मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थतन्त्रका अधिकांश सुचकांकहरू सकारात्मक बनेका छन्  : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, ०६ पुस २०८०, १७ : ३२
शुक्रबार, ०६ पुस २०८०

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश सुचकांकहरू सकारात्मक बनेको बताएका छन् । तर अर्थतन्त्र दबाबमुक्त भने नभएको उनले बताए । विराटनगरमा शुक्रबारदेखि आयोजित मोरङ व्यापार संघ ट्रेड एक्स्पो उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले महँगी कम रहेको, निर्माण व्यवसायीको भुक्तानी गर्ने प्रक्रिया अगाडि बढेको र नयाँ आयोजना अगाडि बढ्दै गएको बताए । बैंक ब्याजदर, लघुवित्त र सहकारीको समस्या हल हुँदै गएको पनि उनले बताए । तर, रेमिट्यान्सको भरमा मुलुक चल्नु राम्रो नभएपनि वर्तमान अवस्थामा अति महत्त्वपूर्ण रहेको उनले बताए । बैंकको ब्याजदर घट्दै गएको, ऋण प्रवाह बढेको, स्थायी तरलताको सुविधा घटाइएको कारण अर्थतन्त्र लयमा फर्किएको उनले बताए। पर्यटन क्षेत्रमा पनि सुधार आएको उनले बताए ।

तर, आमनागरिक र व्यवसायीको मनोबल उठाउने चुनौती सरकारसामु रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नकारात्मक भाष्य बनाउने फेसन जस्तो बनाउने प्रयास भइरहेको प्रति सचेत हुनुपर्ने बताए । उनले अब नेपाल उज्यालोतिर पनि गइरहेको सन्देश दिनुपर्ने र रचनात्मक आलोचना गर्नतिर लाग्नुपर्ने बताए । उनले विराटनगर कटहरी कार्गो रेल संचालनको विषयमा भारतबाट आउने उच्च नेतृत्वसँग छलफल गर्ने बताए । उनले विराटनगर विशेष आर्थिक क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले विराटनगर गिरिजाप्रसाद क्रिकेट रंगशाला बनाउने, पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज संचालनका लागि पहल गरेको स्मरण गर्दै विराटनगर चक्रपथ बनाउन आगामी नीति तथा कार्यक्रममा समेट्ने बताए ।

उनले गिरिजाप्रसाद कोइरालाको नाममा रहेका संघसंस्थालाई सक्दो सहयोग गर्ने  बताए । विराटनगर पछि पर्न नहुने बताउँदै त्यसको लागि सक्दो सहयोग गर्ने उनले बताए ।

कांग्रेस नेता डा।शेखर कोइरालाले विराटनगर प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको भएपनि कसैसँग केही नमागी अगाडि बढ्दा राज्यले ध्यान नदिएको बताए ।

उनले पञ्चायती कालमा विराटनगरलाई हेला गरे पनि उद्योगी व्यवसायीले बचाएको भन्दै अहिले पनि उनीहरूको विश्वास लिनुपर्ने बताए ।

कोइरालाले रिङ रोडलाई बहुवर्षेमा राखेर अगाडि बढाउनु पर्ने, विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए ।  

अहिले ४० प्रतिशत सटरहरू बन्द भएको, बैंकले पनि मिटरब्याजी बनेको, कृषि ऋण ५र६ प्रतिशतमा दिनुपर्नेमा वास्तविक किसानलाई नदिएको उनले दाबी गरे । यो विषयमा राष्ट्र बैंकका गभर्नरलाई राखेर कुरा गर्नुपर्ने प्रधानमन्त्रीलाई उनले सुझाव दिए ।

महोत्सव उद्घाटन कार्यक्रममा विराटनगर महानगर प्रमुख नागेश कोइरालाले पछिल्लो समय विराटनगर पछि परिरहेको बताए । उनले विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल बनाउनुआवश्यक भएको बताए ।

उनले विराटनगर जुटमिलको संरक्षण अभाव भएको, विराटनगर रिङ रोड बन्न नसकेको, मालबहाक रेल संचालनमा नआएको, विराटनगर क्षेत्रीय विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने, क्षेत्रीय उडानहरू विराटनगरबाटै गर्नुपर्ने लगायतका माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप