अल्लु अर्जुनले १० करोडको विज्ञापन छाडेपछि...
हैदराबाद । दक्षिण भारतीय फिल्म उद्योगका स्टाइलिश स्टार अल्लु अर्जुनलाई मन पराउने फ्यान निकै धेरै छन् । अल्लु खासगरी साउथकै फिल्ममा खेल्छन् । तर उत्तर भारतमा पनि उनका फ्यानहरू कम छैनन् । पुष्पा हिट भएपछि अल्लु प्यान इन्डिया स्टार बनेका छन् । यति बेला अल्लु पुष्पाको दोस्रो हिस्साको सुटिङमा व्यस्त छन् ।
अल्लुका फ्यानहरू ‘पुष्पा: द रुल’ कहिले हलमा आउँला भनेर कुरिरहेका छन् । फिल्मको पहिलो भागले आक्रामक व्यापार गरेको थियो । फिल्मको दोस्रो भागले पनि राम्रो कमाई गर्ने अनुमान गरिएको छ । फिल्ममा एडे रिप्लेसमेन्टको लागि ठुलो रकम दिने गरिन्छ । तर यसैबिच अल्लु अर्जुनले पुष्पा–२ मा एउटा ठुलो ब्रान्डको डिल रिजेक्ट गरेका छन् ।
पुष्पा फ्रेन्चाइजीमा अल्लुले फिल्ममा रक्सी र चुरोटको विज्ञापन राख्ने एउटा डिल अस्वीकार गरेका हुन् । आफ्नो फिल्मबाट नराम्रा बानीहरूलाई समर्थन गर्न नचाहेको अल्लुको भनाइ छ । फिल्ममा अल्लु ‘राउडी’ को भूमिकामा छन् । तर उनी केही रेखाहरूलाई पार गर्न चाहँदैनन् । उनी तमाखु, गुट्खा र रक्सीको ब्रान्डलाई हत्तपत्त समर्थन गर्दैनन् ।
पुष्पा २ मा ऐड प्लेसमेन्टका लागि चर्चित रक्सी र पान ब्रान्डले मेकरहरुलाई अफर दिएका थिए । फिल्ममा जब जब पुष्पा राजको पात्रले रक्सी वा तमाखु खान्थे तब तब यो ब्रान्डको लोगो फ्रेममा आउँथ्यो । यसका लागि ब्रान्डले मेकरहरुलाई १० करोड भारु दिने भएका थिए । तर अल्लुले यो प्रस्ताव ठाडै अस्वीकार गरिदिए । आफ्ना फ्यानहरू माझ गलत बानीलाई समर्थन गर्न उनले नचाहेको बताइएको छ ।
अल्लुले पहिला पनि तमाखु, गुट्खा र रक्सीको ब्रान्डको टिभी विज्ञापनलाई नाई भनिसकेका छन् । पुष्पा २ सन् २०२४ को अगस्टमा रिलिज हुँदै छ । फिल्ममा रश्मिका मन्दना र फहाद फाजिल पनि छन् । फिल्म तेलुगुको साथमा हिन्दी, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ ।