उपप्राध्यापकले पढाएको नबुझिएको भन्दै सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरू आन्दोलित
सिन्धुली । सिन्धुलीको सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरू आन्दोलित बनेका छन् । उनीहरूले कक्षा बहिष्कार गर्दै आन्दोलन थालेका हुन् । बीबीएस प्रथम वर्षका विद्यार्थीहरूले उपप्राध्यापकहरूले पढाएको नबुझिएको भन्दै कक्षा बहिस्कार गरेका हुन् ।
बीबीएस प्रथम वर्षको कक्षा सुरु भएको एक महिनाभन्दा बढी भइसकेको छ । विद्यार्थीहरूले बिजनेस स्टाटिस्टिक्स र बिजनेस कम्युनिकेसन इङ्लिसको कक्षा बहिस्कार गरेका हुन् । उक्त विषय पढाउने प्राध्यापकहरू परिवर्तन गरी कक्षा अगाडि बढाउनुपर्ने मागसहित निमित्त क्याम्पस प्रमुख उमेश कोइराला र व्यवस्थापन संकायका विभागीय प्रमुख कृष्ण प्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
उक्त विषयहरूको पठनपाठनमा लामो समयदेखि समस्या भएको भन्दै विद्यार्थीहरूले असन्तुष्ट जनाउँदै आएका थिए । यस पटक भने विद्यार्थीहरूले लिखित रूपमै असहमति जनाएका हुन् । विगतका वर्षहरूमा पनि यस क्याम्पसमा गुणस्तरीय शिक्षा नभएको भन्दै असन्तुष्ट विद्यार्थीहरू नजिकैको अर्को बिबिएस अध्ययन हुने क्याम्पसमा पलायन हुने गरेका थिए ।
स्ववियु सभापति कृष्ण लामिछानेले गुणस्तरीय शिक्षा नभएको विद्यार्थीको गुनासो आएपछि योग्य शिक्षक ल्याउने जिम्मेवारी क्याम्पस प्रशासनको रहेको बताए ।
विद्यार्थीको पटक पटकको गुनासो आएपछि शिक्षकहरूले नैतिकताका आधारमा पनि कक्षा छोड्नुपर्ने उनको भनाइ छ । यो समस्या विगत लामो समय देखिएको बताए । विद्यार्थीको भविष्य कसैको जागिरसँग साट्न नपाइने उनको भनाई छ ।
सिन्धुली बहुमुखी क्याम्पसमा विगत १ वर्षदेखि क्याम्पस प्रमुख सारदामणी खड्का क्याम्पसको दैनिक काम कारबाहीमा उपस्थित छैनन् । उनी उपचार गराउनको लागि काठमाडौँमा छन् । एक हप्ता अगाडि मात्रै उनले राजीनामा दिएका थिए ।
व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी गरी तीन संकाय पढाइ हुने उक्त क्याम्पस सिन्धुलीको शैक्षिक धरोहरको रूपमा लिइन्छ । दक्ष शिक्षक राख्न नसक्दा क्याम्पसले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नुका साथै आफ्नै साख गुमाउँदै गएको छ ।
विगत एक दशकदेखि अपवाद बाहेक राजनीतिक आवरण बोकेको व्यक्तिहरू प्राध्यापकमा नियुक्त हुँदै आएका छन् । साधारण सभाबाट छानिनुपर्ने क्याम्पस सञ्चालक समिति राजनीतिक दलका सीमित नेताहरूको सहमतिबाट बन्ने गरेको छ । सञ्चालक समितिले क्याम्पसको दैनिक गतिविधिमाथि चासो नराख्दा क्याम्पस धराशायी बन्दै गएको विद्यार्थी तथा अभिभावकहरूको आरोप छ । यस विषयमा क्याम्पस प्रशासन र सञ्चालक समितिले कुनै सुधारात्मक कदम चाल्न नसकेको विद्यार्थीहरूको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनी उद्योगले समयमै भुक्तानी दिएपछि उखु किसानलाई राहत
-
एफबीआईले भन्यो-न्यू अर्लिन्समा एक्लै नरसंहार मच्चाउने जब्बार सेनाका अनुभवि
-
आज महालक्ष्मीको बार, कस्तो छ तपाइको दिन ? हेरौँ राशिफल
-
अमेरिकी डलर, युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, युरो र रिङ्गेट ओरालो
-
इन्टर मिलान इटालियन सुपरकपको फाइनलमा
-
हप्ता दिनमा दुई सयबढी पर्यटक सगरमाथा क्षेत्रमा