सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

हरित विद्यालय कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर

आइतबार, ०१ पुस २०८०, २२ : ५१
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । राष्ट्रियसभा गृहमा इको मेला सम्पन्न भएको छ । शनिवार वन्यजन्तु संरक्षण सङ्घ नेपालसँगको सहकार्यमा आयोजना गरिएको सो मेला सम्पन्न भएको हो । 

हरित विद्यालय कार्यक्रम र अन्य पहलहरू सञ्चालन गर्न महानगरपालिकाले संरक्षण सङ्घसँग समझदारी पत्रमा हस्ताक्षर समेत गरेको छ । मेलामा सामुदायिक विद्यालयहरूले वातावरण संरक्षण र हरियाली प्रवर्धनका लागि गरेका प्रयासहरू प्रदर्शन गरिएका थिए । मेला आयोजना गर्न नर्थ अमेरिकन एसोसिएसन फर इन्भारोमेन्ट एजुकेसनले सहयोग गरेको थियो । 

मेलाको उद्घाटन सत्रमा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले, प्रयोगात्मक शिक्षा नै जीवन उपयोगी हुने बताउँदै विद्यालय उमेरका बालबालिकालाई व्यवहारिक ज्ञान र सिप दिने नीतिअनुरूप महानगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारमा काम गरिरहेको बताइन् ।

‘सिक्नु र सिकेको सिप प्रयोग गर्नु फरक फरक कुरा हुन् । सिकेको कुरा प्रयोगमा ल्याउन सक्ने क्षमता विकास भयो भने मात्र सिकाइ प्रभावकारी हुन्छ । यसका लागि हामीले काम गरिरहेका छौँ । यस्ता धेरै कार्यक्रममध्ये वातावरण संरक्षणको व्यवहारिक ज्ञान दिने कार्यक्रम हरित विद्यालय कार्यक्रम हो ।’ डङ्गोलको भनाइ थियो । कार्यक्रममा उनले ६ वटा नमुना हरित विद्यालयका प्रधानाध्यापक, सम्पर्क शिक्षक र विद्यार्थीहरुलाई पुरस्कार र सम्मान पत्र प्रदान गरेकी थिइन् । 

यस सत्रमा नमुना हरित विद्यालय कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । महानगरपालिका भित्रका दरबार हाइस्कूल, रानीपोखरी, कन्या मन्दिर हाइस्कूल, क्षेत्र पाटी, नेपाल युवक मावि., पकनाजोल, शान्ति निकेतन मावि, वसन्तपुर,  महेन्द्र भवन आवासीय मावि, ज्ञानेश्वर र पद्मोदय मावि, पुतलीसडक गरी ६ वटा विद्यालयमा नमुना कार्यक्रम सञ्चालन भइरहेका छन् ।

शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्छन्, ‘सिकाइका लागि यी विद्यालयमा नमुना कार्यक्रम चलाएका हौँ । यसलाई सबै विद्यालयमा पुर्याउँछौँ । सबै विद्यालयलाई हरित र सुन्दर विद्यालय बनाउँछौँ ।’

प्रदर्शनीमा विद्यार्थीहरूले आफूले गरेको कल्पनाका आधारमा विद्यालयलाई कसरी हरित विद्यालय बनाउन सकिन्छ भन्ने धारणा प्रस्तुत गरेका थिए । 

दोस्रो सत्रमा हरित विद्यालय तथा पुस्तकरहित शुक्रवारका लागि शिक्षक अभिमुखीकरण कार्यक्रम गरिएको थियो । यस सत्रमा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षक गरी ३ सय जनाको सहभागिता थियो । 

महानगरपालिकाले २१ औँ शताब्दी अनुकूल शैक्षिक क्रियाकलाप र उपलब्धिका लागि काम गरिरहेको छ । कार्यक्रममा सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले भने, ‘पुस्तकरहित शुक्रवार, हरित विद्यालय, सुन्दर विद्यालय यसका बिम्ब कार्यक्रम हुन् । यस्ता कार्यक्रम चलाउन तथा दिगो बनाउन महानगरपालिकाले विद्यालयहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ ।’ 

वर्तमान र भविष्यका वातावरणीय समस्याहरूसँग जुध्न विद्यार्थी, विद्यालय र सम्पूर्ण शिक्षा प्रणाली आज तयार हुनुपर्ने भएको छ । कार्यक्रममा संरक्षण सङ्घ नेपालकी निर्देशक सञ्जीवनी योञ्जनले भनिन्, ‘हरित विद्यालय कार्यक्रम यसका लागि एउटा सशक्त माध्यम बन्न सक्छ । यसलाई देशव्यापी बनाउन हामी तत्पर छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप