यज्ञराज उपाध्यायको ‘काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति’ लोकार्पण
काठमाडौँ । वरिष्ठ लोक गायक एवम् संस्कृतविद् यज्ञराज उपाध्यायको ‘काली–कर्णालीको लोक साहित्य तथा संस्कृति’ नामक पुस्तक सांस्कृतिक झाँकीसहित लोकार्पण गरिएको छ।
काली–कर्णाली क्षेत्रको लोक साहित्य र संस्कृतिको खोज अनुसन्धान गरी लेखिएको विशद ग्रन्थ आज मङ्गलाचरण, स्वस्ति वाचन, फाग, चैत, पुतला, हुड्केली, छलोका साथ प्रज्ञा प्रतिष्ठानको डबलीमा लोकार्पण गरिएको हो।
राई झुमा लगायत प्रसिद्ध देउडा गीतका गायकसमेत रहेका उपाध्यायले करिब २५ वर्ष लगाएर तयार गरेको पुस्तकलाई संस्कृतिविद् जगमान गुरुङ, प्राडा. वीणा पौड्याल, लेखक तथा कवि सुभाषचन्द्र भण्डारी र कवि डा.नवराज लम्सालले लोकार्पण गरेका हुन्।
९८४ पृष्ठको उक्त पुस्तकलाई वक्ताहरूले विश्व कोषको संज्ञा दिएका छन्। पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोक साहित्यका विभिन्न विधा–उपविधाहरूलाई केलाएर मौलिक स्वरूपमै विधागत विषय सङ्कलन गरी समावेश गरिएको छ। यस्तै पुस्तकमा संस्कार र संस्कृतिको वर्णन गरिएको छ।
संस्कृतिविद् गुरुङले अहिलेसम्म राज्यले गर्न नसकेको काम उपाध्यायले निजी पहलमा सम्पन्न गरेकोमा बधाई ज्ञापन गरे। ‘नेपाली भाषा संस्कृतिको उद्गमस्थलबाट यति ठुलो र उच्च कोटिको ग्रन्थ आउनु सम्पूर्ण नेपाल र नेपालीका लागि गौरवको विषय हो,’ उनले भने।
उपाध्यायले नेपाल चिनाउने इन्साइक्लोपिडियाका रुपमा यो ग्रन्थ दिएको उनको भनाइ थियो। ‘माननीयलाई रकम बाँडिन्छ। नेपालाई चिनाउने इन्साइक्लोपिडिया निर्माण गर्दा राज्यको नजर पुग्दैन। यो हाम्रा लागि दुखद् हो। उपाध्यायजीले अनमोल कृति दिनुभएको छ। उहाँ लोक सङ्गीत सम्राट्को रूपमा त परिचित हुनुहुन्थ्यो नै। यो कृतिले लोक साहित्य र संस्कृतिमा पनि स्थापित गरिदिने छ,’ उनले भने।
संस्कृतिविद् प्राडा वीणा पौड्यालले सामाजिक र सांस्कृतिक लोकजीवनका अप्राप्य विषयहरू उखान, टुक्का, लोककथा, गाथा, देउडा, दोहोरीसमेत यसमा समावेश भएकोले यो पुस्तक सङ्ग्रणीय रहेको बताइन्।
‘यो पुस्तक देख्ने बित्तिकै मेरा छोराले के यो महाभारत हो भनेका थिए। यो संस्कृतिको महाभारत नै हो। यसलाई सबैले सङ्ग्रहित गरेर राख्नुपर्छ,’ उनले भनिन्। जुन पेजबाट पढ्यो त्यहीबाट सुरुवात हुने र नयाँ विषयहरू रहेको उनको भनाइ थियो।
‘पुस्तकमा काली–कर्णाली क्षेत्रका संस्कार र संस्कृतिका कुरा प्रत्येक शीर्षकमा पूर्ण रूपमा आएका छन्। जहाँबाट पढ्यो यो पुस्तक त्यहीबाट नयाँ झैँ लाग्छ। प्रत्येक शीर्षक र विषय आफैँमा पूर्ण पनि छन्। यति गम्भीरताका साथ विषयको उठान हुनु र सबै कुरा समेट्न सक्नु आफैँमा चुनौतीपूर्ण थियो। तर, उक्त कुरामा उपाध्याय जी सफल हुनु भएको छ,’ उनले भनिन्।
प्रज्ञा प्रतिष्ठानको डबलीमा यस खालको कार्यक्रम अहिलेसम्मकै नौलो र भव्य रहेको भनेर वक्ताहरूले टिप्पणी गरे।
लेखक एवं सञ्चारकर्मी लम्सालले उपाध्यायको यस कृतिलाई हाम्रो समाज र संस्कृति बुझाउने अनि भावी पुस्तालाई हस्तान्तरण गर्न सकिने गीताको उपमा दिए। ‘मैले राई झुमालाई काली कर्णाली क्षेत्रको मङ्गलाचरणको रूपमा सुनेको थिएँ। अब यो ग्रन्थ गीताको रूपमा आएको छ। गीताको अर्थ र महत्त्व भनेको पढ्ने र पढ्न जान्नेलाई मात्रै भएजस्तै यो पुस्तक पनि त्यही कोटिको हो। यो पुस्तकमा देशको सांस्कृतिक र सामाजिक जीवनको आत्मा छ,’ उनले भने।
उच्च कोटीको पुस्तक भएकै कारण केहि दिनको चिया कटाएर भए पनि घर–घरमा पुस्तक संग्रहित गर्न उनले आग्रह गरे। यस्तै ९८४ पृष्ठको ग्रन्थ प्रकाशन गर्न हिम्मत गरेकोमा लम्सालले प्रकाशक बुकहिलको प्रसंशासमेत गरेका थिए।
कवि एवम् भ्याली भ्यु स्कुलका प्राचार्य सुभाषचन्द्र भण्डारीले लोक साहित्यले अमूल्य निधिका रूपमा ‘काली कर्णाली’ को लोक साहित्य तथा संस्कृति ग्रन्थ प्राप्त गरेको बताए।
‘यो ग्रन्थले उपाध्यायलाई काली–कर्णालीमा मात्र नभएर समग्र नेपाली वागमय जगतमा र आउँदो विश्व ग्राममा चिनाउने छ। ग्रन्थमा सङ्ग्रहित काली–कर्णाली क्षेत्रको लोक वागमय र सांस्कृतिक वैविध्यभित्र मानव सभ्यता अटाएको मौलिक जीवनको सार सिर्जनाको आत्मा छ,’ उनले भने।
काली कर्णालीको लोक साहित्यमा चासो राख्नेहरूले पहिले छरिएका रचना खोज्नुपर्ने भए पनि अब सबै विषय एउटै पुस्तकभित्र यस ग्रन्थमा सङ्ग्रहित भएको भण्डारीको भनाइ थियो। यसले सोधकर्ताहरूलाई समेत निकै सहज हुने उनले दाबी गरे।
‘यस पुस्तकलाई अङ्ग्रेजी भाषामा उल्था गर्न सके नोबेल पुरस्कारका लागि योग्य हुने विषय सङ्ग्रहित छ। यो एउटा हाम्रा लागि अमूल्य निधि हो। यस सङ्ग्रहमा काली(कर्णाली क्षेत्रको कला र संस्कृति लिपिबद्ध भएको छ,’ उनले भने।
यो ग्रन्थले काली-कर्णालीको लोक साहित्य मात्र नभएर सबै जनताबिचको मनलाई एकताबद्ध गर्ने कामसमेत गरेको उनले बताए। लोकार्पण समारोहमा लेखक उपाध्यायले आफ्नो चर्चित गीत राई झुमा प्रस्तुत गरेका थिए।
सोही क्रममा उनले आफूले २५ वर्ष लगाएर सामग्री सङ्कलन गरी पुस्तका कृति दिए पनि अब यो आम पाठक र संस्कृति प्रेमीहरूको सङ्ग्रह भएको बताए। उनले त्यसबाट प्राप्त हुने प्रतिक्रियामात्रै आफ्ना हुने बताउँदै यो यात्राका क्रममा साथ र सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन्।
सुदूर(पश्चिमका विभिन्न सांस्कृतिक समूहहरूले देउडा, छलो, होरीलगायतका सांस्कृतिक झाँकी तथा गायन र नृत्य प्रस्तुत गरेका थिए। बुक हिलले प्रकाशन गरेको पुस्तकको मूल्य तीन हजार रुपैयाँ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते
-
चार महिनामा १० अर्बको खाद्यान्न आयात
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन