शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

राप्रपाका अम्बर विष्ट सभामुख बन्ने पक्का

बुधबार, ०४ पुस २०८०, २० : १७
बुधबार, ०४ पुस २०८०

विराटनगर । कोशी प्रदेशसभाको सभामुख राप्रपाका सांसद अम्बरबहादुर विष्ट बन्ने पक्कापक्की भएको छ । प्रदेशसभामा सत्ता गठबन्धन दलहरु यसअघि नै राप्रपालाई सभामुख पद दिन तयार भएका थिए ।

सोही अनुसार राप्रपाले पनि छलफल अगाडि बढाएको थियो । राप्रपाकी सांसद सविना बजगाईंले आफ्नो पार्टीले सभामुख पाउने पक्का बनेको र उक्त पदका लागि अम्बरबहादुर विष्टलाई पठाउन छलफल भइरहेको बताइन् ।

‘छलफल भइरहेको छ । ८–१० गतेसम्ममा टुङ्गो लाग्ला, हाम्रो पार्टीले पाउँदा उहाँ (अम्बरबहादुर विष्ट)लाई नै पठाउने विषयमा पनि कुरा चलिरहेको छ,’ उनले भनिन् ।

तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि साउन १६ यता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुखको निर्वाचन अगाडि बढाउने तयारीमा दलहरु छन् । यद्यपि निर्वाचनको मिति तय भइसकेको छैन ।

प्रदेशसभा सचिव गोपाल पराजुलीले सभामुख निर्वाचनबारे दलहरुले छलफल गरिरहेको बताए । ‘दलहरु आपसमा छलफल तथा सहमति गरेर शुक्रबार बस्ने कार्यव्यवस्था परामर्श समितिमा थप छलफल गर्ने कुरा भएको छ,’ पराजुलीले भने, ‘अब एउटा विधेयक पारित हुन बाँकी छ । त्यसपछि सभामुख चयन, सभापतिहरु चयन गर्ने कुरा हुन्छ होला । दलहरुले त्यही तयारी गरिरहनु भएको होला ।’

प्रदेशसभाको बैठक बस्नु अगाडि बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सभामुखको निर्वाचनबारे छलफल भएको थियो । छलफलमा उपसभामुख सिर्जना दनुवारले सभामुखको निर्वाचनका लागि सहमतिको पहल गर्न मुख्यमन्त्रीलाई आग्रह गर्ने बताएकी थिइन् ।

मुख्यमन्त्री केदार कार्कीले भने आफू दलहरुसँग निरन्तर संवादमै रहेको बताए । ‘म सबै दलसँग निरन्तर छलफल मै छु, एक÷दुई दिनमा परिणाम आउँछ,’ उनले भने ।

७० वर्षे विष्टको पल्ला भारी

अहिलेकै परिस्थिति कायम रहे अबको एक सातामा झापा गौरादहका ७० वर्षीय विष्ट कोशीको सभामुख बन्ने भएका छन् । गौरादह–७, ग्वालाडब्बा घर भएका विष्ट तत्कालीन झापा जिल्ला पञ्चायतका सदस्य थिए । पञ्चायती व्यवस्थादेखि नै राजनीतिमा सक्रिय विष्ट प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुन् ।

राप्रपाले भने विष्टलाई सर्वसम्मत सभामुख बनाउन प्रयास गरिरहेको जनाएको छ । गठबन्धनले भने सहमति नभए निर्वाचनबाट सभामुख चयन गरिने भन्दै तयारी गर्न राप्रपालाई भनिसकेको छ । एमालेले सभामुखको विषयमा के गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

कोशी प्रदेशको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक हुन्छ । वर्तमान सत्ता गठबन्धनसँग बहुमत (४७) सांसद छन् । राप्रपाका ६ सांसद थपिँदा ५३ पुग्ने भएकाले सभामुखको निर्वाचन भए पनि सत्ता गठबन्धनको सहयोगमा राप्रपाका उम्मेदवारले जित्ने निश्चित बनेको छ । सभामुखको निर्वाचन नभएकै कारण प्रदेश सरकारले पनि पूर्णता पाएको छैन । सभामुखको निर्वाचनपछि संसदीय समितिका सभापति चयन र सरकारलाई पूर्णता दिने मुख्यमन्त्री केदार कार्कीको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप