बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : चौथो ओभरमै कोशी प्रदेशले हरायो कर्णालीलाई

बिहीबार, ०५ पुस २०८०, १५ : ५२
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबार कोशी प्रदेशले कर्णाली प्रदेशमाथि सजिलो जित हासिल गरेको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा कोशीले कर्णालीलाई १० विकेटले हराएको हो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णालीले निर्धारित १६ ओभरमा नौ विकेट गुमाएर ३३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले ३.१ ओभरमै कुनै पनि विकेट नगुमाई ३५ रन बनाउँदै लक्ष्य पार गरेको थियो ।

कोशीको जितमा रुविना क्षेत्रीले अविजित २५ र काजल श्रेष्ठले अविजित पाँच रनको योगदान गरिन् । कप्तान रुविनाले १७ बलमा ६ चौका पनि प्रहार गरिन् । काजलले तीन बलमा एक चौका हिर्काइन् । कोशी प्रदेशले अतिरिक्त रुपमा पाँच रन पायो ।

त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । ओपनर किरण कुँवरले सर्वाधिक नौ रन बनाइन् । उनी कर्णाली प्रदेश टोलीकी कप्तान पनि हुन् ।

कर्णाली प्रदेशका चार ब्याटर त शून्य रनमै आउट भए । कोशी प्रदेशकी बलर अप्सरी बेगमले तीन विकेट लिइन् । एलिसा खडियाले दुई विकेट लिइन् । सबनम राई, निशा शाह र रुविना क्षेत्रीले पनि एक–एक विकेट हात पारे । खेल १६–१६ ओभरमा खेलाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप