लुकासको गोलले पहिलो स्थानमा उक्लियो रियल म्याड्रिड

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको आफ्नो पछिल्लो खेलमा रियल म्याड्रिडले रोमाञ्चक जित हासिल गरेको छ । रियल म्याड्रिडले बिहीबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा आल्भेसलाई १—० गोलले पराजित गरेको हो ।
जितसँगै रियल म्याड्रिड अङ्क तालिकाको पहिलो स्थानमा फर्किएको छ । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा रियलका लागि लुकास भासक्वेजले निर्णायक गोल गरेका थिए । दोस्रो हाफको अधिकांश समय रियल म्याड्रिडले केवल १० खेलाडीमा सँघर्ष गरेको थियो ।
निर्धारित समयको ५४औँ मिनेटमा रियल म्याड्रिडका नाचो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । जिरोना र रियल बेटिसबिचको खेल १-१ गोलको बराबरीमा सकिएकाले रियल म्याड्रिड अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको हो ।
हालसम्म १८ खेल खेलेको रियल म्याड्रिडको ४५ अङ्क छ । समान खेलबाट समान अङ्क बटुलेको जिरोना दोस्रो स्थानमा झरेको छ । जिरोना गोलअन्तरमा रियल म्याड्रिडसँग पछि परेको हो । आल्भेस भने १८ खेलबाट १६ अङ्क बटुल्दै तालिकाको १६औँ स्थानमा आसिन छ ।