बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

ओशो प्रवचन : परोपकार

सोमबार, ०२ पुस २०८०, १४ : ०९
सोमबार, ०२ पुस २०८०

एउटा बुढो राजाको तीन छोरा थिए । उनलाई राज्य कसलाई दिने भनेर निकै चिन्ताले सताउँथ्यो । तीनै जना छोरा सक्षम र दक्ष थिए । तीनै जनामा समान गुण थियो । त्यसैले उनलाई ठुलो कठिनाइ भएको थियो । 

एक दिन उनले तीनवटै छोरालाई बोलाएर भने–“तिमीहरूले गत वर्ष केके ठुलो कर्म गरेका छौ ? वर्षभरिको सबैभन्दा ठुलो कर्म कुन हो ? मलाई भन ।”

ठुलो छोराले भन्यो– “हाम्रो राज्यको सबैभन्दा ठुलो धनी मानिस तीर्थयात्रामा जाँदा उसले करोडौँ रुपैयाँ मूल्यका हिरा र गहनाहरू बिनागणना, कुनै लेखाजोखा नगरी, भर्पाइसमेत नलिई तीर्थयात्राबाट फर्किएपछि फिर्ता गर्ने गरी मलाई विश्वासमा राख्न दिए । यदि मैले चाहेको भए, म यसलाई पूर्ण रूपमा प्राप्त गर्न सक्थेँ । किनभने त्यहाँ कुनै लिखित अभिलेख थिएन, न त कुनै साक्षीहरू थिए । यदि मैले चाहेको भए केही बहुमूल्य हीरा लिन सक्थेँ, त्यहाँ कुनै समस्या थिएन । किनभने त्यो मानिसले न त गन्ती नै राखेको थियो, न त कुनै नम्बर राखेको थियो । तर मैले त्यो झोला ऊ फर्केर आएपछि जस्ताको तस्तै फिर्ता गरेँ ।

राजाले भने– “राम्रो गर्‍यौ । तर म तिमीलाई सोध्छु, यदि तिमीले केही राखेको भए, के तिमीलाई पश्चाताप, अपराधको बोध हुन्थ्यो कि हुँदैन थियो ?” 

तिमीले केही हीरा झिकेको भए, अपराधले तिम्रो मनलाई पीडा दिने थियो, काँडाले झैँ घोच्ने थियो । त्यो काँडाबाट बच्न तिमीले हिरा फिर्ता दिएका हौ । हो, तिमीले राम्रो काम गर्‍यौ, ठिक छ, तर यो परोपकार भएन । तिमीले आफैँलाई उपकार गरेका हौ ।”

दोस्रो छोरा अलि चिन्तित देखियो । उसले बिस्तारै भन्यो– “साँझको समय थियो । म बाटोमा हिँड्दै थिएँ । बाटोमा पोखरी थियो । । पोखरीको वरिपरि कोही थिएनन् । अचानक कृपया मलाई बचाउनुहोस्, बचाउनुहोस्, भनेर कसैले कराइरहेको सुने । यसो फर्केर पोखरीमा हेर्छु त एक जना मानिस डुबिरहेको देखे । यदि मैले चाहेको भए, म आफ्नै बाटो लाग्ने थिएँ । 

तर म दौडिँदै पोखरीको किनारमा पुगेँ र तुरुन्तै पोखरीमा हाम फालेँ । आफ्नो ज्यान जोखिममा पारेर डुब्न लागेको त्यो मानिसलाई बाहिर निकालेँ ।

अनि राजा भन्छन्– “तिमीले सही कुरा गर्‍यौ ।

तर यदि तिमी गएर उसलाई नबचाएको भए, के त्यो मानिसको मृत्युले तिमीलाई सधैँभरि पछ्याउने थिएन र ? तिमीले बाहिरबाट बेवास्ता गरे पनि, उसको चिच्याहटको आवाज सुनेका थियौ । के त्यो आवाजले तिम्रो पिछा गर्दैन थियो ? के उसको मृत्युले तिमीलाई सधैँ सताउँदैन थियो ? त्यो डरले गर्दा तिमीले आफ्नो ज्यान जोखिममा राखेर हाम फालेको थियौ । यसैले तिमीले केही परोपकारी काम गरे भन्ने भ्रममा पर्ने कुनै कारण छैन ।”

अब तेस्रो छोराको पालो आयो । तेस्रो छोराले भन्यो– “एक दिन म पहाडको बाटो भएर जाँदै थिएँ । भिरालो पाखोको छेउमा मैले एक जना मानिसलाई सुतिरहेको देखेँ, जो यदि ऊ आफ्नो निद्रामा एक पल्ट पनि कोल्टे फर्कियो भने, सधैँका लागि कोल्टे फेर्ने थियो । उसको जीवनलीला समाप्त हुन्थ्यो । किनकि अर्काे छेउमा ठुलो भाइ थियो । म त्यो मानिसको नजिक पुगेँ र उसलाई हेरेँ । ऊ मेरो शत्रु थियो । म चुपचाप आफ्नो बाटो लाग्न सक्थेँ ।

तर मैले त्यसो गरिनँ । ऊ मेरो प्रभावमा नपरोस् भनेर भुइँमा घिस्रिएर बिस्तारै उसको नजिक पुगेँ । मलाई के थाहा थियो भने त्यो मानिस खराब छ । मैले उसलाई बचाए पनि उसले मलाई गाली गर्नेछ । मैले उसलाई हल्लाएँ र बिस्तारै उठाएँ । उसलाई बचाएँ । तर आज त्यो मान्छे गाउँमा मेरोविरुद्धमा बोल्दै हिँडेको छ । किनभने ऊ भन्दै हिँडेको छ कि– म त्यहाँ मर्न मात्र गएको थिएँ । त्यहाँ पनि उसले मलाई पछ्यायो । यसले बाँच्न त दिएन दिएन, मर्न पनि दिएन ।”

राजा भन्छन्– “तिमीले यी दुईले भन्दा राम्रो काम गरेका छौ तर यो पनि परोपकार होइन । किनभने तिमी ठुलो काम गरेकोमा गर्वले भरिएका छौ । जब तिमी बोलिरहेका हुन्छौ, तिम्रो आँखा चम्किन्छ । तिमीले यो भनिरहँदा तिम्रो छाती गर्वले फुलिरहेको छ । जुन कार्यले अहङ्कार ल्याउँछ, त्यो परोपकार होइन । तिमीले साह्रै सूक्ष्म मार्गबाट अहङ्कारलाई आफूभित्र भरेका छौ । तिमी सोचिरहेका छौ कि तिमी बडो धार्मिक र परोपकारी हौ । तिमी यी दुईभन्दा त उत्कृष्ट हौ ।

तर यो राज्यको राजा बन्न चौथो मान्छे खोज्नुपर्छ । जब तिमी परोपकार गर्छु भनेर गर्छाै, तब तिमी केही गर्न सक्दैनौ । किनकि जसलाई आफूको हुँ भन्ने नै थाहा छैन भने उसले परोपकार कसरी गर्न सक्छ ? तिमीहरूले सोचिरहेका हौला कि मैले यतिका ठुलो काम गरेँ । तर तिमीले गहिरिएर आफूभित्र हेर्‍यो भने कहीँ न कहीँ आफूभित्र त्यो कामका लागी अहङ्कारले भरिएको पाउनेछौ । अनि त्यही अहङ्कारले तिमीलाई सेवा गर्न उत्प्रेरित गर्छ । तिम्रो अहङ्कार सेवाले भरिन्छ भने, सेवा पनि शोषण हो । आत्मज्ञानभन्दा पहिला कोही पनि व्यक्ति परोपकारी हुन सक्दैन । किनभने स्वयंलाई न चिनीकन यति ठुलो क्रान्ति हुन सक्दैन् ।

रमा दुलालले यो ओशो प्रवचन–शिव सूत्र–१ हिन्दीबाट नेपालीमा अनुवाद गरेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा दुलाल
रमा दुलाल
लेखकबाट थप