काठमाडौँ । महिला तथा स्त्री रोगका बारेमा सबै जना सचेत हुन अति नै आवश्यक छ । आधुनिक जीवन शैली र खानपानका कारण महिला तथा स्त्री रोग पीडितको पनि सङ्ख्या दिनानुदिन बढ्दो छ ।
त्यसमा पनि महिनावारीसम्बन्धी समस्या लिएर अस्पताल तथा चिकित्सककहाँ पुग्नेको सङ्ख्या बढ्दो देखिन्छ । अनियमित महिनावारी, महिनावारीका बेलमा धेरै पेट दुख्ने, कम्मर तथा ब्रेस्ट दुख्ने समस्याका बारेमा पनि जान्न आवश्यक छ । यसै सन्दर्भमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. विनोद अर्याल (एमडी) सँग रातोपाटीका लागि दीपा दाहालले गरेको कुराकानीको सम्पादित अंश (भिडियोसहित) :
सामान्यतया स्त्री रोग भन्नाले स्त्रीका प्रजनन अङ्गहरूसँग सम्बन्धित रोगलाई बुझ्न सकिन्छ । यसमा पाठेघर, पाठेघरका छेउछेउमा रहेका डिम्बकोष, डिम्बकोषलाई पाठेघरसम्म ल्याउने नलीहरू, पाठेघरको मुख, पाठेघरको भित्री तह, योनी र योनीका वरिपरिका अङ्ग र स्तन जस्ता अङ्गमा लाग्ने रोगहरूलाई स्त्री रोग भनिन्छ ।
कति समयमा हुने महिनावारी सामान्य र कति समयलाई असामान्य भनिन्छ भनेर पहिला बुझ्न जरुरी छ । एक महिनामा ७/८ दिन तलमाथि हुँदासम्मलाई नियमित महिनावारी भन्न सकिन्छ । महिलाको उमेरका आधारमा पनि महिनावारीको अनियमितताको बारेमा जान्नुपर्ने हुन्छ । विशेष गरी महिनावारीको सुरुवाती अवस्था र महिनावारी सुक्ने बेलामा पूर्ण रूपमा महिनावारी नियमित नहुन सक्छ । यी दुईवटा एक्सिट्रिमहरू डिम्बकोषबाट बन्ने हर्मोनका कारणले हुन्छ । सुरुवाती अवस्थामा अङ्गहरू परिपक्व नभइसकेका कारणले गर्दा चाहिएको जति हर्मोन उत्पादन नहुने भएकाले महिनावारीमा गडबड हुन सक्छ । तर महिनावारीको सुरुवाती उमेर र महिनावारी सुक्ने बेलामा बाहेक रिप्रोडक्टिभ उमेर समूहमा हुने महिनावारीको गडबडी अरू धेरै कारणले हुन सक्छ । जस्तै हर्मोन प्रोडक्सन गर्ने डिम्बकोषमा केही समस्या भयो भने हुन सक्छ, स्त्री प्रजनन अङ्गमा केही गडबडी भयो भने पनि महिनावारी नियमित रूपमा हुँदैन ।
महिनावारीको सुरुवाती दिनहरू र महिनावारी रोकिने बेलामा चाहिँ आत्तिइहाल्नु पर्दैन । रिप्रोडक्टिभ उमेर समूहमा महिनावारीमा गडबडी भयो भने रगत धेरै बगेर रगत बग्ने सम्भावना हुन्छ । यसले रगतको मात्रा नै कम हुन्छ । ट्युमरहरू पलायो भने उपचार गर्नुपर्ने हुन्छ । तर पनि नियमित चेकजाँच गराउन उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
महिनावारी हर्मोनसँग सम्बन्धित प्रक्रिया हो । हर्मोन उत्पादन डिम्बकोषहरूबाट मात्र नभएर अरू अङ्गबाट पनि हुन्छन् । महिनावारीमा मात्र नभएर जहाँ जहाँ हर्मोन उत्पादनले सीधै असर गर्छ, ती अङ्गहरूमा पनि हर्मोनको गडबडीले असर पर्न जान्छ । पिम्पल आउनु पनि हर्मोनसँग सम्बन्धित हुन सक्छन् ।
कसैकसैको अत्यधिक हर्मोन उत्पादन हुँदा महिनावारीमा धेरै दुखाइ पनि ल्याउन सक्छ । विशेष गरेर सुरुवाती वर्षहरूमा यो धरै हुन्छ । यसैगरी महिनावारी हुने अङ्गहरू जस्तै पाठेघर, पाठेघरको मुखतिर कुनै संरचनात्मक समस्या छन् भने त्यसले पनि महिनावारीको नर्मल ब्लड फ्लोलाई रोकेर राम्रोसँग ब्लड फ्लो हुन नदिने अवस्था आउन सक्छ । त्यसमा पनि पिरियड पेन हुन सक्छ । संरचनात्मक समस्या र हर्मोनको कारणले नभए पनि दुखाइ छ भने त्यो सामान्य हो । सामान्य घरायसी उपचारले पनि निको हुन्छ ।
त्यो औषधीले त्यस्तो ठुलो असर त केही गर्दैन । हर्मोन औषधी दिइन्छ जुन शरीरबाट नै उत्पादन हुने हर्मोन हो । २/४ दिन महिनावारी तलमाथि गर्न दिइने औषधीले खासै ठुलो असर गर्दैन ।
प्रतिक्रिया