भारतमा गल्फ उपाधि जित्ने पहिलो नेपाली गल्फर बने सुवास

काठमाडौँ । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयु १२२ औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इन्डियाको उपाधि हात पारेका छन् ।
रोयल कलकत्ता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको ३६–होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९/७ ले पराजित गरे । पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याँउदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन् ।
सुवासको यो ऐतिहासिक सफलता हो । नेपाली गल्फरले भारतमा कुनै पनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो । चौथो सिडेड सुवास र तेस्रो सिडेड रोहितबिचको पहिलो नौ होलको प्रतिस्पर्धा रोमाञ्चक बन्यो । पहिलो होल सुवासले जिते । तर दोस्रो र आठौँ होल जित्दा भारतीय रोहितले नौ होलको समाप्तिमा एक होलको अग्रता बनाए ।
यसपछि १०औँ होल सुवासले जिते र खेललाई बराबरीमा पुर्याए । १३ औँ होलमा सुवासले अग्रता बनाए । तर १४ औँ होल फेरि रोहितले जिते । खेल बराबरीमा पुग्यो । यसपछि १५ औँ, १६ औँ र १८ औँ होल आफ्नो पक्षमा पार्दै १८ होलको खेल सकिंदा ३–अपको अग्रता बनाए ।
नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवासले त्यसपछि खेलिएको ११ होलमा एक होलमात्र गुमाए । २० औँ होलमा हार बेहोरेका उनले त्यसपछि लगातार दुई होल जित्दै आफ्नो अग्रता ४–अप पुर्याए । २४ औँ देखि लगातार ४ होल आफ्नो पक्षमा पार्दै सुवास २७ होलको समाप्तिमा ८–अपको अग्रता बनाउन सफल भए । २८औँ होल बराबरी भएपछि सुवासले २९ औँ होल आफ्नो पक्षमा पार्दै सानदार जित हासिल गरे । सन् १८९२ मा सुरुआत भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली खेलाडी हुन् ।
नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरुण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन् । सुवासको यो ऐतिहासिक सफलतामा सहयोग गर्ने संस्थाहरू राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र तरुण सरदेशाई एकेडेमीलाई नेपाल गल्फ संघले धन्यावाद दिएको छ । साथै नेपाल गल्फ संघले डिसेम्बर २१ मा अर्का एमेच्योर खेलाडी राहुल वीकलाई पनि प्रशिक्षणको लागि तरुण सरदेशाई एकेडेमीमा पठाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली
-
मार्चदेखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा अमेरिकामा कर लाग्ने