बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

आईपीएल अक्सन : हैदराबादले ६ करोड ८० लाखमा किन्यो ट्राभिस हेडलाई

मङ्गलबार, ०३ पुस २०८०, १४ : ०३
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अस्ट्रेलियाका प्रभावशाली खेलाडी ट्राभिस हेडलाई सनराइजर्स हैदराबादले खरिद गरेको छ । उनलाई हैदराबादले ६ करोड ८० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।

अस्ट्रेलियन टोलीका ओपनर ब्याट्सम्यान हुन्, हेड । उनी अलराउन्डर खेलाडी हुन् । आक्रामक ब्याट्सम्यानको परिचय बनाएका हेडले हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अस्ट्रेलियालाई उपाधि दिलाउन विश्वकपको फाइनलमा पनि उनले एक सय ३७ रन बनाएका थिए । उनले विश्वकपमा ६ खेल खेलेका थिए । ३०औँ जन्मदिन मनाउने तयारीमा रहेका हेडले विश्वकपमा दुई शतकको मद्दतले कुल तीन सय २९ रन बनाएका थिए ।

विश्वकपमा उनको स्ट्राइकर रेट एक सय २७ भन्दा बढी थियो । बायाँ हाते ब्याट्सम्यानका अतिरिक्त उनी स्पिन बलर पनि हुन् । उनी टोलीलाई आवश्यक पर्दा विकेटकिपरको भूमिका पनि निर्वाह गर्न सक्छन् । उनले देशका लागि हालसम्म २३ वटा टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । टी-२० अन्तर्राष्ट्रियमा उनले १४६.०० को स्ट्राइक रेटमा कुल पाँच सय ५४ रन बनाएका छन् ।

टी-२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ९१ रन हो । उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् । आईपीएलको १० खेलमा उनले १३८.५१ को स्ट्राइक रेटमा दुई सय पाँच रन बनाएका छन् । उनले पछिल्लो पटक सन् २०१७ मा रोयल च्यालेन्जर्स बैंगलोरको तर्फबाट आईपीएल खेलेका थिए ।

यसपटक अक्सनमा हेडको नाम सेट-१ मा रहेको थियो । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ थियो । यसपटक हैदराबाद, कोलकाता, गुजरात र दिल्ली माथिल्लो क्रममा खेल्न सक्ने आक्रामक ब्याट्सम्यानको खोजीमा देखिएको थियो । तर, हैदराबादले हेडलाई खरिद गरेर बाजी मार्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप