सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

देउवाको दोस्रो कार्यकालको मध्यावधि : जिम्मा पूरा, काम अधुरा

उपसभापति सत्तामा मस्त, महामन्त्रीको विश्वास घट्दो
मङ्गलबार, ०३ पुस २०८०, १५ : ०७
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको मैदानमा एउटा जिम्मा लिएका थिए । २०७८ मङ्सिरमा भएको १४ औँ महाधिवेशनमा दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा रहेका देउवाको त्यो जिम्मा थियो गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बनाउने ।

आफू सभापतिमा हारे आफ्नो नेतृत्वको तत्कालीन सरकार ढल्ने त्रास देखाउँदै उनले भनेका थिए, ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ, राष्ट्रिय सरकार कांग्रेसको हुनेछ । त्यसका लागि मलाई यो पल्ट जिताइदिनुस् ।’

कांग्रेसका महाधिवेशन प्रतिनिधिले देउवाको उक्त अनरोध अनुमोदन गरिदिए । सभापतिका प्रत्यासी शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङलाई पाखा लगाएर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भए ।

देउवाको दोस्रो कार्यकालमा कांग्रेसले चुनावी मोर्चामा सफलता पाएको देखिन्छ । महाधिवेशनको उद्घाटनसत्रमा लिएको जिम्मा देउवाले पूरा गरेका छन् । २०७८ माघमा १२ मा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले सफलता पायो । गठबन्धनको नेतृत्वकर्ताको हैसियतले सबैभन्दा बढी लाभ पनि कांग्रेसलाई नै भयो ।

राष्ट्रिय सभामा कांग्रेसका ६ जना सांसद थपिएका थिए । माओवादी केन्द्रलगायत दलसँग गठबन्धन गरी तीनवटै तहको निर्वाचनमा देउवाले कांग्रेसलाई सबैभन्दा ठुलो दल बनाए ।

देउवाको पहिलो कार्यकालमा २०७४ देखि ०७८ सम्म कांग्रेस दोस्रो ठुलो दल थियो । दोस्रो कार्यकालमा निर्वाीचत भएपछि देउवाले ०७९ मा सम्पन्न तीनै तहको निर्वाचनमा पार्टीलाई पहिलो दल बनाए । स्थानीय तह, प्रदेश र केन्द्रमा कांग्रेस पहिलो दलका रुपमा स्थापित छ ।

२०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा ७५२ वटा पालिकामध्ये ३२९ पालिका (१८८ अध्यक्ष र १४१ प्रमुख) जितेर कांग्रेस पहिलो दल बन्यो । २०७४ मा नेपाली कांग्रेसले प्रमुख र अध्यक्ष गरी २६६ पालिकामा जितेको थियो ।

कांग्रेसले २०७४ को तुलनामा ६३ बढी पालिकामा जित हात पारेको देखिन्छ । अहिले कुल पालिकाको ४४ प्रतिशत हिस्सा कांग्रेसले ओगटेको अवस्था छ । कांग्रेसले १९० पालिकामा उपाध्यक्ष र ११० उपप्रमुखसहित ३ सय पालिकामा दोस्रो प्रमुख पद पनि जितेको छ । जुन ४० प्रतिशत हो ।

७ हजार ६ सय ३३ मध्ये २ हजार ६ सय वडामा कांग्रेसको नेतृत्व छ । वडाध्यक्षमा कुल संख्याको ३९ प्रतिशत हिस्सा कांग्रेसको भागमा छ ।

०७४ मा कांग्रेस कुनै पनि प्रदेशमा पहिलो दल थिएन । अहिले कोशी प्रदेशमा २९, मधेस प्रदेशमा २२ र लुम्बिनी प्रदेशमा २७ सांसदसहित कांग्रेस दोस्रो स्थानमा छ । ०७४ को भन्दा ०७९ मा कांग्रेसले सबै प्रदेशमा सांसदको संख्या बढाएको छ ।

०७९ मा संघीय संसदमा पनि कांग्रेस पहिलो दलका रुपमा स्थापित छ । ०७४ मा सम्पन्न निर्वाचनमा २३ प्रत्यक्ष र ४० समानुपातिक गरी कांग्रेससँग प्रतिनिधिसभामा ६३ सांसदको उपस्थिति थियो । संसदको दोस्रो दल भए पनि कांग्रेससँग एक तिहाइ सांसदको संख्या पनि थिएन ।

२०७९ मङ्सिरमा भएको निर्वाचनबाट संघीय संसदको चित्र फेरिएको छ । अहिले ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ जना सांसदसहित कांग्रेस पहिलो दलका रुपमा स्थापित छ । यद्यपि केन्द्रीय सरकारको नेतृत्व गर्ने अवसरबाट भने कांग्रेस बञ्चित हुन पुग्यो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धनको साथ छाडेपछि कांग्रेस सत्ता विमुख हुने अवस्था आयो । एमाले नेतृत्वको सात दलीय गठबन्धनको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस सातवटै प्रदेश र संघमा सरकारबाट बाहिर रह्यो । तर गत फागुन १२ मा पुस १० को कोर्स करेक्सन भएपछि सत्तामा कांग्रेसको ‘कमब्याक’ भयो ।

देउवाले आफ्नो दोस्रो कार्यकालमा मुलुकको सर्वाेच्च पद राष्ट्रपतिमा आफ्ना मित्र रामचन्द्र पौडेललाई आसीन गराउन सफल भए । कांग्रेसकै रामवरण यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनेका थिए ।

नयाँ संविधान बनेपछि २०७२ कात्तिक ११ मा एमालेबाट विद्यादेवी भण्डारी राष्ट्रपति बनेकी थिइन् । ०७४ फागुनमा पनि उनी पुनः राष्ट्रपति बनिन् । कांग्रेसले दुवै पटक राष्ट्रपति निर्वाचनमा पराजय बेहोर्‍यो । २०७९ फागुनमा शीतलनिवासमा कांग्रेसलाई कमब्याक गराउन देउवा सफल भए । यद्यपि गतवर्ष वैशाख १० मा सम्पन्न तनहुँ–१ र चितवन–२ को उपनिर्वाचनमा कांग्रेसले नमिठो हार बेहोर्‍यो । नवोदित राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको गढ मानिने तनहुँ–१ म चुनावी नतिजा आफ्नो पक्षमा हात पारेको थियो ।

कांग्रेस छाडेर रास्वपा छिरेका डा. स्वर्णिम वाग्लेले कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई भारी मतान्तरले पराजित गरिदिए । कांग्रेसको सम्पूर्ण शक्ति तनहुँ केन्द्रित हुँदा पनि गोविन्दको पराजय रोकिएन । उपनिर्वाचनले कांग्रेसको वैकल्पिक शक्तिका रुपमा रास्वपा उदाउन खोजेको संकेत छाडेको छ । यसले कांग्रेसपंक्तिमा चिन्ता थपेको देखिन्छ ।

कांग्रेस नीति र गतिहीन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उदासीन बन्दा पार्टी नीति र गतिहीन अवस्थामा चलिरहेको छ । आफ्नो दोस्रो कार्यकालको दुई वर्षसम्म पनि सभापति देउवाका कारण पार्टीका निकाय निकम्मा बनेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई विधानमा बाँध्न बनाएको वार्षिक कार्यतालिका पनि प्रभावी हुने देखिएको छैन । कांग्रेसका १३ वटा भ्रातृ संस्थामध्ये सात वटा तदर्थ समितिको भरमा चलिरहेका छन् भने पाँच वटाको नेतृत्व नै छैन ।

लामो समयसम्म अधिवेशन नभएपछि ०७८ फागुनमा १० वटा भ्रातृ संस्था विघटन गरी तदर्थ समिति बनाउने निर्णय कांग्रेसले गरेको थियो ।

सभापति देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघमा तदर्थ समिति ल्याएका छन् ।

नेपाल मुस्लिम संघले भने गत असोजमा अधिवेशनबाटै नयाँ कार्यसमिति चयन गरेको थियो । सभापति देउवाले महाधिवेशन भएको दुई वर्ष हुनै लाग्दा पनि पार्टीका १७ विभागमात्र गठन गरेका छन् । महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था विधानमा भए पनि सभापति देउवा उदासीन देखिएपछि ३ हजार ५ सय ७० जना नेता–कार्यकर्ता जिम्मेवारी पाउनबाट रोकिएका छन् ।

०७८ मङ्सिर अन्तिम साता कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति देउवा दोहोरिएका थिए । सभापतिमा दोहोरिएका देउवाको विधान उल्लङ्घन गर्ने अभ्यास पनि दोहोरिएको छ ।

पार्टीका विभाग, नीति अनुसन्धान प्रतिष्ठान लगायतका निकायलाई क्रियाशील बनाउन अहिलेसम्म देउवाको कदम चलेको छैन । ७० वटा विभागमध्ये प्रचार विभाग मात्र क्रियाशील छ । अब २ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । देउवाले कोषाध्यक्ष मनोनयनमा चासो दिएका छैनन् । यस्तै कांग्रेसमा संसदीय दलको उपनेता र कार्यसमिति ११ महिनादेखि चयन हुन सकेको छैन । गत पुस ६ मा संसदीय दलको नेतामा निर्वाचित देउवाले उपनेता र कार्यसमिति चयनको विषयलाई प्राथमिकता दिन नसकेका हुन् ।

देउवाले संसदीय दलको प्रमुख सचेतक र सचेतक मनोनीत गरे पनि उपनेता चयनमा उदासीनता देखाएका छन् । २०७८ मङ्सिरमा सम्पन्न १४ औँ महाधिवेशनमा कांग्रेसले नीतिमाथि कुनै छलफल नगरी पदाधिकारी र सदस्यको निर्वाचनमात्रै गरेको थियो । ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेस दुई वर्षसम्म नीतिविहीन छ ।

२०७९ मा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुँदा नीति तय गर्न फुर्सद नपाएको कांग्रेस पछिल्लो एक वर्षमा सत्ता राजनीतिमै मस्त देखिन्छ ।

नीति अधिवेशनलाई महासमिति बैठकमा रुपान्तरण गर्ने निर्णय गरे पनि कांग्रेसले आगामी नीति तय गर्न अलमल गरिरहेको छ । महासमिति बैठक चौथो पटक सारेर कांग्रेसले आगामी फागुन ७ देखि १० सम्म पु¥याएको छ ।

कांग्रेसको सभापति देउवाको प्रचण्ड बहुमतसँग इतर पक्ष रमिते मात्र बनेको टिप्पणी हुने गरेको छ । इतर पक्षका नेता शेखर कोइरालाले बितेका दुई वर्षमा सभापति देउवालाई पार्टी विधि विधानानुसार सञ्चालन गराउन कुनै दबाब सिर्जना गर्न सकेको देखिएको छैन ।

नेता कोइराला र महामन्त्री गगन थापाबिचको अन्तरसंघर्षले देउवालाई हाइसन्चो भएको नेताहरु बताउँछन् ।

१४ औं महाधिवेशनबाट ऊर्जावान युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि कांग्रेसजनमा पार्टी रुपान्तरणको आशा जागेको थियो । महामन्त्रीमा थापा र शर्माको दुई वर्ष पनि उत्साहजनक छैन ।

शेखर कोइराला र प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री बनेका क्रमशः थापा र शर्माले देउवामाथि दबाब बढाउन नसकेको भन्दै कार्यकर्तापंक्ति निराश हुँदै गएको देखिन्छ । पार्टीलाई विधि विधानमा हिँडाउने सवालमा देउवाको अकर्मण्यतासामु महामन्त्रीद्वय निरीह देखिन्छन् । पार्टीको दोस्रो पोजिसनमा रहेका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ सत्ता स्वपानमा रमाएको देखिन्छ ।

पार्टी संगठनलाई चलायमान बनाउन सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का र कानुनमन्त्री समेत रहेकका गुरुङमा चासो र चिन्ता देखिएको छैन । पार्टीका सहमहामन्त्री दुई वर्षदेखि जिम्मेवारी विहीन छन् ।

पोलिसी ह्याकाथन र बिपी साहित्य महोत्सव

कांग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको थियो । साउन २७ देखि भदौ ९ सम्म भएको पोलिसी ह्याकाथन अर्थतन्त्र र जलवायुसम्बन्धी मुद्दा केन्द्रित थियो । पार्टीप्रति युवालाई आकर्षित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा अनलाइन आवेदनमार्फत २२७ टोलीले अवधारणा पठाएका थिए । जसमध्येबाट सर्टलिस्टमा परेका १० अवधारणा फाइनलमा प्रस्तुत गरिएका थिए । तीमध्ये उत्कृष्ट तीन अवधारणा छनोट भएका थिए ।

प्रतिस्पर्धामा मन्दीप सुवेदी, अमित खनाल र विप्लवी न्यौपानेले प्रस्तुत गरेको अर्थतन्त्रबारे अवधारणा प्रथम भएको थियो । यस्तै सदीक्षा सिलवाल, स्वीकृति कुटाल र मिलनजंग कटुवालले प्रस्तुत गरेको अर्थतन्त्रबारेको अवधारणा दोस्रो भएको थियो भने ऐश्वर्या श्रेष्ठ, सोनिया पहाडी, दीपेन्द्र अमात्य विजेनले प्रस्तुत गरेको जलवायु परिवर्तनसँग सम्बन्धित अवधारणा तेस्रो भएको थियो ।

भदौ २४ गते ११०औँ बिपी जन्मजयन्तीको अवसरमा कांग्रेसले बिपीको साहित्य महोत्सव आयोजना गरेको थियो । कार्यक्रममा कांग्रेसले बिपीको राजनीति, साहित्य र विचारका विविध आयामलाई एकीकृत ढंगले बृहत्तर रूपमा एकैपटक छलफलमा ल्याएको थियो । तीन दिन चलेको बिपी साहित्व महोत्सवमार्फत पार्टीलाई आम वौद्धिक वर्गमा जोड्न महामन्त्रीद्वय सफल भएका थिए । आगामी फागुन अन्तिम सातातिर इकोनोमिक कन्क्लेभ गर्ने महामन्त्री थापाको तयारी छ ।

कात्तिक २४ र २५ गते गर्ने भनिएको इकोनोमिक कन्क्लेभ फागुन अन्तिम साताका लागि सरेको छ । जाजरकोट भूकम्पका कारण पार्टीले आफ्ना नियमित कार्यतालिकाका कार्यक्रम स्थगित गरी भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित हुँदा कार्तिक र मङ्सिर महिनाका कार्यक्रमहरू प्रभावित हुन पुगेको कांग्रेसले जनाएको छ ।

यसै क्रममा महासमितिको बैठकको मिति र तयारीका कारण पनि कार्यतालिकामा परिमार्जन गर्नुपर्ने भएकोले भूकम्प र पार्टीका तहगत सम्मेलनहरूका कारण स्थगित भएका कार्यक्रमहरू समेत समाहित गरी पार्टी कार्यतालिका परिमार्जन गर्ने महामन्त्री थापाको तयारी छ ।

दोस्रो कार्यकालको दुई वर्ष मिश्रित

देउवाको दोस्रो कार्यकालको दुई वर्ष मिश्रित रहेको नेताहरुको टिप्पणी छ । निर्वाचन परिणाम र सत्ता राजनीतिमा सफल देखिए पनि पार्टीको आन्तरिक जीवन व्यवस्थित बनाउने सन्दर्भमा देउवाले पहिलो कार्यकालकै अभ्यास दोहोर्‍याएको नेताहरु बताउँछन् ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी सञ्चालनका प्राविधिक र प्रशासकीय विषयमा नेतृत्वबाट कमी कमजोरी भएको बताए ।

‘पार्टीमा गर्नुपर्ने काम समयमा नभएको स्थिति छ । ती आलोचनाको विषय बनेका छन् । तर राजनीतिक विषयमा भने कांग्रेस पछाडि छैन,’ उनी भन्छन्, ‘निर्वाचनबाट पनि कांग्रेस पहिलो पार्टी भएको छ । स्थानीय तहमा पनि हामी पहिलो पार्टी छौँ । सबैभन्दा बढी ठाउँमा जितेका छौँ । सबै प्रदेशको हेर्दा प्रदेशमा पनि हामी पहिलो नै छौँ । सङ्घीय संसदमा पनि हामी सबैभन्दा अगाडि नै छौँ ।’

कांग्रेस बाहेकको गठबन्धन गठबन्धनलाई बदलेर कांग्रेसको सहमतिमा सरकार बनेकोमा नेतृत्वको रणनीतिले काम गरेको लेखकको बुझाइ छ ।

‘केन्द्रमा मात्र होइन, ७ वटा प्रदेशमा कांग्रेस सम्मिलित सरकार छ । चार प्रदेशमा हामीले सरकारको नेतृत्व नै गरिरहेका छौँ । कांग्रेस राजनीतिको केन्द्रविन्दुमा छ । कांग्रेस राजनीतिमा सबैभन्दा ठूलो शक्तिका रूपमा स्थापित भएको छ,’ उनले भने ।

यस्तै केन्द्रीय सदस्य योगेन्द्र चौधरीले देउवाको दोस्रो कार्यकाल मिश्रित रहेको बताए । ‘निर्वाचनको परिणामलाई हेर्दा उहाँको दोस्रो कार्यकाल सफल मान्न सकिन्छ । कांग्रेसलाई देशको सबैभन्दा ठूलो दलको रुपमा स्थापित गराउन सफल हुनु भएको छ,’ चौधरी भन्छन्, ‘तर, पार्टीमा एकताको सन्देश दिन र संगठन चलायमान बनाउन सभापतिज्यू चुक्नु भएको देखिन्छ ।’

केन्द्रीय सदस्य प्रदीप पौडेलले देउवा नेतृत्वको कार्यसमितिको दोस्रो कार्यकालको आधा समय सकिएको भन्दै गम्भीर समीक्षा गर्न बेला भएको बताए । ‘निर्वाचनमा गठबन्धन गरेर हामीले पार्टीलाई अग्रपंक्तिमा उभ्यायौँ । त्यसले हामीलाई सत्तामा पु¥यायो,’ उनी भन्छन्, ‘तर जनतामा भरोसा जनाएर अपेक्षित काम गर्न सकेनौँ । त्यसले पार्टीप्रति असन्तुष्टि बढायो । हाम्रो पार्टीबारे थप टिप्पणी हुने र विकल्प समेत खोज्नका लागि वातावरण बन्ने परिस्थिति बन्यो ।’

अर्काे निर्वाचनसम्म जनताको विश्वास आर्जन गर्ने गरी काम गर्दा फेरि रिभाइभ गर्न सकिने पौडेलको भनाइ छ । नेतृत्वले कार्यकालको मध्यान्तरमा गम्भीर समीक्षा गरी निर्णायक कदम नचाले पार्टी संकटमा पर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप