शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौं खानेपानीबाट सधैं आक्रान्त

आइतबार, ०१ पुस २०८०, ०६ : ५३
आइतबार, ०१ पुस २०८०

काठमाडौं । जलस्रोतको दोस्रो धनी देशको रूपमा परिचित रहे तापनि नेपालीहरू खानेपानीको समस्याबाट आक्रान्त छन् । दुर्गम भेगको त कुरै छाडौं, काठमाडौं उपत्यकामा नै पानीको कुल मागको केवल एक तिहाई मात्र आपूर्ति हुने गरेको छ।

उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक १३ करोड लिटर पानी मात्र उत्पादन र बिक्री वितरण गर्ने गरेको छ। सुख्खा याम अर्थात् चैत र वैशाखमा पानीको उत्पादन घटेर दैनिक ११ करोड लिटरमा झर्ने गरेको छ।

त्यसमाथि भूमिगत पानीको स्रोतसमेत सुक्दै गएपछि आगामी दिनहरूमा पानीको झनै चर्को अभाव झेल्नुपर्ने अवस्था आएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

वर्षाको पानीको उपयोग र व्यवस्थापनमा काम गर्दै आएको संस्था स्मार्ट वास सोलुसनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी पानी विज्ञहरूले खानेपानी संस्थानले राजधानीबासीको खानेपानीको मागलाई सम्बोधन गर्न नसक्ने बताउँदै वर्षाको पानी संकलन गरी उपयोग गर्नु नै उत्तम विकल्प हुने धारणा अघि सारेका छन् ।

झण्डै तीन दशकअघिदेखि मेलम्चीको पानीको आसमा रहेका काठमाडौंबासीले राजनीतिक नेतृत्वको असक्षमताका कारण अझै केही वर्ष सहज रूपमा मेलम्चीको पानी उपभोग गर्ने वातावरण नरहेको ती पानी विज्ञहरूले बताए। त्यतिमात्रै होइन, उनीहरूले मेलम्चीको पानी यसअघि भनिए झैं गरी राजधानीमा नआउने ठोकुवा पनि गरेका छन्।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक ई।रमेश मास्केले खानेपानी प्रणालीको इन्जिनियरिङमै समस्या रहेको जिकिर गर्दै विद्यमान प्रणालीबाट खानेपानीको समस्या समाधान नहुने ठोकुवा गरे ।

उनले मेलम्ची पानी काठमाडौं ल्याउन इन्जिनियरिङको दृष्टिकोणले खासै ठूलो समस्या नरहेको तर समस्या समाधानमा सम्बन्धित पक्ष एवं सरकार तथा राजनीतिक नेतृत्वको अनिच्छाले गर्दा समस्या ठूलो देखिएको टिप्पणी गरे। सरकारको पहलमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजना मेलम्ची नदीबाट दैनिक करिब १७ करोड लिटर पानी २६ किलोमिटर लामो सुरुङबाट काठमाडौं ल्याउने गरी डिजाइन गरिएको थियो। तर, २०७८ सालमा अप्रत्याशित रूपमा भएको भारी वर्षाका कारण गएको पहिरोले पहिरोले आयोजनाको हेडवक्र्स नै पुरिएर पानी आउने सुरुङमा ठूलो क्षति पुर्‍याएपछि मेलम्चीको पानी सपना बन्न पुगेको थियो।

ई। मास्केले कार्यक्रममा भने– ‘आयोजनाको विस्तृत अध्ययन गर्दा माथिबाट पहिरो आएर हेडवक्र्स पुरिने सम्भावना त देखिएकै थियो होला, त्यसलाई पर्खाल लगाएर रोक्नेतर्फ किन सोचिएन । यसले हाम्रो इन्जिनियरिङ नै फेल भएको देखिन्छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप