नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति समीक्षा गर्दै ब्याजदर र बैङ्कदर घटाएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निरन्तर सुधार आइरहेको छ । १८ सय अङ्क आसपास रहेको नेप्से परिसूचक बढेर २२ सय अङ्कतर्फ अघि बढेको छ । साढे २ वर्षदेखि १८ सय अङ्कमा घुमेर बसेको नेप्से परिसूचक निरन्तर बढेपछि भावी दिनमा वृद्धि वा गिरावटबारे लगानीकर्तामा अन्योल देखिन्छ । यस्तै नयाँ स्टक एक्सचेन्ज र १० कित्ता सेयर बाँडफाँट नीति परिवर्तन गर्न बहस छेडिएको छ । यही विषयमा केन्द्रित बनेर रातोपाटीले सेयर लगानीकर्ता छोटेलाल रौनियारसँग गरेको कुराकानीको सम्पादित अंशः
–परिसूचक बढ्दै गर्दा व्यस्तता बढेको होला । अहिले चाहिँ कत्तिको व्यस्त हुनुहुन्छ बजारबाट ‘प्रोफिट बुक’ गर्न ?
अहिले ‘प्रोफिट बुक’ गर्ने समय होइन । ‘फन्डामेन्टल स्ट्रङ’ भएका कम्पनी किन्ने हो । बजार बढेको समयमा पोर्टफोलियोको २०–३० ट्रेड पनि गर्न मिल्छ । साढे दुई वर्षदेखि सबै कम्पनीको सेयर मूल्य घटेर न्यून बिन्दुमा आइपुगेको छ । यतिबेला राम्रा राम्रा कम्पनी छानेर छोटो र दीर्घकालीन रूपमा लगानी गर्ने समय हो । बजार केही सातायता बढे पनि उच्च बिन्दुमा पुगेको छैन । त्यसैले यो समयमा म चाहिँ सेयर थप्दै छु ।
–तपाईंं सेयर बजारमा दशकभन्दा बढी समयदेखि हुनुहुन्छ । तपाईंंको अनुभवले परिसूचक निरन्तर बढेर माथि जाला ? वा घट्ला ?
बजार बढ्दो अवस्थामा नै छ । यतिबेला बैङ्क ब्याजदर घट्दो अवस्थामा छ । सीडी रेसियो केन्द्रीय बैङ्कले ९० तोके पनि ८० मा आइसकेको छ । बजारमा पर्याप्त तरलता छ र यस्तो समयमा सेयरतर्फको ऋण भर्खरै सुरु भएको छ । अहिले बजारमा आएको रकम स्वस्फूर्त रूपमा आएको लगानी हो । बैङ्कको ऋणमार्फत गरिने लगानीबाट रकम झनै बढ्छ । यस अघि सेयर बजार ६० अर्ब रुपैयाँ हाराहारी ऋण प्रवाह भएकोमा बढ्न थालेपछि ८५ अर्ब रुपैयाँ आसपास पुगेको छ । सेयर बजारमा धेरै ऋण छैन । जब कि उच्च पदस्थमा पुगेका व्यक्तिहरूले टन्नै ऋण छ भनेर हल्ला पिट्छन् ।
–यो वृद्धि कायम रहे परिसूचक कतिसम्म पुग्ला ? यसअघिको ३२ सय अङ्कको बिन्दु पार गर्ला ?
साढे २ वर्षदेखि घटेर १८ सय अङ्क आसपास बजार आइपुगेको थियो । यो पुँजीबजारमा ‘डिप्रेसन’ को समय थियो । यो मूल्यलाई हेर्दा यसअघिको ११ सय अङ्कको परिसूचकभन्दा पनि तल आएको हो । यतिबेला बैङ्कसँग पर्याप्त रकम छ र ब्याजदर घट्दै छ । यस्तै, लगानीकर्ता ‘वेट एन्ड सी’ मा थिए । एक वर्षको इतिहास हेर्दा कम्पनीहरूको मूल्य अहिलेसम्मकै न्यून अवस्थामा आएको छ । यसबाहेक नियामकीय निकायले पनि बजार बढ्न सहज हुने गरी सुधार गरेको छ । केन्द्रीय बैङ्कले ४–१२ को सीमा बढाइदिएको छ ।
यस्तै ठुला लगानीकर्ताले समेत बजारमा प्रवेश गरेका छन् । दैनिक रूपमा हुने कारोबार पनि ७ अर्बसम्म पुगेको छ । इन्ट्राडेमा घटेको बजार अन्तिम समयमा बढेर बन्द भएको स्थिति पनि छ । निरन्तर बढेपछि केही करेक्सन हुन्छ नै । दिगो रूपमा बढ्नका लागि करेक्सन समेत चाहिन्छ ।
–अहिले बजार १८ सय अङ्कबाट बढेर २२ सय अङ्क आसपास पुगिसकेको छ । अहिलेको अवस्थामा ब्याजदर र बैङ्कदर घट्नुबाहेक के कारण छ र ? जब कि देशको अर्थतन्त्र मन्दीमा छ । अधिकांश सूचक नकारात्मक देखिन्छन् ।
विश्वको सेयर बजार हेर्दा पाकिस्तानको अर्थतन्त्र ‘क्रिटिकल’ अवस्थामा हुँदा पनि परिसूचक ६५ हजार पुगेको थियो । श्रीलङ्काको अर्थतन्त्र धराशायी बने पनि परिसूचक ‘अलटाइम हाई’ बनेको थियो । विश्वव्यापी रूपमा मन्दी चल्दा भारतको सेयर बजारले अहिलेसम्मकै उचाइमा पुगेको छ । चीनमा भने केही करेक्सनको स्थितिमा छ । तपाईंंले भने जस्तै नेपालमा निर्यात र आयात घट्दा पनि शोधानान्तर नाफामा छ । रेमिट्यान्सले कीर्तिमान कायम गर्दै छ । केन्द्रीय बैङ्कसँग १ वर्षभन्दा धेरैको आयात धान्ने विदेशी मुद्राको सञ्चिति छ । महँगीसमेत नियन्त्रणमा रहेको तथ्याङ्कले देखाउँछ । यो तथ्याङ्क हेर्दा बजार बढ्न चाहिने सबै सूचक सही अवस्थामा छन् ।
परिसूचक १८ सयदेखि २ हजार भनेको दक्षिण एसियाकै न्यून हो । अहिलेसम्म गङ्गा उल्टो बग्यो र अब सुल्टो बग्ने समय आएको छ । त्यसैले मेरो विचारमा यो लगानीको उत्तम समय हो । १८ सयमा परिसूचक आउँदा १६ सयमा आउँछ भनेर हल्ला पिटियो । तर ७–८ पटक परीक्षण गरेर बजार माथि नै गयो ।
–बजार १८ सय अङ्कमा हुँदा अझै घट्ने आसमा बसेका लगानीकर्तालाई के भन्न चाहनुहुन्छ ? बजार अझै घट्न सक्छ वा लगानी गर्ने समय कटिसक्यो ?
बजार १६ सयमा आउने विश्वासमा बसेका लगानीकर्ताले ठुलै अवसर गुमाइसकेका छन् । बजार कति अङ्कमा पुग्छ वा आउँछ भनेर भन्नु ज्योतिष जस्तै भयो । बजार घटेको समयमा घाटा र बढेको समयमा नाफा हुन्छ नै । बजारमा लगानीकर्ता र ट्रेडर्स बन्न सक्नु पर्छ । बजारमा लगानीकर्ता हाबी हुँदा ‘बुल’ मा समस्या पर्छ । ट्रडर्स हाबी हुँदा ब्रोकर मोटाउने मात्रै हो ।
–यति बेला चोकचोकमा सेयर बजारबारे कुराकानी भएको सुन्न सकिन्छ । यस हिसाबमा यो नवप्रवेशी लगानीकर्ता प्रवेश गर्ने समय पनि हो । अहिलेको वृद्धि नवप्रवेशीलाई ‘ट्र्याप’ मा पार्ने ‘बबल्स’ त होइन नि ?
सेयर बजार घट्दा लगानीकर्ता बाहिरिने र बढ्दा भित्रिने प्रक्रिया स्वाभाविक हो । बजार ‘अलटाइम हाई’ मा पुगेको समयमा किन्नेहरू मात्रै फस्ने हुन् । परिसूचक २६ सयदेखि ३२ सय अङ्कमा पुग्दा किन्नेहरू घाटामा छन् भन्ने सुन्नमा आएको छ । बजार निरन्तर बढेको समयमा निश्चित मापदण्ड बनाएर नाफा बुक पनि गर्न पर्छ । बजारमा आत्तिने र मात्तिने प्रवृत्ति पनि देखिन्छ । यस हिसाबमा नयाँ लगानीकर्तामा यस्तो प्रवृत्ति देखिन्छ । सोही कारण नयाँ लगानीकर्ता होसियार बनेर बजार प्रवेश गर्नु पर्छ । नयाँ लगानीकर्ताले कम्पनीको ब्यालेन्ससिट हेरेर लाभांश दिन सक्ने कम्पनीमा ऋणबिनै लगानी गर्नुपर्छ । संसारभर म्युचुअल फन्डलाई राम्रो मानिन्छ तर नेपालमा ठिक उल्टो छ । विश्वका कुनै पनि देशमा म्युचुअल फन्ड घाटामा हुँदैनन् । जब कि नेपालमा घाटामा छन् ।
–तपाईंले किन्नपर्ने कम्पनीहरूको नाम भन्नुपर्यो भने कुन–कुन कम्पनीको लिनुहुन्छ ?
अहिले धितोपत्र बोर्डले कुनै पनि कम्पनीको नाम लिन बन्देज लगाएको छ । त्यसअघि क्लब हाउसमा लाइभ बस्दै किन्नु पर्ने कम्पनीको सूची निकाल्दै किन्न आह्वान गरिन्थ्यो । मेरो विचारमा कम्पनीको नाम लिएरै किन्न आह्वान गर्नु अपराध नै हो । सेयर बजारलाई प्रभावित बनाउनेलाई ‘साइबर क्राइम’ का रूपमा कारबाही नै गर्न हामीले आग्रह गरेका छौँ । बजारमा पर्याप्त मात्रामा चलखेल हुन्छ र पछिल्लो समय त्यो क्रम घट्दै गएको छ । यसका लागि नियामकीय निकायलाई बलियो बनाउनु पर्छ ।
–पुँजी बजारलाई अर्थतन्त्रको ऐना भनिन्छ । तपाईंले पाकिस्तान र श्रीलङ्काको उदाहरण पनि दिनुभयो । नेपालमा पनि अर्थतन्त्र समस्यामा हुँदा बजार बढ्ने प्रवृत्ति देखिन थालेको छ । अब अर्थतन्त्रको ऐना सेयर बजार हो भन्ने समय घर्किएको हो ?
सेयर बजार अर्थतन्त्रको ऐना नै हो । तर जानेबुझेका उच्च पदस्थहरूले नै नेपालको सेयर बजार जुवाघर हो भन्ने गर्छन् । उनीहरूले सेयरमा लगानी गर्नुको सट्टा मुद्दतीमा पैसा राख्न सुझाउँछन् । बाबुराम भट्टराई अर्थमन्त्री हुँदा जुवाघर भनेपछि ११ सय अङ्कको परिसूचक ३०० भन्दा तल आएको थियो । फेरि पछि माफी माग्छन् ।
–यति बेला बजारमा १० कित्ता नीति परिमार्जन गर्ने भनिएको छ । यो नीति हटाउनुपर्ने हो वा होइन ?
विद्यार्थी र गृहणीलाई पनि सेयर बजारमा समेट्ने लक्ष्यसहित १० सेयर बाँडफाँट गर्ने नीति अघि आएको थियो । यसबाट उनीहरूको आम्दानी पनि बढेको छ र बजारमा सक्रियता बढेको छ । विद्यार्थीको रहर पनि जाग्छ र आर्थिक रूपमा पनि लाभान्वित हुन्छन् । मेरै पहलमा आएको १० कित्ता नीति हटाउने लबिङ भइरहेको छ । यसलाई ५० कित्ता बनाउने तयारी भइरहेको सुनेको छु । १० कित्ता नीति लिएपछि डिम्याट खाता खोल्नेको सङ्ख्या ७० लाख आसपास पुगेको छ । मेरो विचारमा थप २ वर्ष १० कित्ता नीति हटाउन हुँदैन भन्ने लाग्छ ।
–यतिबेला देशव्यापी रूपमा नयाँ स्टक एक्सचेन्ज चाहिने वा नचाहिने भन्ने विषयमा बहस छेडिएको छ । तपाईंं अदालतमा नयाँ स्टक एक्सचेन्ज चाहिन्छ भनेर लड्नु पनि भएको थियो । यो अहिलेको बहसबारे तपाईंंको राय के छ ?
नेपालभन्दा साना मुलुकमा पनि दुई वटा स्टक एक्सचेन्ज छ । एउटा मात्रै स्टक एक्सचेन्ज हुँदा एकाधिकार छ । सर्वसाधारणलाई सेयर वितरण नगरेर सम्पूर्ण सेयर नियन्त्रणमा गरिएको छ । नयाँ प्रविधि भित्र्याउन र लगानीकर्ताको हितमा केही काम भएको छैन । अहिले सरकारी काम कहिले जाला घाम भन्ने भइरहेको छ । नयाँ स्टक एक्सचेन्ज आउँदा नेप्से पनि प्रतिस्पर्धाको आधारमा सुधारिन्छ । नयाँ स्टक एक्सचेन्ज आएपछि ‘रियल सेक्टर’लाई तान्छ भन्ने आस गर्न सकिन्छ । यस्तै अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्रिन्छ भने लगानीकर्ताको हक हितका विषयमा काम हुन्छ । अहिले नयाँ स्टक एक्सचेन्ज कसले पाउने भन्ने विषयमा बहस छ । तर हामीलाई जुन व्यापारीले पाए पनि नयाँ स्टक एक्सचेन्ज आउनु पर्छ ।
प्रतिक्रिया