देश बनाउँछु भनी झुटा आश्वासन दिनेहरू
मलाई भन्नु पर्दैन महान
मलाई नेता भनेर पनि सम्बोधन गर्नु पर्दैन
गर्नु पर्दैन तिमीले मेरो सेवा !
जोड्नु पर्दैन दुई हात तिमीले
चाहिँदैन तिम्रो बिन्ती तिमीसँगै राख
मलाई मान्छे भन्न तयार नभएकाहरू !
गर्नु पर्दैन मार्क्सवाद, लेलिनवाद, माओवाद,
सिद्धान्तहरूको विश्लेषण !
सुनाउनु पर्दैन समाजवाद र समानताका कुरा
तिम्रो काम नलाग्ने तर्क बितर्क गरिराख्नु पर्दैन
देश बनाउँछु भन्दै झुटा आश्वासन दिनेहरू
गरिराख्नु पर्दै, पर्दैन तिमीले महानताका कुरा
मलाई मान्छे भन्न तयार नभएकाहरू !
लगाउनु पर्दैन जात व्यवस्था विरुद्धको नारा
मलाई राम्रोसँग थाहा तिमी सामन्तीहरूको पारा
गल्ली गल्लीमा टास्नु पर्दैन जनचेतनामूलक पोस्टरहरू
चिन्ता लागिरहेछ तिम्रो मस्तिष्कमा घाम कहिले लाग्छ बरु
मलाई मान्छे भन्न तयार नभएकाहरू !
गाउनु पर्दैन मुक्तिको गीत
अवस्था अझैसम्म उस्तै छ हाम्रो भयभीत
तिमीप्रति यो मनमा अझै दरार छ
भन भेदभाव गर्नु हुँदैन भन्ने तिम्रो सु–सोच कहाँ फरार छ ?
गरेर पुर्खौंदेखिको ममाथिको शासन
किन छोड्न तयार छैनौ तिमी बसेको आसन ?
मलाई मान्छे भन्न तयार नभएकाहरू !
रगत मेरो रातो छ
यो धर्तीको लोकमा मेरो पनि अस्तित्व छ
किन ? अझै स्वीकार गर्न सकिरहेका छैनौँ ?
मलाई अछूतको संज्ञा दिएर कहिँलेसम्म पुष्टि गर्न खोज्छौ ?
आफू मात्र हुँ मानवको स्वरूप भनेर !
अब विद्रोहको सुरुवात हुन सक्छ
सामन्तीको टाउमा रातो रङ छाउन सक्छ
भत्किएर जानेछ तिम्रो शताब्दीदेखिको अ–न्यायिक शासन
बुझ्नु पर्नेछ बुझ्न नसकेकाहरूले पनि
स्वीकार गर्नुपर्छ अस्वीकार गर्नेहरूले पनि
अबदेखि मलाई पनि मान्छे भन्न तयार हुनु पर्छ
मलाई मान्छे भन्न तयार नभएकाहरू !
जुम्ला