लगाउन थाले ।

२०७२/०७३ सालबाट सुरु भएको भिजिट भिसाको धन्दा बढ्दै गयो । यसरी गएकाहरु समस्यामा पर्न थालेपछि उद्धारका लागि आग्रह गर्न थाले । तर भिजिट भिसामा गएका कारण उनीहरुको रेकर्डसमेत सरकारसँग नभएपछि उद्धारमा समेत समस्या देखियो । समस्या बढ्दै गएपछि सरकारले २०७८ साल फागुनमा भिजिट भिसामा कडाइ गर्यो ।

भिजिट भिसामा जान निश्चित आय भएकै हुनुपर्ने, खातामा पर्याप्तमात्रामा रकम हुनुपर्ने, जाने देशमा आफन्त हुनुपर्ने, महिलाको हकमा कम्तीमा प्लस टु पढेको हुनुपर्ने लगायतको मापदण्ड तयार पारिदियो । सोही मापदण्डका आधारमा अध्यागमन विभागले २०७८ साल फागुन २७ गते परिपत्र जारी गर्यो ।

गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट विदेश जानेहरुका लागि १७ बुँदे व्यवस्था गर्दै त्यो भन्दा फरक पाइए रोक्न निर्देशन दियो ।

त्यतिबेला दिइएको निर्देशन र व्यवस्थाका बुँदा यस्ता थिए-

१. खाडी मुलुकभन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरु,

२. न्यूनतम २ वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतीत गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरु,

३. न्यूनतम माध्यमिक तहको (कक्षा १२) औपचारिक शिक्षा वा सो सरहको प्राविधिक÷व्यावसायिक सिप दक्षता भइ आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता विज्ञ प्राविधिक व्यक्तिहरु,

४. अंग्रेजी वा गन्तब्य मुलुकमा बोलिने अन्तर्राष्ट्रिय भाषाको राम्रो सिप भएका व्यक्तिहरु,

५. आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति (एकाघरका आमा बाबु, सासु ससुरा, छोराछोरी, श्रीमानश्रीमती र वैदेशिक रोजगारमा रहेकाहरुको नातेदार समेत,

६. गन्तव्य मुलुकमा रहेको राजदूतावास/नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका व्यक्तिहरु,

७. सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु,

८. अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघ संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भइ भ्रमण गर्न जाने प्रतिनिधिहरु,

९. नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरु र व्यावसायिक कम्पनी/फर्मका सञ्चालक वा व्यवसायीहरु (एकाघरका आमा, बाबु सासु, ससुरा, छोराछोरी, श्रीमानश्रीमती),

१०. प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको नेतृत्व वा प्रायोजनमा आफ्ना सदस्यहरु÷कर्मचारीहरु समूह बनाइ खाडी राष्ट्र र मलेसिया भ्रमण कार्यक्रममा जान अध्यागमन विभागबाट पूर्व स्वीकृति प्राप्त गरेका व्यक्तिहरु,

११. ट्राभल एजेन्सीको घोषित टूर प्याकेजमा निर्धारित भ्रमण कार्यक्रम सम्पन्न भएपछि फर्काउने प्रतिबद्धता र जिम्मेवारी स्वघोषणा गरेका सूचीमा संलग्न व्यक्ति (तर खाडी मुलुक र मलेसियाको हकमा अध्यागमन विभागको पूर्व स्वीकृति आवश्यक पर्नेछ ।)

१२. वार्षिक न्यूनतम ५ लाख रुपैयाँ कर योग्य आय भै कम्तीमा सो को आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरु,

१३. औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरु (कर्मचारी/(एकाघरका आमा, बाबु, सासु ससुरा, छोराछोरी, श्रीमानश्रीमती),

१४. वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्ध्धनको लागि जाने म्यानपावर व्यवसायीहरु (सञ्चालक वा आधिकारिक प्रतिनिधि, एकाघरका आमा, बाबु, सासु ससुरा, छोराछोरी, श्रीमान–श्रीमती मात्र) ।

१५. नेपाली दूतावासको सिफारिस बमोजिम बिरामी कुरुवा वा रेखदेखको कार्य गर्न जाने तीन पुस्ता भित्रका पारिवारिक सदस्यहरु,

१६. खाडी मुलुक, मलेसिया, अफ्रिकन मुलुक र जोखिम भएका मुलुकहरुको भ्रमणमा जाने खेलाडी तथा कलाकारहरुको हकमा आयोजकबाट आधिकारिक निमन्त्रणा वा प्रायोजन पत्र प्राप्त गरेका सूचीमा संलग्न व्यक्ति (आयोजकको आमन्त्रण र प्रायोजन सम्बन्धी कागजात वेबसाइट/अनलाइन रुजु हुनुपर्ने अथवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट प्रमाणित÷सिफारिस भएको हुनुपर्ने, सो नभएमा सम्बन्धित निकायको सिफारिसमा अध्यागमन विभागबाट पूर्व स्वीकृति प्राप्त हुनुपर्ने । यसरी समूह वा व्यक्तिगतरुपमा भ्रमणमा जाने विषयमा सिफारिस गर्दा सिफारिस गर्ने निकाय जिम्मेवार रहने ।)

१७. माथि बुँदा नं (१५) मा उल्लेख भएको मापदण्ड वा आधारमा नपर्ने व्यक्तिको हकमा अध्यागमन विभागवाट अनिवार्य रुपमा पूर्व स्वीकृति प्राप्त गरेपछि मात्र भिसा तथा हवाई टिकट सम्बन्धी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकार पक्षलाई सुसूचित गर्ने ।

जब अध्यागमन विभागले भिजिट भिसामा जानेहरुका लागि १७ बुँदे निर्देशन जारी गर्दै कडाइ गर्यो, त्यसपछि नेपालबाट भिजिट भिसामा गइ विदेशमा कामकाज गर्न गाह्रो भयो । उता सरकारले घरेलु कामदारका रुपमा जान पनि प्रतिबन्ध लगाइसकेको थियो ।

त्यसपछि सुरु भयो नक्कली कागजात बनाएर भिजिट भिसाकै माध्यमबाट विदेश पठाउने अर्को धन्दा । रोजगारीका लागि खाडी लगायतका मुलुकमा जान खोज्नेहरुका लागि दलालले नक्कली कागजात बनाएर भिजिट भिसामा पठाउन थाले ।

यसरी हुन्छ नक्कली कागजातको निर्माण

कोही एक जना महिला घरेलु कामदारका रुपमा कुवेत जानुपर्ने भयो भने पहिले ती महिला कुनै स्थानीय एजेण्टको सम्पर्कमा पुग्छिन् । ती एजेण्टले कुन मुलुकमा रोजगारी छ र कति रकम लाग्छ तथा उक्त देशमा पुगेपछि कति तलब पाइन्छ भनेर जानकारी दिन्छन् । यस क्रममा अधिकांशले झुटो विवरण दिएर प्रलोभनमा पार्ने गर्दछन् ।

महिलाहरु घरेलु कामदारका रुपमा जाने हो भने उनीहरुलाई पठाएबापत त्यहीँका एजेण्ट वा घरमालिकले समेत कमिसन दिन्छन् । सबैले बुझ्ने भाषामा भन्ने हो भने घरेलु कामदारका रुपमा महिलालाई किनेबापत घरधनीले एजेण्टलाई पैसा दिन्छन् र महिला बेचेबापत एजेण्ट वा दलालले मोटो रकम पाउँछन् । त्यही भएर महिलाको हकमा सेटिङका लागि करिब एक लाख रुपैयाँ दलालहरुले लिन्छन् ।

6

दलालले लिएको त्यो एक लाख रुपैयाँ नक्कली कागजात बनाउने, नक्कली रिटर्न टिकट बनाउने, एयरपोर्टको पुलिस, एयरलाइन्सका कर्मचारी र अध्यागमनका कर्मचारीलाई बुझाउने कमिसन समेतको रकम हो । कतिपयको हकमा नेपालबाट ती मुलुकमा उड्ने हवाई टिकट पनि सोही रकमबाट दिइन्छ भने कतिपयको हकमा थप रकम लिइन्छ ।

अब पालो आउँछ नक्कली कागजात निर्माणको 

माथि भनिएको जस्तो १७ बुँदेमा नपर्ने व्यक्तिहरु भिजिट भिसामा जान पाउँदैनन् । राज्यले नीति बनाएपछि त्यो कानुनसरह हुने नै भयो र नीति र निर्देशन मान्नु सबैको दायित्व हुन्छ ।  

तर खाडी मुलुकमा घरेलु कामदारका रुपमा जानका लागि उनीहरुको मापदण्ड नै पुग्दैन । अधिकांशको हकमा कम्तीमा प्लस टु अध्ययन हुँदैन, अङ्ग्रेजी वा सम्बन्धित देशको भाषा जानेको हुँदैन, एकाघरको सदस्य ती मुलुकमा हुँदैनन्, त्यस्ता व्यक्तिलाई ट्राभल एजेन्सीले फिर्ता ल्याउने गरी भ्रमणमा लगेका हुँदैनन्, वार्षिक कम्तीमा ५ लाख रुपैयाँको करयोग्य आय हुँदैन भने अधिकांशको बैंक खातामा कम्तीमा दुई लाख ५० हजार रुपैयाँ पनि रहेको हुँदैन । यो केही नभएपछि बिना सेटिङ र बिना कागजात विमानस्थलबाट प्रवेशाज्ञा पाउने सम्भावना नै रहँदैन । त्यसपछि बन्न सुरु हुन्छ नक्कली कागजपत्र ।

त्यसका लागि स्थानीय दलाल काठमाडौँमा रहेका दलालको सम्पर्कमा पुग्छन् । उदाहरणमा लागि हाल प्रहरीले पक्राउ गरेका जयराम श्रेष्ठ जस्ता दलालहरुले कुन व्यक्तिलाई कस्तो कागजात चाहिने हो, त्यस्तो कागजात बनाउन उनीहरुको विवरण लिएर जान्छ ।

सबैभन्दा सजिलो भनेको भिजिट भिसामा जानेहरुका लागि प्लस टुको शैक्षिक प्रमाणपत्र बनाउने । त्यसपछि जयराम श्रेष्ठ लगायतका दलालहरु नक्कली शैक्षिक प्रमाणपत्र र नक्कली कागजात बनाउने दीपक केसी लगायतको सम्पर्कमा पुग्छन् । दीपक केसी पहिले पनि लिखत सम्बन्धी कसुरमा पक्राउ परी अदालतबाट दोषी ठहर भइ सजाय भोगिसकेका व्यक्ति हुन् ।

4

उनै दीपकले टोखामा फ्ल्याट नै भाडामा लिएर नक्कली कागजात तयार पार्ने कारखाना खोलेका थिए । उनको कारखानाबाट प्लस टुको सर्टिफिकेट, मार्कसिट, ट्रान्सक्रिप्ट, बैंक स्टेटमेण्ट लगायतका सबै कागजात तयार हुन्थे । दीपकले यी सर्टिफिकेट बनाउन करिब ३० हजार रुपैयाँ लिन्छन् ।

आवश्यक परेको समयमा दीपकले श्रम स्वीकृति, पुलिस रिपोर्ट आदि पनि त्यहीँबाट बनाइदिन्छन् । जान लागेको देशमा कोही आफन्त छन् भनेर कागजात बनाउनु परेमा पनि दीपकले नाता प्रमाणितको कागजात बनाइदिन्छन् । अर्थात् देशैभरका कुन निकायको कुन कागजात बनाउनु पर्ने हो, दीपकले नै सबै कागजात तयार पारिदिन सक्छन् ।

दीपकजस्तै नक्कली कागजातको उत्पादन गर्ने अर्को फ्याक्ट्री थियो स्वयम्भुमा । सल्यानको रामपुर कालिमाटी गाउँपालिका–३ घर भइ नागार्जुन नगरपालिकाको इचङ्गु नारायणमा फ्ल्याट भाडामा लिइ बस्ने ४२ वर्षीय बलबहादुर रावत पनि पहिले नै लिखत किर्तेसम्बन्धी कसुरमा दोषी ठहर भइ सजाय भोगिसकेका व्यक्ति हुन् ।

तर नक्कली कागजात तयार पार्दा मनग्ये आम्दानी हुने भएकाले यी दुवैले जेलबाट छुटेपछि पनि आफ्नो पुरानो धन्दालाई निरन्तरता दिइरहेका थिए ।

भिजिट भिसा लिने प्रयोजन र बाहिर जान विमानस्थलमा के के कागजात पेस गर्नुपर्ने हो, ती सबै कागजात यी दुई व्यक्तिले उत्पादन गर्न सक्थे । नक्कली कागजात तयार पार्ने फ्याक्ट्री नै चलाएर बसेका उनीहरुलाई विभिन्न कन्सल्टेन्सीहरुले समेत काम दिने गरेका थिए ।

... अनि गिरोहमा सामेल हुन्छ ट्राभल एजेन्सी

यी दुई र यस्तै व्यक्तिको सहयोगमा नक्कली कागजात तयार भएपछि अब सुरु हुन्छ ट्राभल एजेन्सीको काम । आफन्त विदेशमा भएको कागजात तयार पारेको भए आफन्तको डिटेल्स र आफन्त नभएमा होटल बुकिङ अनिवार्य हुन्छ । तर खाडी मुलुकमा पुगिसकेपछि पनि बाहिर निस्कनका लागि होटल बुकिङ चाहिने भएकाले अधिकांशले होटल बुकिङ बनाएका हुन्छन् । तर कतिपय होटलले बुकिङ गरेको शुल्क लिन्छन् भने कतिपयमा पहिले नै पैसा पठाउनुपर्ने हुन्छ ।

त्यस्तो हुँदा शुल्क धेरै खर्च हुने भएकाले नक्कली होटल बुकिङ गर्नुपर्ने हुन्छ । भिजिट भिसामा जानका लागि भिसा पनि झिक्नुपर्ने भयो । अनि त्यहाँ जानका लागि हवाई टिकट पनि बुकिङ गर्नुपर्ने हुन्छ । अनि दुईतर्फी हवाई टिकट भएन भने विमानस्थलबाट जान नदिन पनि सक्छ । त्यही भएर हवाई टिकटसमेत त्यहीँबाट बनाउनुपर्ने हुन्छ भने घुम्न जाने हो भने आइटीनरी पनि बनाउनुपर्छ ।

उदाहरणका लागि काठमाडौँबाट संयुक्त अरब इमिरेट्सको दुबई जाने हो भने एकतर्फी हवाई भाडा ४० हजार रुपैयाँ पर्छ । त्यही टिकट दुईतर्फी काट्ने हो भने ८० हजार रुपैयाँ पर्छ । यो टिकट नन रिफण्डेबल हो । यदि रिफण्डेबल टिकट काट्ने हो भने टिकट महङ्गो पर्छ र एकतर्फीको क्यान्सिल गर्दा करिब ६ देखि १० हजार रुपैयाँसम्म खर्च हुन्छ । त्यसकारण ट्राभल एजेन्सीले एकतर्फी टिकट मात्रै काटेर एकतर्फीको नक्कली टिकट तयार पारिदिन्छन् ।

5

ट्राभल एजेन्सीले भिसा निकाल्न, होटल बुकिङ गर्न, नक्कली हवाई टिकट बनाउने लगायतका कामका लागि टिकटमा लाग्ने शुल्क वा आफ्नो खर्चबाहेक १० देखि २० हजार रुपैयाँसम्म लिने गर्छन् । यस्तो कार्यका वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल, नीमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ लामा लगायतका व्यक्तिहरुले तयार पार्छन् ।

सम्पूर्ण कागजात तयार भइ भिसासमेत आएपछि कतिपय ट्राभल एजेन्सी आफैँले एयरलाइन्स कम्पनीका कर्मचारीसँग सेटिङ गरिदिन्छन् भने कतिपयले आफूलाई काम दिने दलालको जिम्मा लगाउँछन् ।

यता कतिपयले नक्कली श्रम स्वीकृतिसमेत बनाइसकेका हुन्छन् भने सम्बन्धित देशमा काम गर्नका लागि र मूख्यतः सेक्युरिटी गार्ड, लाइफ गार्ड, रसियन आर्मी आदिमा जानका लागि कतिपयको हकमा नक्कली पुलिस रिपोर्ट पनि तयार भइसकेको हुन्छ ।

यी सबै प्रक्रिया पूरा र नक्कली कागजात तथा एकतर्फी टिकटसमेत बनाउनेलाई करिब ३० हजार, नक्कली हवाई टिकट, होटल बुकिङ, भिसा निकाल्ने लगायतको कामका लागि करिब २० हजार रुपैयाँ गरी हवाई टिकट बाहेक नै करिब ५० हजार रुपैयाँ खर्च भइसकेको हुन्छ ।

सबै कागजात तयार भइसकेपछि कतिपयले विदेश जानेहरुलाई सबै कुरा बताएर विमानस्थलमा सोधे के भन्ने भनेर पाठ पढाएर विमानस्थल पठाएका हुन्छन् । विमानस्थलका कर्मचारी, प्रहरी, एयरलाइन्सका कर्मचारी सबैलाई थाहा हुन्छ कि को घुम्न जाँदै छ र को काम गर्न जाँदै छ भनेर । तर पनि नक्कली कागजातकै आधारमा घरेलु कामदार वा श्रम स्वीकृति नै नभएको कामका लागि भन्दै नेपालबाट भिजिट भिसामा घुम्न भन्दै मानिसहरु विमानस्थल पुग्छन् ।

(नोट : यस सम्बन्धमा प्रकाशित पहिलो स्टोरीमा भिजिट भिसामार्फत् किन र केका लागि भइरहेछ मानव तसकरी भन्ने सैद्धान्तिक विषय प्रस्तुत गरेका थियौँ । दोस्रो स्टोरीमा घरदेखि स्थानीय दलाल हुँदै नक्कली कागजात बनाउने गिरोह र ट्राभल एजेन्सीसम्मको भूमिकाबारे उल्लेख गरिएको छ । तेस्रो स्टोरीमा विमानस्थलका सुरक्षाकर्मी, एयरलायन्सका कर्मचारी र अध्यागमनका कर्मचारीले रकम लिएर कस्तो सेटिङमा कसरी मानव तस्करलाई सहयोग गर्छन् भन्ने प्रस्तुत गर्नेछौँ । –सम्पादक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप