अध्यागमन अधिकृतको ‘घुस’ लिने अखडा बाल्टिक होटल, थप दुईजना पक्राउ

काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काठमाडौँबाट थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र रामेछापको दोरम्बा घर भएका ३३ वर्षीय पदम लामा छन् ।
बौद्ध बस्दै आएका मनोज निमा छिरिङ ट्राभल्सका सञ्चालक हुन् । सो ट्राभल्समा काम गर्दै आएका पदम मनोजको सालो हुन् ।
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतलाई १ करोड ‘घुस’ दिएको ट्राभल्स सञ्चालकले प्रहरीलाई बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्कालाई करिब १ करोड रुपैयाँ ‘घुस’ दिएको मनोज र पदमले बयान दिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । निमा छिरिङ ट्राभल्सको सम्पर्कमा आएका ३ सय जनालाई खड्काले ‘सेटिङ’मा विदेश जान अनुमति दिएका हुन् । भिजिट भिसामा विदेश पठाएबापत आउने कमिशन खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी सञ्चालित होटल बाल्टिक इनमा गएर लिने गरेको अनुसन्धानबाट थाहा भएको छ । मङ्सिर २६ मा होटलबाट पदम लामासँग दुई लाख बुझेर निस्केपछि उनी पक्राउ परेका हुन् ।
भिजिट भिसा प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयले वायुसेवा निगमका ३ जना अधिकृत र ७ वटा ट्राभल्सका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ गर्नेको सङ्ख्या ३४ जना पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘अब, संगठित मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव