आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

सहकारी पीडितको आक्रोश : मरेपछि लास घाटमा नलैजानू, प्रशासनमा फाल्दिनू

शुक्रबार, ०६ पुस २०८०, ११ : ५६
शुक्रबार, ०६ पुस २०८०

पोखरा । सराङकोटका भीमप्रसाद चपाईंले जग्गा बेचेर सूर्य दर्शन सहकारीमा पैसा जम्मा गरे । सुरुमा कृषि विकास बैंकमा राखेको पैसा उनले पछि सहकारीमा सारेका हुन् ।

बैंकमा पैसा राखेको थाहा पाएपछि सहकारीका सञ्चालकहरु घरमै गएर उनलाई सहकारीमा पैसा राख्न दबाब दिएका थिए । उनले २० लाख रुपैयाँ जम्मा गरेका थिए । आफैँले राखेको पैसा झिक्न साढे २ वर्षदेखि धाएका उनले एक रुपैयाँ पनि निकाल्न पाएनन् ।

सहकारीको पैसा डुब्ने देखेपछि चपाईंलाई परिवारले समेत छुट्याइदिएका छन् । ‘अहिले एक्लै छु । डिप्रेसनको सिकार भइसकेँ । मेरो सहारा कोही छैन,’ उनले भने, ‘म मर्दा लास जिल्ला प्रशासनमा ल्याएर फाल्दिनू । घाटमा नलैजानू । ८० वर्षको बुढो भैसकेँ । यस्तो अन्याय खेप्नुपर्यो ।’

प्रशासनले पैसा उठाइदेला भन्ने आस लिएर सयौँ पटक सरकारी निकाय धाए पनि पैसा उठ्ने छाँटकाँट नदेखेपछि चपाईंले सरकार भएको अनुभव गर्न नपाएको बताए । ‘प्रशासनमा आएपछि न्याय पाइन्छ कि भन्ने आस थियो, मेरो आसा मर्यो । यिनीहरुबाट जनताको सुरक्षा हुँदैन,’ उनले आक्रोशित हुँदै भने, ‘सीडीओ, एसपी पनि पीडितलाई न्याय दिनेभन्दा पीडक भगाउन लागे । यिनीहरु माथि पनि छानबिन हुनुपर्छ ।’

केही दिन अघि सूर्य दर्शनको रकम अपचलन आरोप लागेका शिवबहादुर गुरुङ उर्फ महेन्द्र लगायतका व्यक्तिहरुसँग प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र एसपी मोहन थापाले लेकसाइडको फिस्टेलमा मिटिङ गरेको फोटो सार्वजनिक भएको थियो ।

अर्का पीडित गुणराज आचार्य पीडितहरुको माग सम्बोधन गर्न प्रशासन तयार नभएको गुनासो गर्छन् । पीडितहरु बुधवार सीडीओलाई ज्ञापनपत्र बुझाउन गएका थिए । सीडीओ नभेटेपछि उनीहरुले सहायक सीडीओलाई बुझाए । ‘दोषीहरु रेड कर्नर नोटिस जारी गर्ने भन्ने थाहा पाएपछि मात्रै काठमाडौँ गएको थाहा भयो । सरकार छ भने पीडितले न्याय पाउनुपर्यो नि । १९ जनालाई पुर्जी जारी गरेकोमा एक जनामात्रै समातेको छ,’ आचार्य भन्छन्, ‘हामीले जति पैसा जम्मा गरेका छौँ, त्यही पैसाले व्यवसाय चलाएका छन् । हाम्रो पैसा खाएका छन्, हाम्रै पैसाले सेटिङ मिलाएर बसेका छन् ।’

उनले सहकारीको रकमबाट सञ्चालन भएका सबै व्यवसाय बन्द गरिनुपर्ने माग राखे । उनीहरुले एसपी र सीडीओकै सेटिङमा पीडकलाई भगाएको आरोप लगाएका छन् ।

रकम फिर्ता गर्ने शिवशिखरको प्रतिबद्धता

पोखरामा सेवा कार्यालय रहेको शिव शिखर सहकारीले बचतकर्तालाई आवधिक रुपमा रकम फिर्ता गर्ने सहमति गरेको छ । पीडित र सहकारी सञ्चालकको प्रतिनिधिबिच ५ वटा स्किममा बचत फिर्ता गर्ने सहमति भएको पीडित संघर्ष समितिका संयोजक टेकराज तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार १० हजारसम्म बचत रकम भएकाहरुले शिव शिखरकै मार्टबाट सामान लिने, १० हजारदेखि १ लाखसम्मका बचतकर्तालाई कार्तिक १५ गतेदेखि नगदै फिर्ता गर्ने, १ देखि ५ लाखसम्म बचतकर्तालाई माघ १ गतेदेखि र ५ लाखभन्दा बढी रकम भएकाहरुलाई आगामी वैशाख १ (२०८१) देखि रकम फिर्ता गर्ने सहमति भएको हो ।

कसैले जग्गा लिन चाहेमा त्यसको समेत व्यवस्था गर्ने सहमति भएको छ । पोखरामा मात्रै दुई केन्द्रमा ७२ सय बचतकर्ताको खाता रहेको तथ्याङ्क छ । त्यसमध्ये ४ सय हाराहारीको ५ लाखभन्दा बढी बचत छ । शिव शिखर सहकारीले पोखराको पर्स्याङ र चाउथेमा दुई वटा सहकारी, २ डिपार्टमेन्टल स्टोर र खाद्यान्न सप्लाई गर्ने एग्रो मार्ट सञ्चालन गरेको थियो ।

११ जना सञ्चालकलाई ८ वर्षसम्म जेल सजायको माग दाबी गर्दै अदालतमा मुद्दा दर्ता भएको छ ।

इमेजद्वारा १७ सयभन्दा बढी बचतकर्ताको रकम अपचलन

पोखरा र बागलुङबाट सञ्चालन भएको इमेज बचत तथा ऋण सहकारी संस्थाले १७ सय भन्दा बढी बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका देवकुमार नेपालीले सञ्चालन गरेको इमेज सहकारी विरुद्ध प्रहरीले अनुसन्धान सकेर अदालतमा फाइल बुझाएको छ ।

६ महिनाभन्दा बढी बेपत्ता भएका सञ्चालक नेपालीले केही समयअघि फेसबुक लाइभमा आएर सबै रकम फिर्ता गर्ने प्रतिबद्धता सहित त्यसको माहोल मिलाइदिन आग्रह गरेका थिए । उनले आफ्ना नाममा भएका सम्पत्तिहरु सार्वजनिक गर्दै जायजेथा बेचेरै भए पनि रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । तर प्रहरीले भने नेपालीको खोजी भइरहेको र भेट्ने बित्तिकै पक्राउ गर्ने बताएको छ ।

मित्रमिलनका ३० जनाविरुद्ध पक्राउ पुर्जी

पोखराबाट चलेको मित्रमिलन सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले ३० जना विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । उनीहरुमध्ये ५ जना पक्राउ परेका छन् । अन्य बाहिर छन् ।

प्रहरीले पक्राउ पुर्जी जारी भएकाको खोजी भइरहेको जनाएको छ । २७ करोड हाराहारी रकम अपचलन भएको आरोप मित्रमिलन विरुद्ध छ । सञ्चालक समितिले बचतकर्ताको रकम हिनामिना गरेर समयमा फिर्ता नदिएपछि प्रहरीमा उजुरी पुगेको थियो । सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेको हो । यो सहकारी ठगी काण्डमा वडाध्यक्षदेखि वकिल र पत्रकारसम्म मुछिएका छन् ।

कालिकामा २ करोडभन्दा बढी हिनामिना

लमजुङको कालिका बचत तथा ऋण सहकारीले २ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप छ । सोही आरोपमा २६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । क्याम्पसप्रमुखदेखि पत्रकार र केही सञ्चालकहरु पक्राउ परिसकेका छन् । मुख्य दोषी भनिएका मृगेन्द्र घिमिरे र उनकी श्रीमतीलाई प्रहरीले खोजिरहेको छ ।

पर्वतका दुई सहकारीको अनुसन्धान सकियो

पर्वतका दुई सहकारी विरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने चरणमा पुगेको छ । तपाईं हाम्रो बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था र ग्रामीण विकास कृषि सहकारी संस्थाका ८ जना सञ्चालक पक्राउ परेका छन् ।

दुवै सहकारीको अनुसन्धान सकेर अदालतमा पेस गर्ने तयारी भएको डीएसपी खुमलाल भुसालले जानकारी दिए । उनका अनुसार सहकारी रजिष्ट्रारको कार्यालय पोखराले विज्ञ टोली खटाएर घटनाको अनुसन्धान गरेको हो । तपाईं हाम्रा सहकारीका ३ र ग्रामीण विकासका ५ जना पक्राउ परेका छन् ।

गण्डकीमा के छ सहकारीको अवस्था ?

गण्डकी प्रदेशभरि १३ सयभन्दा बढी सहकारी छन् । तीमध्ये ३ सय ६८ वटा पोखरा महानगरपालिकामा मात्रै छन् । ९ सय ४३ वटा सहकारीको नियमनचाहिँ सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले गर्छ । तर ४ सय ३५ सहकारी मात्रै सम्पर्कमा रहेका रजिष्ट्रार भेषराज रिजालले बताए । ‘सहकारी दर्ता भएका छन् । कतिपय चलेकै छैनन् । गण्डकी प्रदेशमा दर्ता भएकामध्ये आधाभन्दा बढी हाम्रो सम्पर्कमा छैनन्,’ उनले भने, ‘हामी फिल्डमै पुगेर खोजी गरिरहेका छौँ । धेरैजसो सहकारी कागजमा छ, फिल्डमा छैन ।’

गत वर्ष १०२ वटा सहकारीमा अनुगमन निरीक्षण गरिएको थियो । तीमध्ये ८ वटा सहकारीलाई जरिवाना गरिएको थियो । ‘१ देखि ५ लाखसम्म जरिवाना गरिएको छ । १५ वटासँग स्पष्टिकरण मागेका थियौँ,’ उनले भने ।

गत वर्षमात्रै १६ वटा सहकारी मर्ज भएका छन् । हालसम्म गण्डकीमा १ सय ५५ वटा सहकारी मर्ज भएका कार्यालयले जनाएको छ । यहाँका सहकारीमा १२ अर्ब ४ करोड ६३ लाख शेयर पुँजी छ भने ५८ अर्ब ४९ करोड बचत देखिन्छ । उनीहरुले ऋण भने ६४ अर्व ५० करोड लगानी गरेका छन् । २ अर्ब ३२ करोड शेयर लगानी गरिएको छ ।

सहकारीहरुमा ३ अर्ब २८ करोड जगेडा कोष छ भने १ अर्ब ७६ करोड अन्य कोष छ । सहकारीहरुले एक वर्षमा ११ करोड ८२ लाख रुपैयाँ आयकर तिरेका छन् । ५ लाख ८५ हजार १ सय ८२ नागरिक सहकारीको सदस्य बनेका छन् ।

पोखराका सहकारी

हालसम्म गण्डकी र पोखरामा कार्यक्षेत्र रहेका सूर्यदर्शन, इमेज, शिवशिखर, मित्रमिलन सहित लमजुङको कालिका, पर्वतको तपाईं हाम्रो र ग्रामीण विकास सहकारी क्रोनिक अवस्थामा छन् । उनीहरुलाई अनुसन्धान गरी थप प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

पोखरा महानगरमा रहेका सहकारीको लगानी छुट्टै छ । यहाँका सहकारीको सेयर पुँजी ७ अर्व ४२ करोड छ भने १६ अर्व १९ करोड बचत छ । महानगरको विवरण अनुसार यी सहकारीले १९ अर्ब २२ करोड लगानी गरेको देखिन्छ । यहाँका सहकारीमा १ लाख ८८ हजार ८२७ जना सेयर सदस्य छन् । महानगरका सहकारी समितिका अध्यक्ष रविरमण तिवारी केही सहकारी पहिलेदेखि नै समस्यामा फसेको बताउँछन् ।

‘समस्या आजदेखि आएको होइन । पहिले देखि नै समस्या रहेछ । कतिपय सहकारीहरु पूर्व स्वार्थकै आधारमा खुलेका पनि छन्,’ उनले भने, ‘अधिकांश समस्या अहिलेको आर्थिक मन्दीका कारण आएको हो । केहीचाहिँ सञ्चालकको बदमासीले समस्याग्रस्त भएको छ । उनीहरुले सहकारी खोल्ने बेलैमा अपचलनको तयारी साथ खालेका रहेछन् ।’

यद्यपि सबै सहकारीमा समस्या नरहेको उनको दाबी छ । ‘केही सहकारीमा समस्या देखिएको हो । सबै सहकारीमा समस्या छैन,’ तिवारीले भने, ‘सदस्यहरु पैसा जम्मा गरेपछि ढुक्क भएर बस्नुहुन्छ । उहाँहरु पनि जागरुक हुनुपर्छ, कर्मचारी र संचालक पनि अलि जिम्मेवार हुनप¥यो ।’

क्रोनिक सहकारीको विवरण

sahakari

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप