उदयपुर र हेटौँडा सिमेन्ट उद्योगबारे अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

काठमाडौँ । उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पूर्णरुपमा सञ्चालन गर्न परेका समस्या र चुनौतीका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउन उद्योग समितिले सरकारलाई निर्देशन दिएको छ ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले हेटौँडा र उदयपुर सिमेन्टको आर्थिक, भौतिक र वर्तमान अवस्था, उद्योग पूर्ण क्षमतामा चलाउन सक्ने र नसक्ने अवस्थाबारे विज्ञसहितको टोलीले अध्ययन गरी उक्त प्रतिवेदन समितिलाई बुझाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाको अध्ययन गरी समितिलाई बुझाउन निर्देशन दिए । उनले दुई सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउन कुन मोडल आवश्यक छ समेत खुलाएर प्रतिवेदन बुझाउन निर्देशन दिए । त्यस्तै सभापति खानले नेपालमा उत्पादन हुने चिनी र खपत हुने चिनीका विषयमा विस्तृत अध्ययन गरी नेपाललाई अपुग चिनी समयमा नै खरिद प्रक्रिया सुरु गरी आपूर्ति व्यवस्था सहज बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए । उनले बजार अनुगमन प्रभावकारी बनाउन तीन तहमा कानुन र नीतिगत रुपमा एकरुपता ल्याउने विस्तृत कार्ययोजना बनाउन केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिए । उनले बजार अनुगमनको लागि हाल मौजुदा रहेका कानूनहरुमा संशोधन गर्न र विवरण समितिलाई उपलब्ध गराउन पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए । उनले बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि प्राप्त दक्ष जनशक्तिको व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए ।
समितिले उखु किसानलाई भुक्तानी गर्न बाँकी रकम दिने सरकारको निर्णय स्वागत गरेको छ । त्यस्तै कञ्चनपुर र कपिलवस्तु जिल्लाका उखु किसानहरुले आर्थिक वर्ष २०७०/७१ को उखु उत्पादन प्रवर्द्धन खर्च रकम हालसम्म नपाएकाले कार्यदलले गरेको सिफारिसका आधारमा तत्काल भुक्तानी दिने व्यवस्था गर्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व