सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय
विचार

नायक खोज्दाखोज्दै बितेको पौने शताब्दी

बिहीबार, ०५ पुस २०८०, ०९ : ५६
बिहीबार, ०५ पुस २०८०

२०७६ मङ्सिर २६ गते रवि लामिछानेले ‘द लिडर’ कार्यक्रममार्फत नेता खोज्ने अभियान थाले । यो कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्र, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि जोडिएका थिए । देशभरबाट एउटा योग्य नेता छान्ने आयोजकले बताएको थियो । पछि यो कार्यक्रम रद्द भयो र रवि लामिछाने आफैँ राजनीतिक नेताका रूपमा मैदानमा आए । अन्ततः अहिले लामिछाने स्वयं चौथो नम्बरमा स्थापित राष्ट्रिय दलको सभापति बनेका छन् ।

हाल संसद्मा भएका ठुला दलहरू कुनै न कुनै क्रान्तिमार्फत उदय भएका थिए । तर, बिनाक्रान्ति सामान्य अभियानमार्फत राजनीति शक्ति प्राप्त गर्ने उदाहरण बन्यो रास्वपा । नेपालका हालका पुराना दलहरूको जन्मकुण्डली यो शताब्दीको सुरुवातदेखि नै छ । नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीको जन्म एउटै कालखण्डमा भएको थियो । आ–आफ्ना व्याख्यात्मक समाजवादका ठेली बोकेर २००० सालको पूर्वार्द्धमा उदय भएका कांंग्रेस कम्युनिस्ट र यही शताब्दीको उत्तरार्द्धतिर झुल्किएका रास्वपा, जनमतजस्ता नयाँ दलहरूबिचमा निरन्तर एउटा नायकको खोजी कार्य जारी छ । 

बीपी कोइरालादेखि प्रचण्डसम्म, पुष्पलालदेखि रवि लामिछानेसम्मको अवधिमा नेपालले कुन युग भोग्यो ? के यो शताब्दी नायक खोज्दाखोज्दै नेपालले समय खेर फाल्दै हो ? कि शताब्दीको अन्त्यतिरसम्म नायकबिनै यही नयाँ पुराना समूहबाट नेपालले समृद्धि प्राप्त गरिसक्छ ? कि नेता मात्र फेला पार्‍यौँ, नायक अझै पाउन सकेनौँ ? आउनुस्, यो शताब्दीको सुरुदेखि हालसम्म हामीले मुलुक निर्माणका नायक वा खलनायक के खोजी रहेछौँ, संक्षिप्त चर्चा गरौँ । 

विश्व इतिहासलाई हेर्‍यो भने राजनीतिले जति सामूहिकतालाई प्राथमिकता दिएको छ, त्यति नै व्यक्तिकेन्द्रित प्रवृत्ति जन्माएको पनि छ र परिणामतः एकजनालाई नायक तयार गरिदिएको छ । नेपालको सन्दर्भमा हेर्‍यो भने पनि त्यही लागु हुन्छ ।

सन् १९४२ मा पार्टीको अध्यक्ष भएको नाताले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओले जनसम्मेलनमा भनेका थिए, ‘हामी समूहमा क्रान्ति गर्छौँ, समूहबाट बस्ती बनाउँछौँ र समूहमै अग्रगामी पाइला चाल्नेछौँ । यही नै साम्यवादको मूल मन्त्र हो ।’ उनले सुरुवात गरेको समूहको सर्वोच्चताले अन्ततः एउटा नायक मात्र चुन्यो, त्यो स्वयं माओ नै थिए । 

विश्व इतिहासलाई हेर्‍यो भने राजनीतिले जति सामूहिकतालाई प्राथमिकता दिएको छ, त्यति नै व्यक्तिकेन्द्रित प्रवृत्ति जन्माएको पनि छ र परिणामतः एकजनालाई नायक तयार गरिदिएको छ । नेपालको सन्दर्भमा हेर्‍यो भने पनि त्यही लागु हुन्छ । जनयुद्धको आँधीबेरीले धेरैलाई बढार्‍यो, परिणामतः प्रचण्डलाई नेतामा स्थापित गरिदियो । २००३ सालमा राणाविरुद्धको आन्दोलनमा धेरैले त्याग गरे, पछि बीपीलाई सत्तामा लगिदियो । राणाविरुद्धकै आन्दोलनमा धेरैले जीवन व्यतीत गरेका थिए । तर, इतिहासले कम्युनिस्ट पार्टीको नायकमा पुष्पलाललाई शिरमा राखेको छ । अर्थात् नेपालमा नेताहरूको उदय भयो तर त्यो नायक तयार भएन, जसले मुलुक निर्माणको सही बाटोमा अगुवाको काम गरोस् । जनताले अझै पनि गर्ने प्रश्न हो, अझै नायक किन फेला परेन ?

हुन त, दलहरूले आ–आफ्ना दाबी पेस गर्दै आफ्नो शासनकाल उत्कृष्ट भएको स्वघोषणा गर्छन् । एमालेको नौमहिने शासनकालप्रति स्वयं एमाले गर्व गर्दै आएको छ । एमाले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई नायक मान्दै आएको छ । 

उता नेपाली कांग्रेस पनि २०१५ देखि २०१७ सम्मको उदाहरण पेस गर्छ । बीपी यो बेला प्रधानमन्त्री थिए । यता युद्धबाट संसदीय राजनीतिमा अड्डा जमाएको माओवादी पनि गौरवपूर्ण योगदानकै बखान गर्दै आएको छ । के साँच्चीकै यो शताब्दीको ८० वर्ष विभिन्न उतारचढावका बिचमै नेपाल गतिविहीन अवस्थामा गुज्रिएको हो ? यो सवाल वर्तमानमा झन् पेचिलो बनिरहेको छ ।

नायक कसलाई मान्ने ? चर्चामा आएका तर काम केही नगरेकालाई नायक मान्ने कि ! इतिहासमा कैयौँ यस्ता पात्र छन्, योगदानका आधारमा होइन, मन पराइएकाले चर्चा गरिएका व्यक्ति छन् । नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा सुशील कोइरालालाई सभापति स्वीकार गर्न सक्दिनँ भनेर बौद्धिक तथा इमानदार छवि बनाएका भीमबहादुर तामाङले सुशीलकै समूहबाट विद्रोही उम्मेदवार दिएका थिए । 

२०५८ सालको भदौमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा भीमबहादुरले भनेका थिए, ‘हाम्रो पार्टीमा व्यक्तिवाद हाबी भएकै कारण आज पार्टी विभाजन भएको हो, सबैलाई नायक हुन परेको छ !’ उनका यी अभिव्यक्ति सभापति गिरिजाप्रसाद कोइरालाले रुचाएनन् र पार्टीका विभिन्न जिम्मेवारीमा भीमबहादुरलाई कहिल्यै अवसर दिएनन् । त्यतिबेला गिरिजाको नेतृत्व नेपाली कांग्रेस र शेरबहादुर देउवाको कांंग्रेस प्रजातान्त्रिक अलग–अलग पार्टी थिए । भीमबहादुरले दुवै पार्टी एकीकरण गर्नुपर्ने र आफैँले आफैँलाई स्वघोषित हिरो घोषणा गर्ने काम बन्द गर्न गिरिजा र देउवालाई भनेका थिए । अर्थात्, व्यक्तिवादका यी नमुना हाम्रो राजनीतिले विगतमा धेरै बेहोरिसकेको छ । 

एकाध जीवित पूर्वप्रधानमन्त्रीको नाम कण्ठ हुन सक्छ तर आफ्नै पालामा कुन प्रधानमन्त्री थियो भन्ने बारेमा वर्तमानका ज्युँदा वृद्ध पुस्ताका नेपालीलाई पनि सम्झना छैन ।

सबै व्यक्ति सधैँ चर्चामा रहन सक्दैनन् । भीमसेन थापाको पालादेखि हालसम्म सरकार प्रमुखमा ४० जनाभन्दा बढी पदासीन भइसकेका छन् । हाल प्रचण्ड ४४औँ प्रधानमन्त्री पदमा बसिरहँदा विगतमा को–को प्रधानमन्त्री थिए भन्ने बारेमा वर्तमान पुस्ताले सम्झन सक्दैन । 

एकाध जीवित पूर्वप्रधानमन्त्रीको नाम कण्ठ हुन सक्छ तर आफ्नै पालामा कुन प्रधानमन्त्री थियो भन्ने बारेमा वर्तमानका ज्युँदा वृद्ध पुस्ताका नेपालीलाई पनि सम्झना छैन । उदाहरणका लागि नगेन्द्रप्रसाद रिजाल पनि एकताका नेपालका प्रधानमन्त्री थिए भन्ने ऊबेलाको तन्नेरी हाल वृद्धावस्थामा भएका नागरिकलाई खासै भेउ छैन । यी रिजाल २०३० देखि ०३२ सालसम्म दुई वर्ष नेपालको प्रधानमन्त्री भएका थिए । पञ्चायतकालमा र ०४६ सालमा बहुदल आएपछि पनि दोहोरिएर प्रधानमन्त्री भएका व्यक्तिलाई भने हतपत कसैले भुल्न सक्दैनन् । यीमध्ये सर्वाधिक प्रधानमन्त्री पदमा बस्ने व्यक्ति हुन्, सूर्यबहादुर थापा । यी २०२१ देखि ०२३ सम्म मन्त्रिपरिषद्को अध्यक्ष, ०२३ देखि ०२५, ०३६ देखि ०४०, बहुदल आएपछि ०५४ र ०६० सालमा प्रधानमन्त्री बनेका थिए । पञ्चायत र बहुदल दुवै शासनकालमा प्रधानमन्त्री भएका अर्का व्यक्ति हुन्, लोकेन्द्रबहादुर चन्द । तर, योगदानका आधारमा हालसम्मका सरकार प्रमुखहरू सम्झना लायक कोही व्यक्ति हुन सकेका छैनन् ।

नायक हुने सुअवसर शक्तिमा पुग्नु वा नपुग्नुले निर्धारण गर्न सक्दैन । धेरै राज्यहरूलाई एकीकरण गरेका कारण पृथ्वीनारायण शाहलाई नायक मान्ने वर्तमानमा ठुलो तप्का छ । एउटा समूह बीपीलाई नायक मान्छ भने अर्को समूह छ तिनै बीपीलाई अपदस्थ गर्ने महेन्द्र शाहलाई पनि नायकै मान्छन् । जंगबहादुर कुँवरले राणाशासन सुरु गर्नुपूर्व एकजना दरबारकै ब्राह्मणलाई सरकार प्रमुखको जिम्मेवारीमा पुर्‍याएको थियो । उनी हुन्, पण्डित रङ्गनाथ पौड्याल । उनले नेपालको प्रधानमन्त्री (मुख्तियार) बनेर वि.सं १८५४ देखि ०५५ सम्म शासन गरेका थिए । तर, त्यतिबेला सबै खटनपटन दरबारबाटै हुन्थ्यो । त्यही बेलाका रणजङ्ग पाण्डेलाई पनि दरबारले दुईपटक सरकार सञ्चालनको जिम्मेवार तोकेको थियो । पछि १०४ वर्षसम्मको राणाशासन सुरु भयो । यो शासनकालका जन्मदाता जंगबहादुर कुँवर थिए । यो कार्यकाललाई स्वर्णिम युग मान्ने तप्का अझै पनि राजनीति वृत्तमा छ । 

इतिहासमा केही त्यस्ता व्यक्तित्व पनि छन्, जसले सत्ताबिनै चर्चा बटुले । राज्यशक्तिको पदमा नपुगेरै केही दशकसम्म चर्चा पाइरहने व्यक्ति मदन भण्डारी र गणेशमान सिंह हुन् । यहाँ नायक भन्ने बित्तिकै यो आलेखमा राजनीति र सत्ता वरपरका व्यक्तिका बारेमा चर्चा गरिएको हो । अन्य विविध विधामा इतिहासका हरेक कालखण्डमा ठुला योगदान दिएका नायक सधैँ नागरिकका मनमा जीवित छन् नै । सत्ता र शक्ति पाएपछि नायक बनिन्छ भन्ने वर्तमान पुस्ताले बोकेको भ्रम तोड्न यो आलेखले संकेत गर्न खोजेको मात्र हो । 

आजभन्दा २६०० वर्षअघिका सिद्धार्थ गौतम पनि शासक बनेनन् । राजाका छोरा भएर पनि दरबार छोडेर भागेका उनको योगदान बुद्ध दर्शनको रूपमा अझै जीवित छ ।

२०६७ देखि ०६९ सम्म प्रधानमन्त्री भएका बाबुराम भट्टराईले कोरेको नयाँ नेपालको खाकाप्रति धेरै नेपालीमा उत्साह पैदा गरेको थियो । उनले उपत्यकाका केही सडक फराकिलो बनाउँदै गर्दा युवा जगत्मा आशा जगाएको थियो । तर, यो निरन्तरता बिचमै टुट्यो र स्वयं बाबुराम चौबाटोको राजनीतिमा अल्झिए । हुन त, राष्ट्रिय स्वाभिमानको परिभाषालाई लिएर पञ्चायतकालका अन्तिम प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई पनि कैयौँले नायक नै मान्छन् । भारतले लगाएको नाकाबन्दीमा तेस्रो मुलुकबाट उनले नुन ल्याएर नेपालीलाई खुवाएका थिए । 

वर्तमान पुस्ता ‘पपुलिजम’मा रमाइरहेको छ । चर्चा बटुल्न कुनै पात्रले गरेका कार्यका आधारमा नायक घोषणा गर्ने विकृति बढेको छ । कार्ल मार्क्सले सन् १८५० तिर तयार गरेको अर्थशास्त्र र समाजवादको समाजशास्त्रको अवधारणाले सिङ्गो विश्वमा एक शताब्दीभर शासन गरेको थियो । तर, स्वयं मार्क्स सत्तामा पुगेनन् । वर्तमान पुस्ताले पनि अझै उनलाई पढिरहेको छ र अझै कैयौँ वर्ष पढ्नेछ । 

आजभन्दा २६०० वर्षअघिका सिद्धार्थ गौतम पनि शासक बनेनन् । राजाका छोरा भएर पनि दरबार छोडेर भागेका उनको योगदान बुद्ध दर्शनको रूपमा अझै जीवित छ । त्यसैले नायक हुन सत्ता र शक्तिको आवश्यकता पर्दैन । भौतिकवादमा सत्ता प्रधान हुन्छ । तर युगयुगसम्म जीवित रहनका लागि एउटै योगदान काफी हुन्छ । इतिहासमा पूजनीय व्यक्तिका उदाहरण यिनैले तयार गरेका छन् । हामी वर्तमानमा २१औँ शताब्दीको सम्मुखमा छौँ । विक्रमलाई हेर्‍यो भने पनि अबको २० वर्षपछि २१औँ शताब्दी सुरु हुनेछ । तर, २०औँ शताब्दीको यो पौने अवधि हाम्रा लागि पपुलिजमको कालखण्ड मात्र बन्यो । कुनै नायक अहिलेसम्म तयार हुन सकेन । के अब बाँकी २० वर्षमा नेपालले साँच्चीकै एक भव्य नायक प्राप्त गर्ला ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विनोद त्रिपाठी
विनोद त्रिपाठी
लेखकबाट थप