नेपाल र श्रीलंकाका विदेशमन्त्रीबिच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारे छलफल
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबिच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ । बिहीबार काठमाडौँमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रीय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिएका हुन् ।
मन्त्री साउदले छलफलमा दुई पक्षीय सम्बन्धहरूको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेसनका बारेमा छलफल भएको बताए । उनले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरूमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि जिकिर गरे ।
उनले भने, ‘श्रीलंकाका विदेशमन्त्रीको नेपाल भ्रमणको आज दोस्रो दिन छ । यो हाम्रो ज्वइन्ट कमिसनको बैठक भएको हुनाले यसमा दुई पक्षीय सम्बन्धहरूको पुनरावलोकन, व्यापार र लगानीका बारेमा कुराकानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशन जस्ता दुई पक्षीय विषयहरूमा गम्भीर र सौहाद्रपूर्ण वातावरणमा छलफल भएको छ । क्षेत्रीय संगठनहरु, विशेष गरेर सार्क र बिमस्टेकलाई आउँदा दिनमा बलियो बनाउँदै लैजाने र सबै राष्ट्रका बिचमा सहमति बनाएर अघि बढ्ने बारेमा पनि कुरा भएको छ । संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरूमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको छ । दुवै देशको आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्ने बारेमा छलफल भएको छ । परम्परागत रूपमा श्रीलंका र नेपाल दुवै मित्रराष्ट्रका रूपमा अत्यन्त घनिष्ठ सम्बन्ध भएका मित्रराष्ट्रका रूपमा रही आएका छन् । हाम्रो बिचमा धेरै पक्षमा सहयोगको आदानप्रदान हुँदै आएको छ र नेपालले श्रीलंकासँगको सम्बन्धलाई ठुलो महत्त्व दिँदै आएको छ ।’
पत्रकार सम्मेलनमा बोल्दै श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबिच सहकार्य गरेर जाने बारेमा छलफल भएको बताए। उनले सार्क र बिमस्टेक लगायतका क्षेत्रीय कार्यक्रमहरूमा विशेष जोड दिई अघि बढ्ने बारेमा पनि छलफल भएको बताए ।
उनले भने, ‘नेपाल र श्रीलंका धेरै नजिकका मित्र हुन् । लामो समयदेखिका साथी हुन् । हामीले धेरै कुराहरूमा एकआपसमा समझदारी सहकार्य गर्दै आइरहेका छन् । अब झनै सम्बन्ध बिस्तारका लागि हामी आफ्ना सहकार्य अघि बढाइरहेका छौँ । शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका धेरै क्षेत्रमा हामीले सहकार्य गर्नेछौँ । सार्क र बिमस्टेक लगायतका क्षेत्रीय कार्यक्रमहरूमा हामीले विशेष जोड दिँदै आइरहेका छौँ । हामी नेपालमा घुम्न आउनका लागि श्रीलङ्काली नागरिकहरूसँग विशेष पहल र अपिल गर्नेछु, आशा छ, नेपालले पनि श्रीलंका जानका लागि सोही पहल गर्नेछ । आजको छलफल धेरै नै राम्रो भयो । दुई देशबिचको सम्बन्ध बिस्तारका बारेमा हामीले आज धेरै नै महत्त्वपूर्ण छलफल गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको मनोनयन आज, आचारसंहिता लागू
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
-
यी दुई प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
-
सामुदायिकको शिक्षण सिकाइ सुधारिएपछि निजी विद्यालय विस्थापित
-
माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम