आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
सन्दर्भ : अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस

‘हाम्रा श्रमिकको श्रम शोषण गर्ने राष्ट्र झन्झन् शक्तिशाली हुँदै गए’

हामी सस्ता, अदक्ष आप्रवासी उत्पादन गर्ने कारखाना हौँ : डा. मिना पौडेल
सोमबार, ०२ पुस २०८०, ११ : ४३
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । विश्वभर २८ करोड मानिसहरू आप्रवासी छन् । अर्थात् उनीहरू आफ्नो देश छाडेर अरूको देशमा काम गर्दै आएका छन् । नेपालबाट ठ्याक्कै यतिको सङ्ख्यामा वैदेशिक रोजगारीमा छन् भन्ने यकिन तथ्याङ्क छैन । तर, ४० लाखको हाराहारीमा नेपाल बाहिर रहेको विश्वास गरिन्छ । 

वैदेशिक रोजगार विभागको तथ्याङ्क हेर्ने हो भने गत वर्ष मात्रै ७ लाख ७१ हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्ने हो भने पनि २४ लाख युवा विदेशिएका छन् ।

विश्वभर आप्रवासीको सङ्ख्या प्रत्येक वर्ष बढ्दो क्रममा छ । नेपालमा समेत वर्षेनी यो सङ्ख्या बढिरहेको छ । वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । त्यसबाट निम्त्याइएका समस्या पनि उक्तिकै बढिरहेका छन् । एकातिर ठगीका घटना बढिरहेका छन्, अर्कोतिर सम्बन्धित देशमा समस्यामा परेका घटना पनि उत्तिकै छन् । 

यता स्वदेशमा देखिएका सामाजिक, आर्थिक तथा पारिवारिक विचलनका घटनाको पनि कुनै हिसाबकिताब नै छैन । नेपालबाट दैनिक २ हजारको हाराहारीमा विदेश जान्छन् । त्यस्तै दैनिक तीन जनाको शव नेपाल आउँछ । त्यस्तै सङ्ख्यामा अंगभंग तथा बिरामी भएर स्वदेश फर्किने गरेका छन् । 

एकातिर वैदेशिक रोजगारीले निम्त्याएका समस्या दिनप्रति बढिरहेका छन् भने अर्कोतिर विदेश नगई घरमा चुलो बल्न नसक्ने अवस्थामा पनि धेरै छन् । विश्वभर आप्रवासनलाई व्यवस्थित गर्ने, मर्यादित बनाउन कुरा वर्षौँदेखि चर्चामा छ । तर, त्यो हुन सकिरहेको छैन । 

नेपालको हकमा भन्नुपर्दा नेपालसँग अहिलेसम्म आप्रवासन नीति त छैन । आप्रवासन भनेको के हो भन्ने नेपालको आफ्नो परिभाषा छैन । जसले गर्दा नीति पनि बन्न सकिरहेको छैन । 

सोमबार अर्थात् विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदैछ । दिवसको अवसरमा नेपालसहित विश्वभर नै विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । नेपालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित सरोकारवाला निकायहरूले यो दिवस साताव्यापी रूपमा नै मनाउँदैछन् । यसै सन्दर्भमा रातोपाटीकर्मी कृष्णसिंह धामीले श्रम विज्ञ डा. मिना पौडेलसँग कुराकानी गरेका छन् । 

  • नेपालमा आप्रवासनको अवस्था के कस्तो छ ? यसलाई दक्षिण एसियाका अन्य मुलुकसँग कसरी तुलना गर्न सकिन्छ ? 

नेपालमा आप्रवासनको अवस्था समस्याग्रस्त छ, जुन बंगलादेश, पाकिस्तान, भारतको जनसङ्ख्या हेर्दा पनि उस्तै हो । किनभने अधिकांश युवा १८ देखि ४० वर्षसम्मका युवाहरू बाहिर जाने तरखरमा नै छन् । 

सङ्ख्यामा भन्दा प्रवृत्तिमा जाँदा दक्षिण एसिया आप्रवासी श्रमिक उत्पादनको कारखाना हो । दक्षिण एसियाको राजनीतिक पद्धतिहरूलाई व्यवस्थित गर्न सकिएको छैनन् । हाम्रो अर्थनीति पनि उद्योगमा आधारित छैनन् । पुँजीवादी व्यवस्था भएर, लोकतान्त्रिक व्यवस्था भएर पनि हाम्रा अर्थनीतिहरू सामन्ती प्रवृत्तिका छन् । 

त्यो पुँजीवादी व्यवस्थामा पनि रूपान्तरण हुन नसकेको, कृषिजन्य र मुखियाद्वारा गरिने कृषि प्रणालीबाट निस्किएर बिचमा अड्किएको दलाल पुँजीवादी व्यवस्था भन्छु म । दलालहरूले नियन्त्रण गरेको बजार, ठगहरूले नियन्त्रण गरेको बजार त्यसपछि दूर दृष्टि नभएको हाम्रो राजनीतिक नेतृत्व । नेपालमा मात्र नभई पुरै दक्षिण एसियामा यस्तै छ । 

हामीले राजनीतिक परिवर्तन ग¥यौँ । खुला अर्थनीति अपनायौँ । तर, त्यसलाई व्यवस्थापन गर्न, त्यसलाई माटो अनुसार परिस्थितिमा ढाल्न सकेनौँ । त्यसले गर्दा के भयो भने लथालिङ्ग, छताछुल्ल, अव्यवस्थित भद्रगोल भयो । जुन युवा हो, श्रम शक्तिको हो राष्ट्र निर्माणमा लगाउनुपर्थ्यो, त्यो लगाउने रणनीति नभएपछि राजनीतिक पद्धतिले बाहिर पनि अवसर छ है भनेर निर्देश गरेको छ । म यही गर्छु बाहिर जान्न भनेर अघि बढ्यो भन्ने जमात साघुँरिदै गएको छ । यस्तो अवस्था भयो भने तपाईं के गर्नुहुन्छ ? त्यो अवस्थामा झोला बोकेर हिँड्ने हो । 

हामी भनेको सस्ता, शोषण गर्न सजिलो अदक्ष आप्रवासी उत्पादन गर्ने कारखाना हौँ ।

दक्षिण एसियाको कुरा गर्दा त्यस्तो छ । त्यही माथितिर चाइनाको कुरा गर्ने हो भने मानव विकास स्थिति निकै राम्रो छ । पढ्न जानुभयो भने फर्केर आएपछि कुन उद्योग कलकारखानामा काम गर्ने भनेर तयारी छ । मानव स्रोतलाई आगामी ५० वर्षमा कसलाई कहाँ प्रयोग गर्ने भन्ने उनीहरूको रणनीति छ । हाम्रो त त्यस्तो छैन । त्यसैले दक्षिण एसिया कमजोर छ । दक्षिण एसिया जटिल भूभाग हो । त्यसमा नकारात्मक प्रकृतिले जकडिएको समाज हो । 

त्यसैले हामी भनेको सस्ता, शोषण गर्न सजिलो अदक्ष आप्रवासी उत्पादन गर्ने कारखाना हौँ । यसो भनिरहँदा पश्चिम एसियाबाट पनि आप्रवासनमा जान्छन् । लाओस्, कम्बोडिय, इन्डोनेसिया, थाइल्यान्ड, बर्मा आदीबाट पनि जान्छन् । आफूभन्दा अलि सम्पन्न देशमा जान्छन् । तर, हाम्रो जस्तो लथालिङ्ग अवस्था छैन । , इण्डोनेसिया, थाइल्यान्ड, बर्मा आदीबाट पनि जान्छन् । आफूभन्दा अलि सम्पन्न देशमा जान्छन् । तर, हाम्रो जस्तो लथालिङ्ग अवस्था छैन । 

  • नेपालीहरू वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कहिलेसम्म रहन्छ ? 

अहिलेको नेपालको राजनीतिक अवस्था जहिलेसम्म रहन्छ, त्यही बेला सम्म वैदेशिक रोजगारीमा जाने अवस्था रहन्छ । अब यो बन्द हुने त सम्भावना नै छैन । किनभने संसार तीन कुराले चलाएको छ । एउटा प्रविधि र सूचनाले, अर्को भनेको बजार र त्यसपछि भनेको शिक्षा हो । यी तीन कुराले संसार चलिरहेको छ । यी तीन कुराले जहाँ जति राम्रो छ, त्यहाँ आप्रवासन राम्रो चलिरहेको छ । यी तीन कुरा जहाँ व्यवस्थित हुन सकेको छैन, त्यहाँको आप्रवासन हाम्रो जस्तै भद्रगोल छ । 

अहिलेको प्रविधि र सञ्चारको विकासलाई रोक्न सकियो भने आप्रवासन कम होला । नत्र रोकिने वाला छैन । जुन सम्भव नै छैन । अहिलेको पुँजीवादी बजार जसरी विस्तार भइरहेको छ त्यसलाई रोक्न सकियो भने बाहिर सम्भावना कम भएर भित्र बस्लान् । तर, त्यो पनि सम्भावना छैन । बजार झन् झन् विस्तार हुँदैछ, झन् झन् जटिल हुदैछ । मनपरीतन्त्र बढ्दैछ । 

अर्को भनेको शिक्षाका अवसरहरूलाई रोक्न सकिँदैन । त्यसैले यी तीन कुराले संसार हाँकिरहेको भएर आप्रवासन रोकिँदैन । हिजो पनि रोकिएको थिएन, आज पनि रोकिँदैन, भोलि पनि रोकिनेवाला छैन । तर, यसलाई गर्ने भनेको व्यवस्थापन हो । जति व्यवस्थापन गर्न सकियो त्यति धेरै आर्थिक, सामाजिक, तथा सांस्कृतिक फाइदा लिन सकिन्छ । आप्रवासीलाई न्याय दिन सकिन्छ । आप्रवासीलाई सहज तरिकाले सहजीकरण गर्न सकिन्छ । व्यवस्थित गर्न सकिएन भने शोषण, अन्याय, अत्याचार बढ्दै जानेछ । भद्रगोल बढ्दै जान्छ । यो रोक्ने र नरोक्ने कुरा नै हुँदैन, यसलाई व्यवस्थापन गर्ने कुरा मात्र हो । 

  • पुरै भद्रगोल रहेको वैदेशिक रोजगारी तथा आप्रवासनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? 

व्यवस्थापन गर्न जोडिने भनेको राजनीतिक दृष्टिकोण हो । आफ्नो देशका नागरिकको स्वतन्त्रता, बाहिर गएर काम गर्न पाउने आफ्ना नागरिकको अधिकारलाई राज्यले कसरी लिन्छ ? कसरी सहजीकरण गर्छ ? कसरी व्यवस्थित गराउँछ ? कसरी सम्मानित गराउँछ भन्ने कुरा हो । 

त्यो गर्ने भनेको स्वाभाविकै रूपमा राजनीतिक दृष्टिकोणले निदृष्ट गरेको नीति हुनुप¥यो । आप्रवासनसम्बन्धी नीतिहरू हुनुपर्छ । आप्रवासन रोक्नु भनेको आन्तरिक राजनीतिक अस्थिरता निम्त्याउनु हो । सामाजिक अपराधहरू निम्त्याउनु हो । त्यसका कारण यसलाई रोक्न त सम्भव नै छैन । यसलाई व्यवस्थापन गर्नु मात्रै हो । व्यवस्थापन गर्नलाई समय सुहाउँदो आप्रवासीलाई सुरक्षित, व्यवस्थित र सम्मानित गराउने नीति ल्याउनु हो । जुन कुरा हाम्रो लागि सबैभन्दा खट्केको विषय हो । 

  • सामाजिक आर्थिक कुरा गर्नुभयो । आप्रवासनले आर्थिक अवस्थामा सुधार भएको होला । तर, यसले हाम्रो सामाजिक तथा पारिवारिक संरचनामा प्रभाव पारिरहेको छ । यसलाई कसरी व्यवस्थित गर्ने ? 

समाज परिवर्तनशील छ । समाजमा हिजो जुन असन्तुलित शक्ति संरचना थियो, त्यही कायम हुनुपर्छ भनेर बस्नु हुदैन । स्वाभाविक रूपमा आप्रवासन नभएपछि समाज परिवर्तन हुन्थ्यो । तर, परिवर्तनको कुन दिशामा गइरहेको छ त्यो महत्त्वपूर्ण कुरा होला । अहिलेको स्थितिको कुरा गर्दा हो, आप्रवासनले गर्दा थुप्रै राम्रा कुराहरू सामाजिक, आर्थिक तथा सांस्कृतिक पुँजीहरू भित्र्याएका छौँ । तर, कतिपय सवालहरूमा परिवार विखण्डनका कुराहरू, परिवार गुमाउने दुखद कुराहरू भएका छन् । 

पैसा आइरहेको छ । रेमिट्यान्स आइरहेको छ भन्ने हाम्रो सोच छ । तर, त्यो पैसा पठाउने, ल्याउने मान्छेहरूको जिन्दगी कसरी गइरहेको छ ?

हामीले आप्रवासनलाई समयानुकूल व्यवस्थापन गर्न नसकेर यो घटनाहरू भइरहेका छन् । अहिले आप्रवासनलाई राजनीतिक नेतृत्वले व्यवस्थापन गरेका छैनन्, वैदेशिक रोजगार दलालहरूले व्यवस्थापन गरेका छन् । दलालहरूले व्यवस्थापन गर्दा के हुँदो रहेछ भने उनीहरूले जति सकिन्छ निचोर्छन् । त्यस्तो हुँदा ठगी हुने, तस्करी हुने, बेचबिखन हुने गर्छ । आप्रवासनप्रति नकारात्मक चेतना, नकारात्मक दृष्टिकोण बढिरहेको छ । 

आप्रवासनलाई सुरक्षित र मर्यादित बनाउन नसक्दा विभिन्न दुर्घटना हुने, त्यसको क्षतिपूर्ति नहुने, हामी फेरी आप्रवासन पठाउने देश भएकाले हामी विश्व श्रम बजारमा कमजोर अवस्थामा छौँ । विश्व बजारलाई चाहिने एउटा कुरा छ तर, हामीलाई पठाउनुपर्ने सबैभन्दा ठुलो छ । हामीलाई नपठाई भाको छैन । हामीलाई जति सकिन्छ धेरै पठाउनुपर्ने छ । 

पैसा आइरहेको छ । रेमिट्यान्स आइरहेको छ भन्ने हाम्रो सोच छ । तर, त्यो पैसा पठाउने, ल्याउने मान्छेहरूको जिन्दगी कसरी गइरहेको छ ? तिनका परिवारको मनोविज्ञान कुरा के छ ? तिनलाई राज्यले गर्नुपर्ने सुरक्षा, सम्मान, व्यवस्थापन भएको छ कि छैन ? भन्ने कुराहरू आउँछन् । 

हरेक कुराका सकारात्मक नकारात्मक कुरा त हुन्छन् । तर, श्रम कूटनीति गरेर आफ्ना युवाहरूलाई कहाँ काम गर्दैछन्, त्यो गन्तव्य बजारको कतिको सुरक्षित बनाउनुभएको छ भन्ने कुरामा भर पर्छ । 

तिनले कमाएको पैसा, तिनले आर्जन गरेको ज्ञान, तिनले ल्याएको अनुभवलाई कसरी समाज परिवर्तन, उसको परिवारको रूपान्तरण, उसको गाउँघरको रूपान्तरण, राज्यकै रूपान्तरणमा कसरी लगाउनुभएको भन्ने कुरामा भर पर्छ । जुन हामीसँग कुनै पनि योजना छ । न व्यवस्थित रूपले पठाउने योजना छ । न गन्तव्य ठाउँमा श्रम गर्दा उनीहरूको सुरक्षाको योजना छ । न उनीहरू फर्केर आइसकेपछि उनीहरूले ल्याएको जाँगर, सीपको सदुपयोग गर्ने योजना छ । यस्तो भएन भने के हुन्छ भन्दा दलालको हातमा जान्छ, अव्यवस्थित हुन्छ । राज्यको पकडभन्दा बाहिर जान्छ । राज्यको पकडभन्दा बाहिर गएपछि के हुन्छ भन्दा यस्तै नकारात्मक घटना हुन्छन् । 

  • हामीले हाम्रो श्रमिक पठाउँदा हामी बलियो हुनुपर्नेमा हामी नै कमजोर अवस्थामा किन ? 

यसमा हाम्रो राजनीतिक नेतृत्वलाई आजको एक्काइसौ शताब्दीको युगमा फस्टाएको आप्रवासन कस्तो हुनुपर्छ ? के हो भन्ने कुरा हाम्रो राजनीतिक प्रष्ट छ भन्नेमा शंका छ । प्रष्ट छैन नै भन्छु । किनभने उहाँहरूले बोल्ने कुरा सुन्दा प्रष्ट हुनुहुन्न भन्ने पुष्टि गर्न सकिँदैन । 

हाम्रा राजदूतहरूलाई के काम गर्ने भन्ने नै जानकारी छैन । आप्रवासन के हो र त्यसलाई कसरी लागू गर्ने भन्ने नहुँदा हाम्रा राजदूतहरू पनि जहाँ जे पर्छ त्यहाँ गएर त्यही काम गर्दै आएका छन् । 

अर्को कुरा भनेको हाम्रो स्थायी सरकार अर्थात् काम गर्नुपर्ने कर्मचारी प्रशासन समेत प्रष्ट छैन । आप्रवासन नीतिप्रति कोही पनि प्रष्ट छैन । अहिलेको अवस्थामा आप्रवासन नीति के हो ? भन्ने प्रश्नको जवाफ नै आउँदैन । खाली श्रम मन्त्रालयले छाप लगाएर दलाललाई पैसा तिरेर विदेश उड्नु मात्रै आप्रवासन हो त ? अथवा महिलाहरूलाई सरकारले जान दिएर रोक लगायो, भारतको बाटो हुँदै गए त्यो आप्रवासन हो त ? अथवा वर्षौँदेखि १९५० को सन्धिले भारतमा गएर काम गर्छन्, भारतीय यहाँ आएर काम गर्छन् ? त्यो के आप्रवासन हो त ? अहिलेको अवस्थामा हाम्रो आप्रवासनको परिभाषा के हो त्यो छैन । त्यो नहुँदा त्यो परिभाषाको मर्मलाई बुझेर लागू गर्ने नीति छैन । 

हाम्रा राजदूतहरूलाई के काम गर्ने भन्ने नै जानकारी छैन । आप्रवासन के हो र त्यसलाई कसरी लागू गर्ने भन्ने नहुँदा हाम्रा राजदूतहरू पनि जहाँ जे पर्छ त्यहाँ गएर त्यही काम गर्दै आएका छन् । 

आप्रवासीले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र थेगिएको छ । तर, कानुनी र राजनीतिक रूपमा आप्रवासनको परिभाषा छैन । त्यो नहुनुको पछाडि नीति निर्माण गर्ने राजनीतिकै हो । 

मध्यपूर्वतिर लगेर मान्छे बेच्छे । अहिले रसियामा लगेर पनि तस्करी गरिरहेका छन् । अझै पनि समयमै समेत हुन सकेनौ भने भयावह अवस्था आउँछ । व्यवस्थित रूपमा परराष्ट्र नीति, श्रम नीति, लैंगिकसम्बन्धित नीति, विभिन्न देशहरूसँग गर्ने कूटनीतिलाई परिमार्जित गर्दै एकीकृत रूपमा खाका बनाएनौ भने विकृति बढ्दै जान्छ । हामी कमजोर हुँदै जान्छौँ, हाम्रा श्रमिकको श्रम शोषण गरेर असमान ज्यालामा काम लगाउने राष्ट्रहरू झन् शक्तिशाली हुँदै जान्छन् । हामी झन् झन् कमजोर हुँदै जान्छौँ । हामी कमजोर हुनु भनेको उनीहरू थप शक्तिशाली र हामी पछि पर्नु हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप