बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

आवेदन फाराम भर्ने अन्तिम समयमा ईपीएस कोरियाको सर्भर स्लो

फाराम भर्न नपाएको गुनासो
बिहीबार, ०५ पुस २०८०, २२ : ११
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि आवेदन दिन म्याद भोलि राति १२ बजेसम्म छ । पुस २ गतेदेखि खुलेको आवेदन फाराम ६ गते सकिन लागेको हो । आजसम्म ९० हजार भन्दा बढीले अनलाइन आवेदन फाराम भरिसकेका छन् । तर, आवेदन फाराम भर्ने सर्भर स्लो हुँदा दुःख पाइरहेका छन् ।

धेरै पटक प्रयास गर्दा पनि अनलाइन आवेदन फाराम भर्न नसकिएको धेरै विद्यार्थीहरूले गुनासो गरेका छन् । उनीहरुले दिनभर प्रयास गर्दा पनि आवेदन असफल हुने गरेको बताएका हुन् । कोरियन भाषा सिकाउँदै आएका एक इन्स्टिच्युटका सञ्चालकले सर्भर निकै स्लो हुँदा विद्यार्थीहरूले फाराम भर्न नपाएको बताए । आवेदन फाराम भर्ने म्याद भोली सम्म मात्रै छ । तर, सर्भर नै स्लो हुँदा फाराम भर्न गाह्रो भइरहेको उनले बताए ।

‘काठमाडौँमा बसेर कोरिया जान्छु भनेर पढेर बसिरहेका विद्यार्थीहरू यही अनलाइनमा देखिएको समस्याका कारण फाराम भर्नबाट वञ्चित हुने अवस्थामा छन् । सर्भर स्लो भएर फाराम भर्न नपाएर विद्यार्थी तनावमा छन् । पैसा पेमेन्ट गर्ने सिस्टममा समस्या देखियो’ ती सञ्चालकले भने ।

१ घण्टामा एउटा मात्र सबमिट भइरहेको र पैसा तिर्दा पनि पेण्डिङमा देखाउने गरेको उनको भनाई छ । आफ्नो इन्स्टिच्युटमा पढेका विद्यार्थीहरूको फाराम त्यहीबाट भरिदिने गरेका छन् । त्यसका लागि सबै विद्यार्थीबाट लाग्ने शुल्क समेत उठाएका छन् । तर, सर्भर नै स्लो भएपछि विद्यार्थीको फाराम भर्न नै छुट्ने हो कि भन्ने चिन्ता छ ।

‘विद्यार्थीहरूको पैसा लिएर हामीले भरिदिने भनेर बसेका छौँ । हामी सबै कर्मचारी बसेर काम गरिरहेका छौँ । तर, ईपीएस कार्यालयका कर्मचारीहरुले पैसा लिएर किन बस्नुभएको भनिरहेका छन् । हामी पैसा त फिर्ता त गरौंला तर, त्यसले समस्या समाधान हुन्छ त’ ती सञ्चालकले भने ।

विगत लामो समयदेखि अनलाइनमार्फत आवेदन भरिँदै आएको छ । तर, यस्तो खालको समस्या विगतमा वर्षमा देखिने गरेको थिएन । यो पटक भने धेरै जनाका लागि आवेदन माग गरिएको छ । सोही आधारमा धेरै जनाले आवेदन दिने अनुमानसहित ईपीएस कोरिया शाखा कार्यालयले आफ्नो वेबसाइटको सर्भर व्यवस्थापन गर्नुपर्ने थियो । तर, त्यस्तो नगर्दा अहिले विद्यार्थीले सास्ती खेप्नु परेको ती सञ्चालकको भनाइ छ ।

‘पहिला पहिला कहिलेकाहीँ मात्रै वेबसाइट डाउन हुन्थ्यो । तर, अहिले त नेपालभरिको विद्यार्थीले दुःख पाइरहेका छन् । साइबरमा बसेर भर्नेले त्यहीबाट दुःख पाइरहेका छन् । त्यस्तै इन्ष्च्यिुटबाट भर्नेले त्यहीबाट दुःख पाइरहेका छन् । हाम्रो वेबसाइट राम्रो छ भनिरहेका छन् । तर, हामीले फाराम भर्न सकिरहेका छैनौँ’ उनले भने ।

फाराम भरेर पेमेन्टमा जाने बेलामा पेण्डिङ देखाउने गरेको उनको भनाइ छ । पेमेन्ट गर्ने दुई माध्यम छन् । एउटा कनेक्ट आइपिए र अर्को खल्ती । दुवैबाट पेमेन्टको सवालमा समस्या देखिएको उनको भनाइ छ ।

ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले भने धेरै जनाले आवेदन फाराम भर्दा स्लो भएको बताए । ‘एउटै संस्थाले ३ हजार ४ हजारको जिम्मा लिएका छन् । रातभर पनि भर्दैछन् । पेमेन्टमा पनि समस्या देखियो भनेर गुनासो आइरहेको छ । पेण्डिङ भनेर आत्तिएका छन् । तर, पछि पेण्डिङ आफैँ ठिक हुन्छ’ निर्देशक सुवेदीले भने ।

ईपीएसका लागि विभिन्न निकायको सर्भर प्रयोग गर्दै आएको छ । त्यसका लागि अनलाइन आवेदन वैदेशिक रोजगार विभाग अन्तर्गत फेसिमको सिस्टममार्फत हुन्छ । ओटीपी कोडका लागि टेलिकममार्फत भइरहेको हुन्छ । त्यस्तै पासपोर्टका लागि पासपोर्ट विभागको अनलाइन सिस्टमसँग जोडिएको हुन्छ । धेरै निकायसँग अन्तरसम्बन्ध भएकाले बढी मासमा आवेदन भर्दा स्लो देखिएको उनको भनाइ छ ।

ईपीएस अन्तर्गत उत्पादनमूलक क्षेत्रतर्फ यो पटक १५ हजार ८४८ जनाका लागि आवेदन माग गरेको छ । भोलि रातिसम्म अन्तिम म्याद तोकिएकोमा हालसम्म ९० हजार भन्दा बढीले आवेदन भरिसकेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप