बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
विमानस्थलबाट मानव तस्करी– १

औसतमा प्रतिव्यक्ति एक लाख खर्च गरेर विमानस्थलमा हुन्छ मानव तस्करीको सेटिङ

सेटिङमार्फत् विमानस्थलमा प्रतिदिन डेढ करोडको घुस लेनदेन
बिहीबार, ०५ पुस २०८०, ११ : ३३
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । गत कात्तिक १९ गतेदेखि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा) भिजिट भिसाका नाममा हुने मानव तस्करीको जालो तोड्न सक्रिय छ । गत मङ्सिर २७ गतेसम्मको अवधिमा अपराध महाशाखाको टोलीले ३५ जनालाई पक्राउ गरिसकेको छ । सेटिङमा खाडी मुलुक, रसिया, युरोपियन देश पठाउने भन्दै गिरोहमार्फत् विमानस्थलमा पुगेका करिब १ हजार ५ सय यात्रुलाई प्रहरीले फिर्ता पठाइ उनीहरुको पासपोर्ट नियन्त्रणमा लियो । अनुसन्धानमा तानिएका अधिकांश नागरिक युएई, कतार, साउदी अरेबिया, मलेसिया, रसिया लगायतका देशमा रोजगारीका लागि जान खोजिरहेका थिए ।

कात्तिक १९ भन्दा अगाडि दलालको सेटिङमा मानिसहरु सजिलै खाडी लगायतका मुलुकमा पुगेको भए पनि कात्तिक १९ मा एकाएक माहोल परिवर्तन भयो । विमानस्थलको गेटमा टिकट चेक गर्नका लागि मात्रै बस्ने प्रहरीका जवानसँगै जुनियर अफिसरहरु पनि गेटमै बस्न थाले । अध्यागमन विभागले विदेश जानका लागि बनाएको मापदण्ड पूरा गरेको छ कि छैन भनेर प्रहरीले नै चेकलिष्ट हेर्न थाले । अनि कागजात नपुगेकाहरुको पासपोर्टसहित कागजात नियन्त्रणमा लिएर अनुसन्धानका लागि पठाउन थाले ।

यसरी विमानस्थलको गेटमै प्रहरीहरु ‘प्रो एक्टिभ’ भएपछि सेटिङमा विदेश पठाउन लागेका र जान लागेकाहरु रोकिन थाले । नक्कली क्यू आर कोड, नक्कली प्रहरी रिपोर्ट, राम्रोसँग पढ्न नजान्नेहरुको प्लस टुको सर्टिफिकेट, आकलन गरिएको भन्दा बढी बैंक ब्यालेन्स भएको बैंक स्टेटमेण्ट आदि पाइएपछि प्रहरीले यो मानव तस्करीको जालो निकाल्ने भन्दै अप्रेसन सुरु ग¥यो ।

पहिले अध्यागमन विभागले २०७८ साल फागुन २७ गते जारी गरेको परिपत्रमा कुन व्यक्ति कुन आधारमा भिजिट भिसामा जान पाइन्छ भनी उल्लेख गरेको व्यवस्थाबारे बुझौँ ।

गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट विदेश जानेहरुका लागि १७ बुँदे व्यवस्था गर्दै त्यो भन्दा फरक पाइए रोक्न निर्देशन थियो । त्यतिबेला दिइएको निर्देशन र व्यवस्थाका बुँदा यस्ता थिए :

  • १. खाडी मुलुकभन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरु,
  • २. न्यूनतम २ वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरु,
  • ३. न्यूनतम माध्यमिक तहको (कक्षा १२) औपचारिक शिक्षा वा सो सरहको प्राविधिक/व्यावसायिक सिप दक्षता भइ आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता विज्ञ प्राविधिक व्यक्तिहरु,
  • ४. अंग्रेजी वा गन्तब्य मुलुकमा बोलिने अन्तर्राष्ट्रिय भाषाको राम्रो सिप भएका व्यक्तिहरु,
  • ५. आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति (एकाघरका आमा बाबु, सासु ससुरा, छोराछोरी, श्रीमानश्रीमती र वैदेशिक रोजगारमा रहेकाहरुको नातेदार समेत,
  • ६. गन्तव्य मुलुकमा रहेको राजदूतावास/नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका व्यक्तिहरु,
  • ७. सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु,
  • ८. अन्तर्राष्ट्रिय कारोवार गर्ने बैंक तथा वित्तीय संघ संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भइ भ्रमण गर्न जाने प्रतिनिधिहरु,
  • ९. नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरु र व्यावसायिक कम्पनी/फर्मका सञ्चालक वा व्यवसायीहरु (एकाघरका आमा, बाबु सासु, ससुरा, छोराछोरी, श्रीमानश्रीमती),
  • १०. प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको नेतृत्व वा प्रायोजनमा आफ्ना सदस्यहरु/कर्मचारीहरु समूह बनाइ खाडी राष्ट्र र मलेसिया भ्रमण कार्यक्रममा जान अध्यागमन विभागबाट पूर्व स्वीकृति प्राप्त गरेका व्यक्तिहरु,
  • ११. ट्राभल एजेन्सीको घोषित टूर प्याकेजमा निर्धारित भ्रमण कार्यक्रम सम्पन्न भएपछि फर्काउने प्रतिबद्धता र जिम्मेवारी स्वघोषणा गरेका सूचीमा संलग्न व्यक्ति (तर खाडी मुलुक र मलेसियाको हकमा अध्यागमन विभागको पूर्व स्वीकृति आवश्यक पर्नेछ ।)
  • १२. वार्षिक न्यूनतम ५ लाख रुपैयाँ कर योग्य आय भै कम्तीमा सो को आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरु,
  • १३. औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरु (कर्मचारी/(एकाघरका आमा, बाबु, सासु ससुरा, छोराछोरी, श्रीमानश्रीमती),
  • १४. वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धनको लागि जाने म्यानपावर व्यवसायीहरु (सञ्चालक वा आधिकारिक प्रतिनिधि, एकाघरका आमा, बाबु, सासु ससुरा, छोराछोरी, श्रीमानश्रीमती मात्र) ।
  • १५. नेपाली दूतावासको सिफारिस बमोजिम बिरामी कुरुवा वा रेखदेखको कार्य गर्न जाने तीन पुस्ता भित्रका पारिवारिक सदस्यहरु,
  • १६. खाडी मुलुक, मलेसिया, अफ्रिकन मुलुक र जोखिम भएका मुलुकहरुको भ्रमणमा जाने खेलाडी तथा कलाकारहरुको हकमा आयोजकबाट आधिकारिक निमन्त्रणा वा प्रायोजन पत्र प्राप्त गरेका सूचीमा संलग्न व्यक्ति (आयोजकको आमन्त्रण र प्रायोजन सम्बन्धी कागजात वेबसाईट/अनलाइन रुजु हुनुपर्ने अथवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट प्रमाणित/सिफारिस भएको हुनुपर्ने, सो नभएमा सम्बन्धित निकायको सिफारिसमा अध्यागमन विभागबाट पूर्व स्वीकृति प्राप्त हुनुपर्ने । यसरी समूह वा व्यक्तिगतरुपमा भ्रमणमा जाने विषयमा सिफारिस गर्दा सिफारिस गर्ने निकाय जिम्मेवार रहने ।)
  • १७. माथि बुँदा नं (१५) मा उल्लेख भएको मापदण्ड वा आधारमा नपर्ने व्यक्तिको हकमा अध्यागमन विभागवाट अनिवार्य रुपमा पूर्व स्वीकृति प्राप्त गरेपछि मात्र भिसा तथा हवाई टिकट सम्बन्धी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकार पक्षलाई सुसूचित गर्ने ।

यी बुँदामा नसमेटिएका वा मापदण्ड पूरा नभएका व्यक्तिहरुलाई खाडी लगायतका मुलुकमा भिजिट भिसामा जान प्रतिबन्ध जस्तै लगाइएको थियो । त्यसको एकमात्रै कारण भनेको भिजिट भिसामा गएर विदेशमा काम गर्ने तर त्यसको रेकर्ड सरकारसँग नहुने र समस्यामा परेपछि उद्धारका लागि हारगुहार गर्ने अत्यधिक बढेका थिए । यसको सबैभन्दा बढी समस्या कोभिड १९ को समयमा भयो ।

हो, अध्यागमन विभागले तयार पारेको यही परिपत्र पालना भएको छ कि छैन भनेर विमानस्थालको गेटमा बसेका प्रहरी नै प्रो–एक्टिभ हुन थालेपछि यसको जालो बाहिरिएको थियो ।

कात्तिक १९ गते विमानस्थलबाट उड्न नपाइ फर्काइएका भूपू सैनिक सुशिल भण्डारी जब आफ्नो पासपोर्ट लिन अपराध महाशाखामा आए, त्यसपछि प्रहरीले उनलाई काउन्सेलिङ गर्दै यसरी विदेश जान नहुने र दलालहरुको गिरोह भत्काउनुपर्ने बताए । रसिया जान भनी काठमाडौँबाट उड्न लागेका उनै सुशिल भण्डारीबाट सुरु भयो अनुसन्धान र गिरोहको खोजी ।

प्रहरीले सबैभन्दा पहिले कात्तिक १२ गते विमानस्थलको गेटमा चेकजाँचमा खटिने प्रहरी जवान जीवनराज तामाङ र आशिष श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यसैगरी कात्तिक १३ गते साइरस विसुंखु, भक्ता बहादुर विष्ट र गणेश पाण्डे पक्राउ परे । त्यसको भोलिपल्ट अर्थात् कात्तिक १४ गते अजित फेवानी र विपिन ढकाल पक्राउ परे ।

उनीहरुकै सूचनाका आधारमा कात्तिक १५ गते जयराम श्रेष्ठ, रमेश भन्ने भक्त बहादुर थापा र दीपक केसी पक्राउ परेपछि भिजिट भिसाको नाममा मानव तस्करी गर्ने गिरोहको पर्दाफास भयो । त्यसपछि नक्कली कागजातहरु बनाउने गिरोहका मुख्य व्यक्तिहरु दीपक केसी र बल बहादुर रावत पक्राउ परेसँगै विभिन्न गिरोह बिस्तारै खुल्दै गए । अन्तिमपटक २०८० मङ्सिर २७ गते त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरविर खड्का तथा दलालका रुपमा काम गरिरहेका ट्राभल एजेन्सी सञ्चालकहरु मनोज तामाङ लामा र पदम लामा पक्राउ परेपछि भिजिट भिसाका नाममा हुने मानव तस्करी प्रकरणमा हालसम्म ३५ जना पक्राउ परिसकेका छन् । मुख्यतः मनोज लामाले सेटिङमा संलग्न कर्मचारी मिलाउने र बुद्ध बहादुर बल (लामा)ले समाजसेवाका आवरणमा प्रहरीका भवनहरु बनाउन सहयोग गर्ने र त्यही आधार देखाएर प्रहरीका उच्च पदस्थ अधिकारी र प्रशासकसँग सम्बन्ध बनाइ सोही सम्बन्धका आधारमा मानव तस्करी गर्ने गरेको भेटिएको छ । पक्राउ परेका ३५ जनामध्ये ८ जना धरौटीमा छुटेका छन् भने ९ जनालाई संगठित अपराध र १८ जनालाई लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

१७ बुँदे नियम पैसा उठाउने मेलो बन्यो

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुका अनुसार सरकारले असल नियतका साथ ल्याएको १७ बुँदे नियम नै दलाल र कर्मचारीहरुलाई पैसा उठाउने मेलो बनेको छ । श्रम स्वीकृति नलिइ भिजिट भिसामा बाहिर जाने र त्यहीँबाट काममा जाने वा अर्को मुलुक गएर मानव तस्करी बढेपछि सरकारले त्यसलाई रोक्ने प्रयोजनका लागि ल्याएको १७ बुँदे नियम नै दलाल, मानव तस्कर, नक्कली कागजात बनाउने गिरोह, प्रहरी, एयरलाइन्सका कर्मचारी र अध्यागमनका कर्मचारीका लागि पैसा उठाउने मेलो भएको र त्यही डर देखाएर पैसा उठाउने गरेको पाइएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

दैनिक डेढ करोडको घुस लेनदेन

भिजिट भिसा प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीतर्फका अनुसन्धान अधिकारीका अनुसार त्रिभुवन विमानस्थलबाट सेटिङमा मान्छे पठाउँदा विमानस्थलमा औसतमा दैनिक डेढ करोडको घुस लेनदेन हुने गरेको छ । विमानस्थलबाट औसतमा दैनिक २ सय ५० जना नागरिकहरु भिजिट भिसाका नामबाट सेटिङमा विदेश उड्ने गरेका छन् । जसका लागि दलालले प्रतिव्यक्ति ५५ हजारदेखि ८० हजार रुपैयाँसम्म तिर्ने गरेका छन् ।

प्रहरीका अनुसार सेटिङमार्फत् एक व्यक्तिलाई खाडी मुलुकमा पठाउन गेटमा खटिएका सुरक्षाकर्मीलाई ८ देखि १० हजार रुपैयाँ दिने गरिएको छ । विमानस्थलको टिकट चेकजाँच हुने स्थानको जिम्मेवारी नेपाल प्रहरीको छ र त्यहाँ खटिएका प्रहरी कर्मचारीले नै प्रतिव्यक्ति ८ देखि १० हजार रुपैयाँ लिने गरेका थिए ।

प्रहरीको चेकजाँचपछि एयरलाइन्सको काउण्टरमा बोर्डिङ पास लिनुपर्ने हुन्छ । नेपालबाट खाडी मुलुक वा अन्य गन्तव्यहरुमा मान्छे पठाउन प्रयोग हुने गरेका ६ वटा एयरलाइन्सका कर्मचारी पनि यस सेटिङमा संलग्न छन् । उनीहरुले दुईतर्फी टिकट छ कि छैन भनेर हेर्नुपर्नेमा त्यो नहेर्ने, अनपढ व्यक्तिहरुको प्लस टुको सर्टिफिकेट ल्याउँदा चेकजाँच नगर्ने खुलासा भएको छ । एयरलाइन्सका कर्मचारीलाई शंका लागेमा बोर्डिङ पास नै नदिन पनि सक्छन् । १७ बुँदे निर्देशनको पालना एयरलाइन्स कम्पनीले पनि गर्नुपर्ने भए पनि प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ लिएर उनीहरुलाई बोर्डिङ पास दिने गरेका छन् ।

बोर्डिङ पास लिएपछि बाँकी रह्यो, अध्यागमनका कर्मचारीको चेकजाँच । अध्यागमनका कर्मचारीले रिटर्न टिकट छ कि छैन ? होटल बुकिङ छ कि छैन ? नातेदार हो कि होइन वा के काम वा प्रायोजनका लागि जान लागेको हो भनेर सोधपुछ गर्नुपर्ने हुन्छ । लेखपढ गर्न नै नजान्ने व्यक्तिको नाममा प्सल टुको सर्टिफिकेट बनेको देख्दा उनीहरुले फिर्ता पठाउनुपर्ने हुन्छ । घुम्न जाने भन्दै भिजिट भिसाका नाममा मानव तस्करी भइरहेको थाहा पाएपछि सो को जानकारी प्रहरीलाई समेत दिएर उनीहरुले त्यस्तो अपराध रोक्नुपर्नेमा अध्यागमनका कर्मचारीले प्रतिव्यक्ति पुरानो भए ४० हजार र नयाँ व्यक्ति भए ५५ हजार रुपैयाँसम्म असुल गरेर उनीहरुका लागि इमिग्रेसन क्लियरेन्स दिने गरेका छन् ।

दलालले अध्यागमनका कर्मचारीसँग सेटिङ गरेर पहिले नै लिष्ट पठाएका हुन्छन् र त्यो लिष्टमा रहेका व्यक्तिहरु सहजरुपले त्यहाँबाट जान पाउँछन् । यसरी व्यक्तिहरु पठाएपछि सोही दिन विमानस्थल नजिकैको बाल्टिक लगायतका होटलमा गएर अध्यागमनका कर्मचारीले सेटिङमार्फत् पठाएका व्यक्तिहरुको नाममा कलेक्सन भएको रकम बुझ्ने गरेका छन् । यो सेटिङमा अध्यागमनमा कार्यरत सबैजसो कर्मचारी जानकार र सामेल हुने गरेको पाइएको र पक्राउ परेका अधिकृत नरविर खड्काले संस्थागत रुपमै सेटिङ हुने गरेको बयान दिइसकेका छन् ।

‘घुम्न जाने’ परमिटका लागि पनि किन हुँदैछ सेटिङ ?

भिजिट भिसा भनेको घुम्न जाने प्रयोजनका लागि दिइने भिसा वा प्रवेशाज्ञा हो । तर घुम्न जाने प्रयोजनका लागि पनि आखिर किन यति धेरै रकम तिरेर सेटिङ भइरहेको छ त ?

यसको उत्तर भने फरक छ । बास्तवमा यति धेरै रकम तिरेर घुम्नकै लागि मानिसहरु खाडी लगायतका मुलुकमा गइरहेका होइनन् । उनीहरु अधिकांश रोजगारीका लागि भन्दै ती मुलुकहरुमा गइरहेका छन् । सरकारले विभिन्न खाडी मुलुकमा घरेलु कामदारका रुपमा लैजान निषेध गरेपछि मूख्यतः महिलाहरु यसरी सेटिङमा ती मुलुकमा पुग्ने गरेका छन् । कोही घुम्ने बहाना बनाएर त कोही नातेदार भेट्न भन्दै ती मुलुकहरुमा पुगिरहेका छन् । दुबईमै गएर काम खोज्ने, दुबईबाट रसिया तथा युरोपियन राष्ट्रहरुमा जाने भनेर पनि युवाहरु यसरी ती मुलुकहरुमा पुगिरहेका छन् । भिजिट भिसा अर्थात् घुम्ने प्रयोजन भनिए पनि उनीहरु घुम्नका लागि नभएर रोजगारीका लागि भन्दै मानव तस्करको माध्यमबाट ती मुलुकमा पुगिरहेको र समस्यामा परेपछि भने राज्यले हेर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण सरकारले कडाइ गरेपछि यो सेटिङ भएको हो ।

हाल विमानस्थलमा कार्यरत प्रहरीको सेट परिवर्तन भइ प्रहरीले नै कडाइ गर्न थालेपछि केही सेटिङ भत्कियो र मानव तस्करीको यो चक्रबारे खुलासा भयो । त्यसपछि दलाल र तस्करहरु धमाधम पक्राउ पर्न थाले भने विमानस्थलमा अध्यागमनकै कर्मचारीको संस्थागत सेटिङ छ भन्ने कुराको पर्दाफास भयो ।

(नोट : विमानस्थलबाट सेटिङमा हुने मानव तस्करीको जालो, नेक्सस, अध्यागमनका कर्मचारीको भूमिका, एयरलाइन्सका कर्मचारीले कसरी काम गर्छन् र कति रकम लिन्छन् लगायतको सामाग्री क्रमशः प्रकाशन गरिने छ । –सम्पादक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप