किन बन्न सकेनन् दर्शकले मन पराउने नेपाली चलचित्र ?
चलचित्रका माध्यमबाट देशको कथा, कला, रीतिरिवाज, भाषा, वेशभूषा, परम्परा र संस्कृतिलाई संरक्षण र प्रवर्धन गर्न र देशका प्राकृतिक सुन्दरता, पर्यटकीय स्थल, धार्मिक स्थल तथा सम्पदाहरूलाई संसारभर चिनाउन ठुलो योगदान दिँदै आएको हुन्छ । योसँगै रोजगारी र आर्थिक परिचालन भएर राज्यलाई योगदानसमेत दिएको हुन्छ ।
नेपालमा वार्षिक कारोना महामारी सङ्क्रमणकालभन्दा अघि १०० को हाराहारी र वर्तमानमा ६०, ७० वटा चलचित्र निर्माण हुने गरेका छन् । लगानीको हिसाबले हेर्दा सानाठुला गरी सय करोडको लगानी हुने नेपाली चलचित्र क्षेत्र बलिउडको एक सामान्य चलेको चलचित्रको आम्दानी बराबरको रहेको अनुमान लगाउन सकिन्छ । लगानीका हिसाबले आधा दर्जन जति फिल्मले आफ्नो लगानी सुरक्षित गरी मुनाफा गर्छन् र दर्जन जति चलचित्रले लगानी सुरक्षित गर्छन् । बाँकी कतिपय चलचित्रले लगानी उठाउन सक्दैनन् नै, कतिले पोस्टरको पैसासमेत उठाउन नसकेका प्रशस्त उदाहरण नेपाली चलचित्रमा रेकर्ड छन् ।
नेपाली चलचित्रमा किन यस्तो समस्या हुन्छ ? यो खोज्नु अहिलेको प्रमुख कुरा हो । यसमा सबैभन्दा प्रमुख कारण चलचित्रको कथा छनोटको हो । त्यसपछिको स्क्रिप्ट लेखन, पटकथा र स्क्रिप्ट अनुसारको चलचित्र निर्माण गर्न नसक्नु हो । चलचित्रको मुटु भनेको त्यसको कथासार र स्क्रिप्ट हो । यसमा निर्माण पक्ष निकै चुकेको पाइन्छ । त्यसैले नाम चलेको कलाकार लिए मात्र चलचित्र चल्छ भन्ने मानसिकताका कारण धेरै निर्माताहरूको उठिबास भएको छ । यो क्षेत्र नै छोडेर पलायन हुनेको सङ्ख्या दिनहुँ बढ्दो छ । कतिले त पेसा नै परिवर्तन गरेका कैयौँ दुःखद उदाहरण छन् ।
चलचित्र देशका लागि महत्त्वपूर्ण पाटो हो । यसैको माध्यमबाट नेपाललाई संसार चिनाउने कार्य र पर्यटन विकासमा ठुलो योगदान रहँदै आएको छ । तथापि पहिलो कमजोरी निर्माण पक्षको छ भने राज्यका सम्बन्धित निकायको समेत चासो र जिम्मेवारी बोध नगरेका कारण ६ दशक लामो यो क्षेत्र धरमर धरमरको स्थितिमा पुगेको छ ।
कुनै जमानामा शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, कृष्टि मैनाली, करिष्मा मानन्धर र रेखा थापाको अनुहार पोस्टरमा राखेकै भरमा दर्शकहरू हलमा ओइरिन्थे । यी कलाकार त उदाहरण मात्रै हुन् । अन्य कलाकारको पनि त्यही स्थिति थियो । अहिले स्थिति निकै परिवर्तन भइसकेको छ । अहिलेका दर्शकहरूको मनस्थिति धेरै परिवर्तन भइसकेको छ । दर्शकले अहिले चलचित्रको प्रिप्रोडक्सन, टिजर, ट्रेलर र चलचित्रका अन्य सामग्रीहरू हेरेर चलचित्र कस्तो बनेको छ हेर्न जाने वा नजाने पहिल्यै निर्धारण गरिसकेका हुन्छन् । समय यसरी परिवर्तन भइरहेको छ । तर समयको परिवर्तन दर्शकको मनोविज्ञानअनुसार चलचित्र निर्माण गर्न नसक्नु नै नेपाली चलचित्रको ठुलो समस्या हो । जसका कारण नेपाली दर्शकको हेर्ने दृष्टिकोण र सोचाइ नेपाली चलचित्र भनेको गरिब र जातीय भाष्य निर्माण गर्ने, त्यही गोबर सोर्ने, स्याउका दाना यताउता हान्ने, त्यही राजनीति घोचपेच, डाँडाकाँडा र हिमालमा गएर हिरो हिरोइन, नाच्ने ड्रोन उडाएर बन्ने त हो भन्ने छ । हुन पनि त्यही सेरोफेरोमा नेपाली चलचित्र निर्माण भइरहेका छन् । कथाले आमदर्शकलाई छोइरहेको छैन । चलचित्र निर्माण प्राविधिक पक्षहरू निकै फितलो छ । यी यावत् कुरामा नेपाली दर्शकले परिवर्तन चाहेका छन् । जसका कारण बलिउड हलिउडका चलचित्रतिर दर्शकको आकर्षण बढ्दो रहने गर्छ ।
नेपाली चलचित्रमा धेरै विकृति रहेका छन् । जसका कारण आमदर्शकले यो क्षेत्रलाई हेर्ने दृष्टिकोण नै साँघुरो बनेको छ । यस क्षेत्रमा हुने अनावश्यक फन्डा, हल्ला र चर्चा परिचर्चाका कारण दर्शकमा नकारात्मक प्रभाव पर्ने गरेको छ । अझ पछिल्लो समय नेपाली चलचित्रमा एउटा डरलाग्दो अभ्यास हुन थालेको छ । चलचित्र घोषणापूर्व नै विभिन्न भाषामा निर्माण हुने बलिउडका विभिन्न कलाकारको अभिनय रहने चलचित्र छायाङ्कनपूर्व नै विदेश राइट्स महँगोमा बिक्री भयो यस्तै यस्तै समाचार र फन्डाका कारण आमदर्शकले नेपाली चलचित्रप्रति हेर्ने दृष्टिकोण गफै त हो भन्ने बुझेका छन् । यस विषयमा चलचित्रकर्मी सचेत र सजग हुन जरुरी छ । चलचित्र निर्माणको टुङ्गो नै नलागी अथवा निर्माण पूरा नगरी यस किसिमका हल्लाले एकछिन चर्चापरिचर्चा त होला तर आमदर्शकमा यसको नकारात्मक प्रभाव पर्ने भएकाले नेपाली चलचित्रप्रति दर्शकको रुचिसमेत घटेको तथ्यले बताउँछ । यसमा विचार पुर्याउन आवश्यक छ ।
किन यस किसिमका हल्ला र समाचार प्रकाशन गरिन्छ त ? यसका पछाडि निकै ठुलो स्वार्थ र रहस्य लुकेको हुन्छ । चलचित्र बजारमा नयाँ लगानीकर्तालाई आकर्षण गर्न यस्ता गतिविधि दिनहुँ बढिरहेको छ । जुन नेपाली चलचित्र क्षेत्रको लागि दुःखद हो । नेपाली चलचित्र क्षेत्रमा हुने गरेका यस किसिमका क्रियाकलापका कारण नयाँ निर्माताहरू एउटै चलचित्रबाट विस्थापित हुने गरेका छन् । आमदर्शकले चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोणमा राम्रो प्रभाव परेको छैन । जसका कारण ६ दशकभन्दा लामो नेपालको चलचित्र क्षेत्र अझै व्यावसायिक हुन सकेको छैन । अझ यो क्षेत्रमा हुने दूषित राजनीतिका कारण यो क्षेत्रलाई केही गरौँ भनी सङ्घर्ष गरिरहेका लगानीकर्ता निर्माता र निर्देशकसमेत निरुत्साही भई पलायन हुने गरेका छन् ।
अब नेपाली चलचित्र क्षेत्रलाई पूर्ण व्यावसायिकतर्फ लैजान जरुरी छ । त्यसका लागि सर्वप्रथम त राज्यका सम्बन्धित निकाय जस्तै चलचित्र विकास बोर्ड विभिन्न स्थापित सङ्घसंस्था लागिपर्न जरुरी छ । यसको अनुगमन गर्ने, मूल्याङ्कन गर्ने, प्रशिक्षण गर्ने, विषयगत दक्षता र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । नयाँ लगानीकर्तालाई ठिक किसिमका सूचना प्रवाह गरी दीर्घकालीन रूपमा यस क्षेत्रमा काम गर्न प्रोत्साहन गर्नु पनि राज्यको पहिलो दायित्व र जिम्मेवारी हो ।
नेपाली चलचित्र क्षेत्रको ६ दशक लामो इतिहास हेर्दा अब हाम्रा चलचित्र पनि विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने बन्नुपर्छ । चलचित्रका कथा, स्क्रिप्ट लेखन, पटकथा र मेकिङको स्तरलाई माथि उठाउँदै पूर्ण व्यावसायिक क्षेत्र बनाउन जरुरी छ । त्यसका लागि निर्माण पक्षले समेत सुधार गर्न जरुरी छ । आमदर्शकले कस्ता कथामा बनेका चलचित्र हेर्न चाहन्छन् । दर्शकको चाहना के छ ? त्यसको अनुसन्धान गरी चलचित्रको कथासार तय भएपछि चलचित्रको स्क्रिप्ट नै मुख्य मेरुदण्ड भएकाले स्क्रिप्ट लेखनमा निकै मेहनत गर्न जरुरी छ । स्क्रिप्टअनुसार चलचित्र निर्माण गर्न सके स्तरीय चलचित्र बन्न सक्छ । कथाको मागअनुसार कलाकार छनोट गर्ने स्थिति निर्माण गर्न जरुरी छ । यसो गर्न सकेमा आमदर्शकले मन पराउने चलचित्र बन्न सक्छ ।
लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रले देशका कथा, कला, भाषा, संस्कृति, परम्परा, रीतिरिवाज, इतिहास, राष्ट्रियता र पर्यटन प्रवर्धनमा ठुलो योगदान दिएको हुन्छ । तर यसतर्फ राज्यको ध्यान कहिल्यै जान सकेन । राज्यको नजरमा नेपाली चलचित्र क्षेत्र जहिले पनि ओझेलमा पर्ने गरेको छ । सरकारी तवरबाट नेपाली चलचित्र क्षेत्रको विकासका लागि खासै चासो र सहयोग गर्न नसकेको तीतो यर्थाथता छ । यसबारे सरकार गम्भीर भएर लाग्न जरुरी देखिन्छ ।
राज्यले अधिकारबिनाको योजनाबिनाको चलचित्र विकास बोर्ड गठन गरिदिएर मात्रै पन्छिन मिल्दैन । नेपाली चलचित्र क्षेत्रको बृहत्तर विकासका लागि विशेष ध्यान दिन जरुरी छ । राज्यले यस क्षेत्रमा हुने गरेका विकृति विसङ्गतिलाई समेत रोक्न आवश्यक छ । चलचित्र क्षेत्रका विभिन्न सङ्घसंस्था, जिम्मेवार निकाय, यस क्षेत्रसँग सम्बन्धित व्यक्ति विशेष र आमनागरिकले नेपाली चलचित्र क्षेत्रको विकासका लागि योगदान दिन आवश्यक छ । जय नेपाली चलचित्र ।
सानेपा, ललितपुर