मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘म्याडम १० पर्सेन्ट’

सोमबार, २६ चैत २०७४, ११ : ३३
सोमबार, २६ चैत २०७४

चिली, रुमेनिया, इथोपिया आदि बिग्रेभत्केका मुलुक कस्ता होलान् ? प्रधानमन्त्रीज्यूले चिलीबारे बोल्नुहुँदा मनमा कुरा खेले । भारत भ्रमण जानु अगाडि प्रधानमन्त्रीज्यूले भन्नुभयो, ‘सुहार्थोकी श्रीमतीको नाम ‘म्याडम १० पर्सेन्ट’ थियो । उद्योग खोल्दा १० पर्सेन्ट सेयर उनैलाई दिनुपर्ने !’ यही बेला हाम्रा जनप्रतिनिधिहरू बारे १० भन्दा धेरै बढी पर्सेन्टका समाचार आएका छन् । काठमाडौंको गोदावरी बालुवा खानीमा राज्य ठग्ने वडा अध्यक्षसँगै गृहमन्त्री र उपराष्ट्रपतिका सुपुत्रहरू संलग्न भन्ने समाचार आए । बत्ती चोर र कुखुरा चोर जनप्रतिनिधि देखिए । एकजना वडा अध्यक्षलाई जनताले कुटी–कुटी मारे । एकजना मेयरले गोली खाए । सहिदको सालिक रातारात भत्काइँदा पोलेमका मेयर हिरो देखिए । साँघुरो चोकमा बीपी ठड्यार राजनीतिको खेलोफड्को गर्ने काङ्ग्रेसीहरू पीपलका पातझैं हल्लिए । पूर्णकदको सहिदको सालिक ढालेर त्यहीँ रातारात अर्धकदको ठड्याइँदा हिरो मेयर जिरोमा झरे । सालिकको खेती गर्नेहरूले राहतको सास फेरे । यी सबै कुकृत्यमा ‘म्याडम १० पर्सेन्ट’ दृष्टिगोचर हुन्छ । 

पश्चिमाहरूको नेपाल–लगानी हिन्दु समाजको वर्णविभेदप्रति बढ्ता लक्षित छ । भारत, खास गरी अहिलेको मोदी सरकार, हिन्दुइज्मका लागि मरिमेट्छ । यी दुवै हाम्रा लागि घातक छन् । यो सत्यलाई हामी यसो सेतो कागजमा कालो अक्षर कोर्नेहरूले बुझेका छौं । सेलिब्रेटीहरू बुझेझैं गर्छन् । त्योभन्दा बढी आफ्नै पेसा व्यवसायमा तल्लीन साधारण जनताले झनै राम्ररी बुझेका छन् । यसैले गाई खाने र गाई पूज्नेका बीच नेपालमा कहिल्यै अप्रियको स्थिति बनेको थिएन । अब बन्दैछ, अर्थात् बनाउन खोजिँदै छ । भारतको भर्खरैको दलित आन्दोलन नेपालमा भित्र्याउन खोजिँदै छ । ‘विश्व कल्याणम्’ हेतुको राजनीति गर्ने ‘म्याडम १० पर्सेन्ट’हरू गाई खानेविरुद्ध बढ्तै कस्सिएका छन् । यस्ता जनप्रतिनिधिहरू खोल्सीमा घर बनाउने स्वीकृति बाँडेर छोरी–ज्वाइँका लागि कुम्ल्याउँदै छन् । ‘म्याडम १० पर्सेन्ट’हरू दशै प्रतिशत होलान् तर यी पूरै देश भाँड्ने हैसियत राख्छन् । हाकिमका हातमा बजेट हुँदा चलखेल गर्ने यी आफ्नै हातमा बजेट आउँदा १०० प्रतिशत आँक्दैछन् । मङ्गलादेवीदेखि कपालीसम्म र हिसिला यमीदेखि टोप बहादुर्नीसम्मलाई मिडियाले डामेको छ । एक प्रशासनविदले ‘पेटिकोट सिन्ड्रोम’को शक्तिशाली लेख लेखेर प्रशासन सुधारको खाँचो औँल्याएका छन् । 

विशाल हात्तीको चाकमा वात्स्यानले इयू लेखेका छन् । हात्तीको गुहुलाई हामी नेपाली सुगन्धित र दुगन्र्धित ठानेर लडिरहेका छौं । कार्टुन हेरेर फिस्स हाँसिन्छ । तर मर्म दुख्छ । उनीहरू भाँड्दैछन् र हामी भाँडिदै छौं । क्रिश्चियन र हिन्दुमा बाँडिँदै छौं । प्रधानमन्त्रीद्वारा ईयू प्रतिवेदनको विरोध गरिनुलाई बुद्धिजीवीहरूले भारत भक्तिकै संज्ञा दिए । अर्थमन्त्रीको स्वेतपत्रलाई प्रधानमन्त्रीको अप्ठ्यारोका रूपमा लिए । ‘अर्थमन्त्रीको स्वेत पत्रले कसैलाई निराश बनाउछ भने सायद सबैभन्दा बढी प्रधानमन्त्री ओलीकै सपनालाई बनाउँछ (०७४-१२-१९) !’ डम्बर खतिवडाले लेखे ।

लाटो मान्छेको चेप्टो कुरामा सुन्दरतम् अभिव्यक्ति झल्किन्छ । ती बाँङ्गो रूखलाई बाँङ्गै भन्छन् । बालक, नाङ्गो राजालाई नाङ्गै भन्छ । बुद्धिजीवीहरूले ईयूको प्रतिवेदनलाई अति रञ्जित पारे । चुनाव पर्यवेक्षणको अधिकार ईयूलाई नेपाल सरकारले प्रदान गरेको हो । उसले जस्तो देख्यो त्यस्तै लेख्यो । यसबारे प्रधानमन्त्रीको असन्तुष्टिलाई बुद्धिजीवीहरूले पृथ्वीनारायण शाहको पादरी लखाटाइसँग दाँजे । पृथ्वीनारायण शाहले कीर्तिपुरेका नाक काटेको हुँदै होइन, त्यो त तत्कालीन इयूले फैलाएको हल्ला मात्र हो भने । प्रधानमन्त्रीको भारत भ्रमणको टिममा सामेली खोज्नेहरूले चन्द्र शमशेरको चाकरलाई सम्झाए । बरु चन्द्र शमशेरका बारे लेखिएको छ, ‘चन्द्र शमशेरले भारतीय रजौटाका पङ्क्तिमा उभिन मानेनन् !’ उनले आफू राजा–रजौटा होइन, स्वतन्त्र राष्ट्रको प्रधानमन्त्री हुँ भन्न रुचाए अरे । आजका हाम्रा प्रधानमन्त्रीहरू आफै आफ्नो देशको स्वतन्त्रतालाई अस्वीकार गर्छन् । प्रधानमन्त्रीको कुर्सीबाटै डा. बाबुराम भट्टराईले नेपालको साँचो भारतमा रहेको बताएका थिए । यहाँ पनि ‘म्याडम १० पर्सेन्ट’ नै हावी पाइन्छ । 

‘फिप्टी–फिप्टी पर्सेन्ट’ले पनि हाहाकार मच्चाउँदैछ । भारत भ्रमणअघि नै पार्टी एकीकरणका लागि जोडबल गर्नुमा परराष्ट्र मन्त्रीको काँचोपना देखिन्छ । प्रधानमन्त्रीलाई बलिया देखाउने रहर बच्चाको खेल जस्तै हो । कामै गर्ने हो भने प्रधानमन्त्री केपी ओली इतिहासका भीमसेन थापा र गिरिजाप्रसाद कोइराला पछिका सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हुन् । सल्लाहकारका आँखाले त्यस्तो नदेखिनु अन्धता हो । सदनमा यतिखेर प्रतिपक्ष छैन । काङ्ग्रेसका नेताहरू एकअर्काको धोती खुस्काउन उद्यत छन् । प्रधानमन्त्रीले विप्लवलाई मजाक नगर्न सुझाए । सरकारको विपक्षमा एक्लो विप्लव उभिएका छन् । त्यहाँ ‘म्याडम १० पर्सेन्ट’ को आदेश चल्दैन । त्यहाँ ‘म्याडम १० पर्सेन्ट’ हुँदैनन् । त्यहाँ सायद मर्न–मार्न चाहने वीराङ्गना होलान् । कमरेड प्रचण्डको फिप्टी–फिप्टीको अडानको आत्मबलको आधार त्यही हुन सक्छ । प्रदीप गिरी भन्थे, ‘विद्रोह प्रचण्डलाई अरूले सिकाउनु पर्दैन !’ 

अब थुप्रै कुराहरू सतहमा आइसकेका छन् । गणतन्त्र र राजतन्त्रबारे एमालेका तत्कालीन महासचिव मदन भण्डारीको एउटै वाक्यले प्रशस्त प्रकाश पार्छ । भण्डारीले भनेका छन्, ‘महँगो राष्ट्रपतिभन्दा सहँगो राजा ठीक हुन्छ !’ अब गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता अति जटिल र पेचिला विषय रहेनन् । स्थानीय तहको ‘म्याडम १० पर्सेन्ट’को प्रवृत्ति हटाइँदा यी विषय स्वतः लागू हुँदै जान्छन् । होइन भने, छैन मायालु । निमुखा जनताका लागि केको पञ्चायत केको गणतन्त्र ! समय क्रममा कतिपय राम्रा काम राणाकालमै भए । राजा महेन्द्र–वीरेन्द्र देशलाई माया गर्थे । 

राम कार्की (०७४-१२-२० ‘रातोपाटी अनलाइनमामा) लेख्छन्, ‘कर्म, संस्कृति, देशभक्ति र राष्ट्रवाद जस्ता कुराहरू सामन्तवादको जगमै टेकेर सञ्चालित छन्... सामन्तको अन्त्य भयो तर त्यसको ठाउँ ‘क्रोनिक्यापाटिलिज्म’ले लियो !’ मैले अर्थसारमा ‘म्याडम १० पर्सेन्ट’ नै भेट्टाएँ । युवाहरूको पलायनमा पनि ‘म्याडम १० पर्सेन्ट’कै मुख्य हात हुन्छ । रामकार्की अगाडि थप्छन्, ‘यस्तो अवस्था भएको देशमा प्रतिक्रियावादले हान्यो भने कोही पनि साथमा हुँदैनन् !’ जनताले भोट दिनुको औचित्य देखिँदैछैन । धोका पाउनु नियति बनेको छ । 

‘देशमा समस्या छ, समस्याको कारण छ । समस्याको निवारण छ !’ नयाँ शक्ति पार्टीले गत फागुनको दोस्रो साता लुम्बिनी बैठकबाट ‘५ स’को सिद्धान्त प्रतिपादन गरे । सबै राम्रो सिद्धान्तलाई ‘म्याडम १० पर्सेन्ट’ले निलिरहेको र पचाइरहेको सत्य हाम्रो सामाजिक यथार्थ हो ।

निकै उच्च मनोबल देखाइरहेका प्रधानमन्त्रीको भारत भ्रमण सम्पन्न भयो । टिममा ‘म्याडम १० पर्सेन्ट’ का धमिराहरू कति थिए होलान् ? तत्काल तामझामले छोपिए पनि समयक्रममा खुल्छ । हाम्रा नेताका कतिपय गोप्य सम्झौता भारतले आप्mनो अनुकूलतामा प्रस्तुत गर्छ । ‘म्याडम १० पर्सेन्ट’लाई ८, ९ मा झारिँदा पनि वडा–वडामा, नगरमा, महानगरमा पक्कै केही काम देखिने छन् । विनोदविक्रम कविता लेख्छन्, ‘हो देवकोटाज्यू ! नेपाल सानै छ !’ सानो नेपालमा स–साना राम्रा कामले ठूलो प्रभाव दिन्छ । यसका लागि थालनी चाहिन्छ, जुन अहिले स्थानीय तहमा पटक्कै देखिएको छैन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मला न्यौपाने
निर्मला न्यौपाने
लेखकबाट थप