सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

जर्मनीमा विद्युत्को आधाभन्दा बढी नवीकरणीय ऊर्जाको प्रयोग हुने

सोमबार, ०२ पुस २०८०, १९ : ४२
सोमबार, ०२ पुस २०८०

बर्लिन । सन् २०२३ मा जर्मनीमा खपत हुने आधाभन्दा बढी विद्युत् पहिलो पटक नवीकरणीय ऊर्जाबाट उत्पादन हुने जर्मन ऊर्जा तथा पानी उद्योग सङ्घले सोमबार बताएको छ । प्रारम्भिक आँकडाअनुसार जर्मनीले यस वर्ष कूल पाँच खर्ब १७ अर्ब किलोवाट घण्टा विद्युत् खपत गर्नेछ । सन् २०२२ मा उसले पाँच खर्ब ४० अर्ब किलोवाट घण्टा खपत गरेको थियो । 

यसमा करिब ५२ प्रतिशत नवीकरणीय ऊर्जाबाट आउने सङ्घले बताएको छ । सन् २०२२ मा नवीकरणीय ऊर्जाको योगदान ४७ प्रतिशत थियो । सङ्घका कार्यकारी बोर्डका अध्यक्ष केर्स्टिन एन्ड्रीले भने, “आँकडाले हामी सही मार्गमा रहेको देखाउँछ ।” सन् २०३० सम्ममा आफ्नो ८० प्रतिशत विद्युत् वायु र सौर्य ऊर्जाबाट प्राप्त गर्ने जर्मनीको लक्ष्य छ । 

यद्यपि युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा ऊर्जा उत्पादनलाई डिकार्बोनाइज गर्ने योजना सन् २०२२ मा युक्रेनमाथि मस्कोको आक्रमण र त्यसपछि रुसले अत्यावश्यक ग्यास आपूर्तिमा गरेको कटौतीका कारण अस्तव्यस्त भएको छ । 

ग्यासमा आधारित विद्युत् उत्पादनको दबाब कम गर्नका लागि सरकारले कोइलाबाट चल्ने पुराना संयन्त्रहरू अनलाइन ल्याएको छ । पुनः सक्रिय कोइला संयन्त्र सन् २०२४ मार्चसम्ममा सञ्चालन हुनेछ । जर्मनीले सन् २०२३ मा पाँच खर्ब आठ अर्ब किलोवाट विद्युत् उत्पन्न गर्न तयारी गरेको सङ्घले बताएको छ । यसमा एक चौथाइ (२६ प्रतिशत) कोइलाबाट आउने छ । 

सन् २०२२ मा प्रदूषक जीवाश्म इन्धनको विद्युत् उत्पादनमा करिब एक तिहाइ हिस्सा थियो । सन् २०३० सम्ममा जर्मनी कोइलाबाट सम्पूर्णरूपमा बाहिर निस्कने उसको प्रतिज्ञामा अडिग छ तर आशङ्का कायमै छ । 

बर्लिनले वायु टरबाइन स्थापना गर्नका लागि कर्मचारीतन्त्रमा कटौती गर्ने प्रण गरेको छ र ‘स्वच्छ’ हाइड्रोजनमा चलाउनका लागि परिवर्तन गर्न सकिने स्थितिमा मात्र नयाँ ग्यासबाट चल्ने विद्युत् संयन्त्रहरूलाई अनुमति दिने योजना बनाएको छ । यद्यपि केही पर्यवेक्षकहरूले गति अझै पनि सुस्त रहेको बताएका छन् । 

जर्मनीले पनि यसै वर्षको अप्रिलमा उसको बाँकी अन्तिम आणविक ऊर्जा संयन्त्रलाई बन्द गरेको छ । यो उसको लामो समयदेखिको योजनाबद्ध कदम थियो । आणविक ऊर्जा संयन्त्रले जलवायु लक्ष्यहरू हासिल गर्न कठिन हुनसक्ने तर्क केही आलोचकले दिएका छन् ।- (रासस/एएफपी)   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप