पशुचौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि भ्याक्सिन उत्पादनको तयारी
काठमाडौँ । सरकारले पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको नियन्त्रण र व्यवस्थापनको लागि भ्याक्सिन उत्पादन गर्ने तयारी गरेको छ । आगामी दिनमा पशुचौपायामा लाग्ने सो रोग नियन्त्रणका लागि भ्याक्सिन उत्पादन, रोग सार्ने किर्नाको व्यवस्थापन लगायत विषयमा गोष्ठी मार्फत सो तयारी सुरु गरिएको हो ।
पशु सेवा विभागका अनुसार नेपालमा गत वर्ष करिब साढे ६५ हजार पशुचौपाया सो रोगको सङ्क्रमणबाट मृत्यु भयो । आउँदा दिनमा लम्पी स्किन रोगका कारणले पशुधनको क्षति हुन नदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु स्वास्थ्य महाशाखाका प्रमुख डा. सम्झना कुमारी काफ्ले बताइन् । ‘रोग नियन्त्रण गर्नका लागि के गर्दा हुन्छ, कसरी गर्ने भन्ने विषयमा रोडम्याप बनाउने हो,’ उनले भनिन्, ‘यो रोग अफ्रिकामा धेरै देखिएकाले त्यहाँबाट नै विज्ञहरू आउनुभएको छ, उहाँहरूको एक्सपेरियन्सका आधार रोडम्याप तयार गर्छौँ ।’
विज्ञहरूले दिएको सुझाव अनुसार नेपालको भौगोलिक विविधता, खेती गर्ने प्रणाली, भ्याक्सिनको उपलब्धता लगायत विषयमा छलफल गरेर निष्कर्ष निकालिने काफ्ले बताइन् । ‘लम्पी स्किन रोग नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गर्न भ्याक्सिन सिडको आवश्यकता पर्छ,’ उनले भनिन्, ‘सो सिड ल्याएमात्रै हामीले यो रोगको भ्याक्सिन उत्पादन गर्नसक्छौ ।’
नेपालमा लम्पी स्किन रोगको भ्याक्सिन उत्पादन गर्न सक्ने प्रयोगशाला भएपनि भ्याक्सिन सिड उत्पादन गर्न सक्ने क्षमता नरहेको काफ्लेले उल्लेख गरिन् । ‘भ्याक्सिन उत्पादन गर्न सिड बाहिरबाट ल्याउनै पर्छ,’ उनले भनिन्, ‘सो सिड ल्याउने प्रक्रिया पशु विभागले गरेको छ ।’
कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेलले अहिले लम्पिस्किन रोग नफैलिएको र फैलने सिजन आउँदै गरेको हुँदा कसरी तत्काल समस्या समाधान गर्ने पूर्व तयारीमा लागेको बताए । ‘विगतका दिनमा पशुधनको क्षति भयो, सो क्षति फेरी हुन नदिनका लागि तयारी गर्दैछौँ,’ उनले भने, ‘लम्पी स्किन रोग सिजनल छ, यो रोगको सिजन आउँदै छ, गर्मीमा बढ्छ, जाडोमा घट्छ, किनकि भेक्टरहरु झिङ्गा, लामखुट्टेले सार्ने हो, अहिले यिनीहरूको एक्टिभिटी कम छ ।’
उनका अनुसार नेपालमा भ्याक्सिन उत्पादन गर्न ७ देखि ८ महिना लाग्ने छ । भ्याक्सिन उत्पादनभन्दा पहिला नेपालमा लम्पी स्किन कसरी व्यवस्थापन र नियन्त्रण गर्ने भन्ने तयारी गरिएको बताए ।
प्रतिपशु ५ देखि २० हजार रुपैयाँ क्षतिपूर्ति दिइने मापदण्ड
लम्पी स्किनको रोगको कारण प्रतिपशु ५ देखि २० हजार रुपैयाँ क्षतिपूर्ति दिइने मापदण्ड बनेको मन्त्रालयका सह प्रवक्ता तथा वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्र प्रसाद बोहराले बताए । विभागको तथ्याङ्कअनुसार लम्पी स्किनका कारण ६५ हजार ४ सय ४१ पशुचौपायाको मृत्यु भएको छ । तर कुन पशु, कतिको सङ्ख्यामा मरेका हुन् भन्ने विवरण भने छुट्याउन नसकिएको उनले बताए । विभागका अनुसार १५ लाख ३६ हजार १ सय ८० पशुचौपायामा लम्पी स्किन रोग देखिएको थियो । यीमध्ये १४ लाख ५३ हजार ४ सय ६४ चौपाया सङ्क्रमणमुक्त भएको विभागको पछिल्लो तथ्याङ्क छ ।
‘आउँदो वर्ष लम्पी स्किन रोगको सङ्क्रमण कम हुन्छ’
नेपालमा आउँदो वर्ष लम्पी स्किन रोगको सङ्क्रमण कम हुने काफ्ले बताइन् । नेपालमा जुन ठाउँमा लम्पी स्किन रोग देखा परेको थियो । सो रोग कम देखा पर्ने काफ्लेले उल्लेख गर्दै भनिन्, ‘जुन क्षेत्रका पशुमा लम्पी स्किन रोग देखा प¥यो, अर्को वर्ष त्यो ठाउँमा देखिँदैन, त्यो कुरा पक्का हो,’ उनले भनिन्, ‘किनकि त्यो क्षेत्रको पशुमा सहन सक्ने क्षमता विकास भइसकेको हुन्छ, खोप लगाउनुपर्छ, आउँदो वर्ष यो रोगको सङ्क्रमण कम हुन्छ ।’
मन्त्रालयले काठमाडौँमा आज (३ गते मङ्सिर) अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आईएलआरआई)सँग लम्पिस्किन नियन्त्रण गर्नका लागि भ्याक्सिन उत्पादनबारे छलफल कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम भोलि बुधबारसम्म जारी हुनेछ । कार्यक्रममा अन्तर्राष्ट्रियस्तरका पशु चिकित्सक र नेपालका पशु चिकित्सकबिच लम्पिस्किन रोग नियन्त्रण गर्ने विषयमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई