कोशी प्रदेश : माछाको दानामा पनि परनिर्भरता
विराटनगर । कोशी प्रदेशमा माछा उत्पादन बढ्दै गएको छ । तर, अझै आन्तरिक उत्पादनले यहाँको माग धान्न सकिरहेको छैन । तथ्याङ्क अनुसार कोशी प्रदेशमा उत्पादित माछाले स्थानीय बजारमात्रै धान्ने गरेको छ ।
व्यवसायिक बजारका लागि भने मधेश प्रदेशबाट ६० प्रतिशत र भारतबाट ४० प्रतिशत माछा आयात हुने गरेको छ ।
कोशी प्रदेश कृषि मन्त्रालय अन्तर्गतको मत्स्य विकास निर्देशनालयका अनुसार प्रदेशमा माछामात्रै नभएर माछाका लागि चाहिने आहारा पनि पर्याप्त उत्पादन भएको छैन । तथ्याङ्क अनुसार मत्स्य दाना आन्तरिक उत्पादनले ५७ प्रतिशतमात्रै धानिरहेको छ भने ४३ प्रतिशत प्रदेशबाहिरबाट आयात हुने गरेको छ ।
मत्स्य तथा मत्स्यजन्य उत्पादनका लागि कृत्रिम आहाराको रुपमा मत्स्य दानाको प्रयोग भएको पाइन्छ । परम्परागत मत्स्य पालन प्राकृतिक अहारामा मात्र निर्भर थियो । तर व्यावसायिक मत्स्य पालनले विस्तारै गति लिएको वर्तमान अवस्थामा कृत्रिम आहारको रुपमा मस्त्य दानाको प्रयोगमा वृद्धि भएको छ ।
माछा बिक्री हुने गरेको र आम्दानी दिन थालेपछि यस पेसालाई व्यवसायको रुपमा सञ्चालन गरिरहेका किसानले दानाको प्रयोग गर्न थालेको निर्देशनालयको दाबी छ ।
यद्यपि पंगास र रेन्बो ट्राउट जातको माछापालन भने पूर्णतया दाना मै आधारित हुन्छ । तर कार्प माछापालन अर्ध सघन रुपमा पालन गर्न थालिएको छ ।
तसर्थ दानाको प्रयोग कार्प माछा उत्पादनमा आवश्यकता भन्दा कम मात्रामा प्रयोग भएको पाएको छ । ट्राउट माछाको लागि किसानले आफैँले पनि उत्पादन गरेर खुवाउने र भूरा माछाको लागि काठमाडौँबाट आपूर्ति गर्ने गरेको र खाने माछाको लागि आफैँ घरेलु उत्पादन मै निर्भर रहेको पाइएको छ ।
त्यसै गरेर पंगास माछाको लागि डुब्ने र तैरने दुवै खालको कृत्रिम आहारा मात्र प्रयोग गर्ने गरेको पाइएको छ । पंगास माछाको दानाको आहारा भने भारतबाट आयात हुने गरेको छ । विगत केही वर्षबाट कोशी प्रदेशमा पनि पंगास माछालाई केन्द्रित गरेर दाना उत्पादन सुरु भएको छ ।
‘स्थलगत रुपमा अध्ययन निरीक्षण गर्दा किसानहरुको प्रतिक्रिया अनुसार यहाँ उत्पादित माछाको दानाको गुणस्तरमा निश्चिन्त हुन नसकेको प्रतिक्रिया पाइएको छ,’ अनुसन्धानमा संलग्न मत्स्य अधिकृत लाक्पा भोटियाले भने, ‘तसर्थ दानाको गुणस्तर र दाना उत्पादनमा प्रगोग हुने सामाग्रीहरुको गुणस्तर चेकजाँच सम्बन्धी प्रदेश सरकार अन्तर्गत निकाय स्थापना गर्न सकेको खण्डमा न्यूनतम आवश्यकता सेवा प्रवाह गर्न सकिने छ ।’
तथ्याङ्क अनुसार कोशी प्रदेशको मोरङ र सुनसरीमा रहेका ५ वटा उद्योगले जम्मा ४ हजार ६८९ मेट्रिक टन फिस फिड उत्पादन गर्ने गरेका छन् । प्रदेशलाई माछाको दानामा आत्मनिर्भर हुन ८ हजार २२६ मेट्रिक टन उत्पादन हुन आवश्यक छ ।
कोशी प्रदेशमा ११ हजार ४७ वटा पोखरी छन् । मोरङमा मात्रै कार्प माछा उत्पादन ४ हजार ३०९ मेट्रिक टन हुन्छ । यस्तै दोस्रो नम्बरमा रहेको सुनसरीमा ३ हजार १४७ र झापामा १ हजार ७६५ मेट्रिक टन उत्पादन हुन्छ । जम्मा उत्पादन प्रदेशभरमा १० हजार १६३.१९ मेट्रिक टन हुन्छ । तथ्याङ्क अनुसार कोशी प्रदेश अन्तर्गत बहुजातीय कार्प माछापालन करिव २००० हेक्टर जलाशय क्षेत्रफलमा भइरहेको छ । चिसो पानीका स्रोत भएको स्थानहरुमा हाल ६ हजार ९०४.९६ वर्ग मिटर क्षेत्रफलमा रेन्बो ट्राउट माछापालन भइरहेको छ भने उत्पादन ३८ मेट्रिक टन छ । पंगास जातको एकल माछापालन करिब १५० बिघा क्षेत्रफलमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माछा, मासु र खैनी, मदिरा नचल्ने लिम्बु गाउँ
-
बाढीका कारण बन्द माथिल्लो तामाकोशीबाट फेरि विद्युत् उत्पादन सुरु
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता