शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
बेथितिको नमुना नोना कोइराला प्रतिष्ठान

करोडौँ बजेट सकियो, सकिएन भवन निर्माण

शेखर कोइराला संरक्षक रहेको नोना कोइराला मिडिया कलेजको कोठामा वर्षौँदेखि ताल्चा
सोमबार, ०२ पुस २०८०, ०९ : १३
सोमबार, ०२ पुस २०८०

विराटनगर । विराटनगर–४ इक्राहीमा रहेको नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा सञ्चालित नोना कोइराला मिडिया कलेजको भवनको भित्तामा १३ हरफमा लेखिएको एउटा कविता फ्रेममा झुन्ड्याइएको छ । उक्त कविताको अन्तिम चार लाइन यस्तो छ :

‘तस्बिर हेरी टोलाइरहन्छौँ
अब त तिम्रो झझल्को मात्र रह्यो
ढल्न लागेको रुख भएझैँ भयो
मायाको डोरीले खिचिराख्ने कहाँ गयौ ?’

Nona (8)

उक्त कविता उमा शर्माले कोइराला निवासमै लेखेकी हुन् । शर्माले त्यसबेला नोना कोइरालालाई सम्झँदै लेखेको यो कविताको हरफ अहिले नोनासँगै मिडिया कलेजको विषयमा पनि उपर्युक्त छ । आखिर नोना कोइराला मिडिया कलेजको पनि झझल्को मात्रै छ, ‘मायाको डोरीले खिचिराख्ने कहाँ गयौँ ? ।’ 

प्रतिष्ठानको भवन एक तले बनेको छ । जापान सरकारको सहयोगमा १ करोड २१ लाखमा बनेको उक्त भवन रहनु बाहेक प्रतिष्ठान सुनसान छ । प्रतिष्ठानको बोर्ड चम्किलो देखिन्छ तर, मिडिया कलेजको बोर्ड मधुरो छ । उक्त बोर्ड नदेखिने गरी ठुलो भवनको पछाडि सानो भवनमा झुन्ड्याइएको छ । 

Nona (7)

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर चलाउन सुरु गरेको कलेज तीन समेस्टर चल्यो । त्यहाँ भर्ना भएका कोही पनि विद्यार्थीले त्यही कलेजबाट उत्तीर्ण हुन पाएनन् । उत्तीर्ण हुनै नपाई कलेज बन्द गरियो । ‘कलेज बन्द भएको ७ वर्ष भयो । तर, सम्बन्धन चाहिँ शेखर कोइराला संरक्षक भएकाले खारेज गर्ने आँट पूर्वाञ्चल विश्वविद्यालयले अहिलेसम्म गरिहाल्न सकेको छैन,’ प्रतिष्ठानबारे जानकार एक काँग्रेस नेता भन्छन् । 

त्यसयता कसैले पनि कलेज खोल्ने चासो दिएको छैन । बरु स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट करोडौँको बजेट नोना कोइराला स्मृति प्रतिष्ठानको नाममा बर्सेनि गइरहेको छ । आजभोलि हरेकजसो मञ्चहरूमा काँग्रेस नेता डा. शेखर कोइराला राजनीतिक संरक्षणमा भ्रष्ट्राचार बढेको भन्न छुटाउँदैनन् । तर, उनै संरक्षक रहेको प्रतिष्ठानको हविगत भने टिठ लाग्दो छ । 

राजनीतिक संरक्षणमा भ्रष्ट्राचार भइरहेको कोइरालाको भनाइमा सत्यता नभएको होइन । राजनीतिक शक्तिको प्रभावमा सरकारी बजेट ल्याउने र दुरुपयोग गर्ने नभइरहेको पनि होइन । तर, चर्का भाषण गर्ने कोइराला नै नेतृत्वमा रहेको प्रतिष्ठानले करोडौँ बजेट सकेर थला परेको छ । 

Nona (9)

विराटनगर–४ मा रहेको नोना कोइराला स्मृति प्रतिष्ठान र विराटनगर–६ मा रहेको नोना कोइराला स्मृति सामुदायिक भवनको नाममा मात्र पछिल्लो पाँच वर्षमा तीनै तहका सरकारबाट ५ करोड रुपैयाँ भन्दा बढी बजेट खर्च भइसकेको छ । तर प्रतिष्ठानको भवन अहिले पनि अधुरै छ । दुवै भवन डा. कोइरालाको निर्वाचन क्षेत्रमा छ । बनेको एक तल्ले भवन पनि पूर्णतः उपयोगविहीन छ । 

२०६४ सालमा स्थापना भएको प्रतिष्ठानले के कति खर्च गर्‍यो भन्ने यकिन विवरण अझै पाउन मुस्किल छ । किनकि प्रतिष्ठानलाई रकम दिने निकाय एउटा मात्रै छैनन् । यद्यपि २०७२ सालयता देखिएका विवरणहरूमा खर्च मनग्ये भएको पाइन्छ । 

प्रतिष्ठानको नाममा २०७२ सालमा संघीय सरकारले ५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त रकम मध्ये भवन निर्माणका लागि १ लाख र कलेज सञ्चालनका लागि भन्दै ४ लाख २० हजार रुपैयाँ उपलब्ध गराइएको थियो । 

विराटनगर महानगरपालिकाले २०७४/७५ को बजेटमा प्रतिष्ठानलाई ३ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसपछि २०७६/७७ मा महानगरले नोना कोइराला ट्रस्टको नाममा ५० लाख रुपैयाँ उपलब्ध गरायो । २०७७/८८ मा नोना कोइराला स्मृति भवनको नाममा ४८ लाख ५० हजार, ट्रस्टको नाममा ९ लाख ३३ हजार ३०२, नोना कोइराला स्मृति सचेतना कार्यक्रमका नाममा ७ लाख रुपैयाँ र संघ संस्था पुँजीगत योजना अन्तरगतबाट स्मृति भवन निर्माणका लागि थप ३० लाख रुपैयाँ गरी ९४ लाख ८३ हजार रुपैयाँ भन्दा बढी बजेट उपलब्ध गराएको थियो ।  

महानगरले आर्थिक वर्ष २०७९/८० मा फेरि नोना कोइराला प्रतिष्ठान भवन निर्माणका लागि ५७ लाख ५० हजार रुपैयाँ उपलब्ध गरायो भने अघिल्लो वर्ष योजनामा समावेश नभए पनि तोक आदेशमा काम गरेको भन्दै  प्रतिष्ठानले ७३ लाख २ हजार ९३५ रुपैयाँ भुक्तानी लियो । 

Nona (5)

आर्थिक वर्ष २०७९/०८० मा उक्त प्रतिष्ठानलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने चालू आर्थिक वर्ष २०८०/८१ मा नोना कोइराला स्मृति सामुदायिक भवन फेरि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

नोना कोइराला स्मृति प्रतिष्ठान, स्मृति ट्रस्ट, स्मृति सामुदायिक भवन र बेलाबखत सचेतना कार्यक्रमको नाममा मात्र पछिल्लो पाँच वर्षमा सरकारहरूबाट ५ करोड रुपैयाँ भन्दा बढी बजेट खर्च भइसकेको तथ्याङ्क देखिन्छ । 

प्रतिष्ठानको नाममा मनपरी सामुदायिक भवन

यस्तै विराटनगरमा कोइराला परिवारको नाममा बजेट छुट्याउने र खर्च गर्ने चलन यतिमा मात्रै सीमित छैन । गिरिजाप्रसाद कोइराला फाउन्डेसन, सुशील कोइराला फाउन्डेसन, कृष्णप्रसाद कोइराला सामुदायिक भवन, विपी कोइराला सेवा केन्द्र सामुदायिक भवन, सुशील–विश्वेश्वर स्मृति भवन र विप कोइराला सामुदायिक भवनको नाममा पछिल्लो पाँच वर्षमा विराटनगर महानगरपालिका र प्रदेश सरकारले करिब ९ करोड रुपैयाँ खर्च गरेका छन् । 

आर्थिक वर्ष २०७६/७७ सालमा विराटनगर महानगरपालिकाले गिरिजाप्रसाद कोइराला फाउन्डेसनको भवन निर्माण, सङ्ग्राहलय निर्माण र दायित्व भुक्तानीको नाममा ५९ लाख ९३ हजार रुपैयाँ उपलब्ध गराएको थियो । सो फाउन्डेसनले २०७७/७८ मा २० लाख, २०७९/८० मा फाउन्डेसनका लागि ४५ लाख ७५ हजार, भवन निर्माणका लागि ३८ लाख ७५ हजार र पुस्तक प्रकाशनका लागि भन्दै थप ५ लाख रुपैयाँ गरी १ करोड ९ लाख रुपैयाँ  बजेट महानगरबाट प्राप्त गरेको थियो । त्यस्तै सोही वर्ष अघिल्लो वर्षको भुक्तानी भन्दै महानगरले प्रतिष्ठानलाई २६ लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको थियो । यस्तै चालु आर्थिक वर्ष २०८०/८१ मा महानगरले जिपी फाउन्डेसनले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

Nona (10)

यसबाहेक सुशील कोइराला फाउन्डेसनको नाममा यस अवधिमा १ करोड ३२ लाख रुपैयाँ बजेट खर्च भएको छ । उक्त फाउन्डेसनले विराटनगर ८ मा भवन निर्माण गरिरहेको छ । यस्तै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा विराटनगर ४ मा चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनियोजन भएको छ भने संघीय सरकारको सशर्त अनुदानमार्फत उक्त प्रतिष्ठानमा झन्डै दुई करोड रुपैयाँ बजेट निकासा भइसकेको छ । 

प्रदेश सरकारले विप कोइराला सामुदायिक भवनका लागि आर्थिक वर्ष २०७८/७९ मा १ करोड ३० लाख, विप कोइराला सेवा केन्द्र सामुदायिक भवनको नाममा ५० लाख, र २०७९/८० मा विप कोइराला सेवा केन्द्र सामुदायिक भवनको नाममा १ करोड रुपैयाँ बजेट उपलब्ध गराइसकेको छ । त्यसबाहेक प्रदेश सरकारबाट सुशील–विश्वेश्वर स्मृति भवनको नाममा आर्थिक वर्ष २०७९/८० मा १ करोड बजेट विनियोजन भएको थियो भने चालु आर्थिक वर्ष २०८०/८१ मा १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको थियो ।     

जुन ठाउँमा फाउन्डेसन र सामुदायिक भवनहरू निर्माण भएका छन् छेउछाउका बस्तीका बासिन्दाहरू वर्षौँदेखि कच्ची सडक धूलो र हिलोमा हिँड्न बाध्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप