सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

एआईले बलिउडमा कस्तो प्रभाव पार्ला ?

मङ्गलबार, ०३ पुस २०८०, १३ : ३५
मङ्गलबार, ०३ पुस २०८०

नयाँ दिल्ली । भारतीय सिनेमा जगतमा कृत्रिम बौद्धिकता (एआई) कहाँ फिट होला ? एआईले हलिउडमा व्यापक उथलपुथल गरायो । एआईको त्रासबिच त्यहाँका लेखकहरूले महिनौंसम्म बन्द हडताल गरे । कलाकारहरुको बन्द हडताल झन लामो थियो । फिल्म र टिभी शोको उत्पादन नै ठप्प भयो । एआईले मानवीय जागिर खोसिदिने विषयमा विश्वभर विवाद र बहस चर्किरहेको छ । तर लाखौँ मान्छेलाई रोजगारी दिइरहेको भारतीय सिनेमा जगतमा यो विषयबारे खासै बहस सुन्नमा आएको छैन । अहिले भारतीय फिल्म उद्योगका केही क्रियएटरहरुले एआईका कारण उत्पन्न खतरालाई कम आँकिरहेका छन् । केहीले चाहिँ यसलाई गम्भीर रूपमा लिनु पर्ने महसुस गर्न थालेका छन् ।

निर्देशक शेखर कपुरको डेब्यू फिल्म मासुम (१९८३) मा एक महिलाले आफ्नो पतिको विवाहेत्तर सम्बन्धबाट जन्मिएको बच्चालाई कसरी स्वीकार गर्छिन् भन्ने देखाइएको थियो । यो फिल्मको सिक्वेलमा शेखरले एआई टुल च्याटजीपीटीको प्रयोग गर्ने निर्णय गरेका छन् । एआईले यो कथाको नैतिक द्वन्द्वलाई सहजै बुझेको अनि केही सेकेन्डमै स्क्रिप्ट दिएको देखेर कपुर छक्क परेका छन् । लेखकहरूको एउटा समूहलाई हप्तौँ लाग्ने काम एआईले केही सेकेन्डमा गरिदिन थालेको छ । एआईसँगको भविष्य अराजक हुने कपुर बताउँछन् । सन् २०१९ मा परामर्श सेवा प्रदायक डेलोइटले सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार बर्सेनि बन्ने फिल्मको आधारमा भारत विश्वको सबैभन्दा ठुलो फिल्म उद्योग हो । यसले ८ लाख ५० हजारलाई रोजगारी  दिइरहेको छ ।

हालै मात्रै रश्मिका मन्दना, आलिया भट्ट जस्ता चर्चित भारतीय अभिनेत्रीहरूको डिपफेक भिडियोहरु सार्वजनिक भयो । अरुको भिडियोमा यी अभिनेत्रीहरूको टाउको हालेर बनाइएका भिडियोहरु सामाजिक सञ्जालमा निकै भाइरल बने । यी प्रतिनिधि घटनाहरुले अनेकौं चिन्ता उत्पन्न गराइरहेका छन् । एआई उन्नत बन्दै गइरहेको अनि यसको दुरुपयोग समेत भइरहेको स्थितिमा यसले आर्थिक मात्रै होइन नैतिक प्रश्न समेत उब्जाएको छ ।

अमेरिकामा यो वर्ष अभिनेता र लेखकहरूको बन्द हडतालको मुख्य मुद्दा टिभी र फिल्म उत्पादनमा एआइएको प्रयोग थियो । भारतमा अहिलेसम्म पनि एआईको प्रयोगबारे संगठित वार्ता नभएको प्रोड्युसर्स गिल्ड अफ इन्डियाका पूर्व अध्यक्ष सिद्धार्थ रोय कपुर बताउँछन् । हरेक सेकेन्ड एआई टूलहरु झन् झन् स्मार्ट बन्दै गइरहेकोले यसबारे वार्ता गर्नु पर्ने समय यही नै भएको कपुरको भनाई छ । अबको तीनदेखि ६ महिनामा एआईको अवस्था अर्कै हुनेछ ।

एउटा बटन थिचेकै भरमा सबै कुरा तयार बनाइदिने स्थितिबाट एआई निकै टाढा छ । भारतमा केही फिल्ममा एआइको प्रयोग गरिएका छन् । तर फिल्मको फोरके रिजोल्युशनसँग यो म्याच नभएको बताइएको छ । आगामी तमिल फिल्म ‘वेपन’मा एआईले तयार पाएको साढे २ मिनेटको सिक्वेन्स राखिँदैछ । एआईले तयार पारेको सिक्वेन्स राखिएको यो पहिलो भारतीय फिचर फिल्म हुनेछ । फिल्ममा मुख्य अभिनेता सत्यराजको जवान रुप देखाउन एआइएको प्रयोग गरिएको छ । लाइभ एक्सनमा एआईको प्रयोग सस्तो विकल्प भएको फिल्मका निर्देशक बताउँछन् ।

सन् २०२१ मा शाहरुख खानले क्याडबरीको विज्ञापनका  लागि आफ्नो अनुहार र आवाज डिपफेक प्रविधिबाट बनाइने विज्ञापनका लागि सापटी दिएका थिए । यो एउटै विज्ञापनबाट देभरमा ३ लाखभन्दा धेरै विज्ञापन बनाइयो । भारतमा एआईको नियमनसम्बन्धी कानून बनेको छैन । यस्तोमा आलोचकहरूले एआइको दुरुपयोग हुने चिन्ता व्यक्त गरिरहेका छन् । यही वर्ष बलिउड अभिनेता अनिल कपुरले आफ्नो छवि, नाम र आवाज आदिको सुरक्षाका लागि लडेको कानूी लडाई जिते । यसलाई अनिल कपुरले निकै सकारात्मक भनेका थिए । यो अन्य अभिनेताहरूको लागि पनि खुसीको कुरा हो ।

एआईको अर्को पक्ष पनि छ । यसले फिल्म बनाउने कामलाई सजिलो र छिटो बनाउने अर्काथरी मानिसहरुको भनाई छ । मान्छे र एआई मध्ये कुनले चाहिँ राम्रोसँग काम गर्न सक्ला ? आफ्नो फिल्म वेपनका लागि निर्देशक गुहान सेन्नियाप्पानले एआई प्रयोग गरेका थिए । तर पैसा र समयको अभाव नभएको भए उनी लाइभ–एक्सन शूटिङ गर्न चाहन्थे । एआई सुन्दर कुरा हो तर यो लाइभ एक्सन वा एनिमे जत्तिकै अर्गानिक चाहिँ नभएको उनी बताउँछन् । च्याटजीपीटीसँगको शुरुआती मन्त्रमुग्धतापछि शेखर कपुरले पनि यस्तै महसुस गरे । एआई र मान्छे बीचको को चाहिँ स्मार्ट हो ? भन्ने प्रश्न आफैंलाई सोधेर उनले आफू नै स्मार्ट भएको जवाफ दिए । एआईको आफ्नो कुनै नैतिकता हुन्न । यसले उपलब्ध डेटाका आधारमा नैतिकता निर्धारण गर्छ । न त यसले रहस्य सृजना गर्न सक्छ, न त डर महसुस गर्न सक्छ न त माया नै । तर यसले हरेकका लागि फिल्म निर्माणमा पहुँच पुर्‍याउन चाहिँ सक्ने उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप