शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुन तस्करी प्रकरण

सुन तस्करी जाँचबुझ आयोगलाई सरकारले दिएन ३३ किलो सुनको प्रतिवेदन

गृह प्रवक्ता भन्छन्– ‘खोज्दै छौं, फेला परेका छैन’
बुधबार, ०४ पुस २०८०, २१ : ०३
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले साढे ३३ किलो सुन तस्करी सम्बन्धी प्रतिवेदन सरकारसँग मागेको छ । प्रतिवेदन उपलब्ध गराउन दुई महिनाअघि नै पत्राचार गरेपनि सो प्रतिवेदन प्राप्त नभएको आयोगका पदाधिकारीहरु बताउँछन् ।

२०८० असोज १४ मा मन्त्रिपरिषद्ले डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । आयोगलाई ब्रेक प्याडमार्फत भएको तस्करी र विद्युत्तीय चुरोट ‘भेप’ मार्फत भएको सुन तस्करीबारे जाँचबुझ गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

आयोगले चुडामणि उप्रेती ‘गोरे’ समूहले गरेको सुन तस्करीबारे तत्कालित छानबिन समितिले २०७५ साउन १६ मा बुझाएको प्रतिवेदन मागेको छ । सो समितिका संयोजक सहसचिव ईश्वरराज पौडेल हुन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो ।

साढे ३३ केजी सुन तस्करीको प्रतिवेदन प्राप्तीको प्रयास भइरहेको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले रातोपाटीलाई बताए । आयोगका अध्यक्ष आचार्यले भने– ‘प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा प्रतिवेदन उपलब्ध गराइदिन पत्राचार गरेका छौ तर, प्राप्त भएको छैन ।’

साढे ३३ केजी सुनको प्रतिवेदन ७ सय ७२ पृष्ठ लामो छ । तर, त्यो प्रतिवेदन प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा नभेटिएको अधिकारीहरु बताउँछन् । सुन तस्करी र सनम शाक्यको हत्याबारे घटना विवरण, तथ्य र सुझाव समेटिएको प्रतिवेदन गृह मन्त्रालयमा फेला नपरेको मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए । भट्टराईले भने– ‘खोज्दै छौं, फेला परेको छैन ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि सो प्रतिवेदन फेला परेको छैन । मन्त्रिपरिष्दमा पेश नभएका कागजात सम्बन्धित मन्त्रालयमा फिर्ता जाने व्यवस्था रहेको प्रधानमन्त्री कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । प्रतिवेदन गृहमन्त्रालयमा फिर्ता गएको हुनसक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उच्च अधिकारीहरु बताउँछन् । तर, फिर्ता गएको वा नगएको यकिन छैन ।

गृह मन्त्रालय पुरानो भवनबाट अहिले नयाँ भवनमा सरेको छ । मन्त्रालयको सामान ओसार पसार गर्ने क्रममा अन्यत्र परेको पनि हुनसक्ने बताउँछन् गृह प्रवक्ता नारायणप्रसाद भट्टराई ।

ईश्वरराज पैडेल नेतृत्वको समितिले करिब २ महिना १० दिन सम्म छानबिन गरेर सनम शाक्यको हत्या र तस्करी भएर आएपछि लुटिएको भनिएको साढे ३३ केजी सुनबारे प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप