सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते माघमा

मङ्गलबार, ०३ पुस २०८०, १७ : ४७
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । नेपाल सितोरियो कराँते संघ जिल्ला प्रमुख डोजो लगनखेलको आयोजनामा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता माघ १८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब) गरी कुल १० टोलीका दुई सय १० खेलाडीको सहभागिता रहने जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले दिए ।

प्रतियोगितामा प्रत्येक टोलीले २१ जना खेलाडी सहभागी गराउन पाउने छन् । एकल र टिम कातासहित पुरुषतर्फ नौ र महिलातर्फ आठ गरी कुल १७ स्पर्धमा खेल हुनेछ । टिम च्याम्पियनले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

पुरुष र महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । आयोजक र गोदवारी नगरपालिकाबिच चार संस्करण प्रायोजन गर्ने पूर्वसहमति बमोजिम तेस्रो संस्करणका लागि पनि मंगलबार नै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आयोजकको तर्फबाट अध्यक्ष श्रेष्ठ र गोदावरी नगरपालिकाको तर्फबाट मेयर गजेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्नेछ ।

आयोजकका अनुसार सातदोबाटोस्थित कराँते हलमा हुने तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगिताका परिकल्पनकार एवं बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जनले प्रतियोगिता नेपालकै स्तरीय प्रतियोगितामध्येको एक भएको बताए ।

मेयर महर्जनले गोदावरी नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिँदै आएको बताउँदै प्रतियोगिताले एरिका गुरुङ (हाङझाव एसियाडकी रजत पदक विजेता)जस्ता खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल कराँते महासंघका महासचिव दावा गुरुङलगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप