प्रचण्ड सरकारको विकल्प छैन : वर्षमान पुन
हेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारको विकल्प नरहेको दाबी गरेका छन् । सत्ता गठबन्धनका केही दलभित्र सरकारको विकल्पका विषयमा केही टिका टिप्पणी भए पनि त्यसले कुनै अर्थ नराख्ने उनले बताए । सोमबार हेटौँडामा प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका पुनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्पमा कुनै पनि दल र दलका नेताहरू नरहेको बताए ।
‘वर्तमान सरकारको विकल्प छैन । गठबन्धनका दलका केही नेताहरूले फरक ढङ्गबाट विषयहरू उठाए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना भने छैन’ उनले भने, ‘सरकारका विषयमा केही टिका टिप्पणी भएका छन् । केही व्यक्तिले फरक ढङ्गबाट प्रश्न पनि गरेका छन् । तर, प्रचण्ड नेतृत्वको सरकार परिवर्तन हुने सम्भावना छैन । एक हिसाबले अहिले प्रधानमन्त्री प्रचण्डको विकल्प छैन । अन्य दलहरूलाई पनि अरूभन्दा प्रचण्ड नै ठिक भन्ने छ । नयाँ दलले पनि आफ्ना विषय सोझै प्रधानमन्त्री समक्ष राख्न सकेका छन् । राजसंस्था माग गर्दै आएको दल पनि प्रचण्ड नै उचित हो भनेर विचार र सिद्धान्त अनुसार अघि बढेका छन् । जनताले पुराना नेताहरू सबै हेरिसके । विकल्पमा अरू को भन्ने पनि छैन । गठबन्धन दलहरूमा नेता परिवर्तन हुने अवस्था पनि देखिँदैन ।’
उपमहासचिव पुनले सरकारले राम्रा काम गर्न खोज्दा चौतर्फी रूपमा आक्रमण र घेराबन्दीमा भइरहेको बताए । प्रचण्ड नेतृत्वको सरकारले सुशासनका सन्दर्भमा थुप्रै कामहरू गरेको तर, सो कामहरू पर्याप्त नहुने उनको भनाई छ । उनले माओवादी केन्द्र रूपान्तरणसहित नयाँ शक्तिको रूपमा उभिने रणनीतिअनुसार अघि बढेको उपमहासचिव पुनले बताए ।
पछिल्लो समय बाहिरिएका रिपोर्ट कार्डहरू अनुसार माओवादी नेतृत्वको सरकारको काम काम कारबाही सन्तोषजनक नरहेको र जनताको अपेक्षाअनुसार सरकारले आफ्नो गतिलाई बढाउन जरुरी रहेको उनले बताए । सरकारले सोचेजस्तो खर्च गर्न नसकेको र खर्च प्रणालीलाई पुनः संरचना गरी अघि बढ्नुपर्ने उनको भनाई छ ।
माओवादी नेतृत्वको सरकारका पालमा विकास निर्माणको कामले गति लिएको र सोही आधारमा अहिलेको सरकारले आफ्नो काम लाई अघि बढाएको उनको भनाई छ । माओवादी सरकारको नेतृत्वमा पहाडी जिल्लाहरूलाई आर्थिक समृद्धिमा जोड्न माध्य पहाडी राजमार्ग, भित्री मधेसको विकासका लागि धरान चतरा सडक खण्ड निर्माण गरिएकोले त्यसको प्रभाव देखिन थालेको उनले बताए ।
उनले देशको अर्थतन्त्रमा निकै सुधार आएको बताए । सरकारले गरेका निर्णयहरुले विदेशी मुद्रा सञ्चिति बढ्नुको अर्थ नेप्से परिसूचक, घरजग्गा कारोबार, विकास बजेट खर्च र राजस्व सङ्कलनको अवस्थामा सुधार आएकाले आर्थिक मन्दी अन्त्य हुने चरणमा रहेको उपमहासचिव पुनले बताए ।
माओवादी केन्द्रले चुनावी अङ्क गणितमा सुधार उन्मुख रहेको उनले बताए । उनका अनुसार विगतमा टुटफुट र प्राप्त जनमतलाई सम्मान गरी काम गर्न नसक्दा २०६४ पछि निरन्तर कमजोर बन्दै गएको हो । पार्टी विभाजनपछि पुनः कमब्याक हुन निश्चित समय अवधि लाग्ने भएकाले माओवादी सोही दिशामा केन्द्रित रहेको उनको भनाई छ ।
माओवादी केन्द्रको रूपान्तरण अभियानले पार्टी सङ्गठनलाई मजबुत बनाउनुको साथै सरकारको काम कारबाही र सुशासनका काममा गति मिलेको उनले बताए । अभियानले विकास निर्माणको कामलाई व्यवस्थित बनाउन र युवाहरूलाई उत्पादनसँग जोड्ने प्रयत्न गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट