शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
मेडिकल क्षेत्र

मेडिकल हब बन्दै विराटनगर, निजी क्षेत्रबाटै १५ अर्बभन्दा बढी लगानी

झण्डै ५ हजारलाई रोजगारी
शुक्रबार, ०६ पुस २०८०, १४ : ५१
शुक्रबार, ०६ पुस २०८०

विराटनगर । केही दिन अगाडि विराटनगरका उद्योगी राजेन्द्र राउतले २५० करोडको लगानी अनुमान गर्दै अस्पताल भवनको शिलान्यास गरे । उनले भविष्यमा तीन सय शय्याको अस्पताल र नर्सिङ कलेज चलाउने लक्ष्य राखेका छन् ।

विराटनगरको सिमाना नजिकै मोरङको बुढीगंगा–१ मा उक्त अस्पताल निर्माण सुरु गरिएको हो । बुढीगंगाको टंकीसिनुवारीमै अहिले विराट टिचिङ अस्पताल सञ्चालित छ । त्यहाँ पनि ठुलो लगानी छ ।

यस्तै विराटनगर–५ मा नोबेल मेडिकल कलेज सञ्चालित छ । उक्त मेडिकल कलेजमा पनि ठुलो परिमाणमा लगानी भइरहेको छ भने सयौँ मानिसले रोजगारी पाइरहेका छन् ।

न्यूरो कार्डियो स्पेसियालिटी अस्पताल विराटनगर–१० मा सञ्चालित छ । यसमा पनि अरबभन्दा बढी लगानी छ र सयौँ कामदार छन् ।

लामो समयदेखि विराटनगरको हस्पिटल चोकमा सञ्चालित गोल्डेन अस्पतालले विराटनगर ११ मा एक सय शय्याको नयाँ अस्पताल भवन निर्माण गर्दैछ । जहाँ ५२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । विराटनगर–२ मा रहेको मोरङ सहकारी अस्पताल पनि ठुलो अस्पताल हो । निजी क्षेत्रबाट सञ्चालित यी अस्पताल विराटनगरमा मात्रै होइन, कोशी प्रदेश, मधेस प्रदेश र भारतको बिहारमा समेत परिचित छन् ।

यस्तै, विराटनगर–१४ मा सञ्चालित विराटनगर आँखा अस्पताल दक्षिण एसियाकै उत्कृष्ट आँखा अस्पताल हो । यहाँ पनि ठुलो लगानी छ र सयौँ कामदार छन् । आँखा अस्पतालकै रुपमा विराटनगरमा चर्चित अर्को अस्पताल हो गोल्छा आँखा अस्पताल । यस्तै विराटनगर–२ मा रहेको तापडिया आँखा अस्पताल, विराटनगरको हाइवे लाइनमा खोलिएका रोडशेष दक्षिणका हिमाल आँखा अस्पताल, दिव्यज्योति आँखा अस्पताल पनि ठुलो लगानीका अस्पताल हुन् ।

विराटनगरमै सानातिना अस्पतालको रुपमा हाम्रो अस्पताल, म्याक्स अस्पताल, ग्रीनक्रस अस्पताल, आर्य न्यूरो अस्पताल सञ्चालित छन् ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कोशी प्रदेशमा जम्मा ८३ वटा सार्वजनिक÷सामुदायिक र निजी अस्पताल छन् । कोशी प्रदेशका १४ जिल्लामध्ये मोरङमा मात्रै सबैभन्दा धेरै ३४ वटा अस्पताल छन् । त्यसमा पनि ३ सय शय्या क्षमताभन्दा बढीको ३ वटा र २६ देखि तीन सय शय्यासम्मको १५ वटा अस्पताल मोरङमै छन् ।

यस्तै १६ देखि २५ शय्यासम्मको ११ वटा र १५ बेडसम्मको अस्पतालको संख्या मोरङमा ५ वटा छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले ५ वर्ष अगाडि गरेको सर्भेक्षणमा पनि ती स्वास्थ्य तथा सामाजिक सेवा सम्बन्धी संस्थाहरुको संख्या कोशी प्रदेशमा ३ हजार ९७२ छ । जसमध्ये मोरङमा मात्रै सबैभन्दा धेरै ५०६ वटा छन् ।

ती संस्थाहरुमा कार्यरत जनशक्तिको संख्या प्रदेशभरमा २७ हजार ६५२ रहँदा मोरङमा मात्रै ७ हजार १३३ जना छन् ।

निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनका प्रदेश अध्यक्ष डाक्टर शंकर अधिकारीका अनुसार विराटनगरमा २५ वटा निजी अस्पताल छन् । जसको भौतिक संरचना, औजार, उपकरण, प्रविधि, जनशक्ति र व्यवस्थापन सबैमा भएको लगानी १५ अर्बभन्दा बढी छ । विराटनगरमा सञ्चालित सरकारी अस्पतालमध्ये कोशी अस्पताल पनि ठुलो अस्पताल हो । ‘विराटनगरकै स्वास्थ्य संस्थामा मात्रै ४ हजारभन्दा बढीले रोजगारी पाइरहेको देखिन्छ,’ अधिकारीले भने, ‘आँखा अस्पतालमा प्रायः भारतीय बिरामी बढी आउने गरेका छन् । अन्य अस्पतालहरुमा पनि १० प्रतिशत जति भारतीय बिरामी आउने गरेको अनुमान छ ।’

गोल्डेन अस्पतालका सञ्चालक सनातन मण्डल भने विराटनगर स्वास्थ्यको हब बनिरहेको बताउँछन् । ‘विराटनगरमा मध्यमस्तरका भारतीयहरु पनि उपचारका लागि आउन थालेका छन्, किनकि यहाँको स्वास्थ्य सेवा सस्तो छ,’ मण्डलले भने, ‘भारतका उच्च घराना र विराटनगरका उच्च घरानालाई यहीँ उपचारको व्यवस्थापन गर्नका लागि हामीले गुणस्तर बढाउनु पर्छ ।’

गुणस्तरीय उपचारलाई प्रभावकारी बनाउन सके काठमाडौँबाट पनि विराटनगर उपचारका लागि मानिसहरु आउन सक्ने उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप