बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थतन्त्र

यसअघिका तीन अर्थमन्त्रीले थन्काएको समस्या समाधान, राज्यकोषमा २० अर्ब थपिँदै

शनिबार, ३० मङ्सिर २०८०, १२ : १०
शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा कर लाग्ने र नलाग्ने विवाद समाधान हुने भएको छ । महालेखा परीक्षकको कार्यालयले २०७७ सालमा सार्वजनिक गरेको ५७ औँ वार्षिक प्रतिवेदनदेखि लगातार एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर छली भएको भन्दै असुल गर्न सरकारलाई निर्देशन दिँदै आएको थियो ।

तर, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले महालेखाको परीक्षकको प्रतिवेदनको उठाएका विषय बेवास्ता गर्दै आएका थिए । महालेखाले पहिलोपटक एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर लगाउनुपर्ने गरी प्रतिवेदन सार्वजनिक गर्दा अर्थ मन्त्रालयको नेतृत्व डा.युवराज खतिवडाले गरेका थिए ।

राष्ट्र बैङ्कका गभर्नर समेत भइसकेका डा.खतिवडा बाम गठबन्धन सरकारको अर्थमन्त्री थिए । खतिवडाले महालेखाको प्रतिवेदनले उठाएको विषय गलत भएको भन्दै न प्रतिवाद गरे र एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर उठाउने प्रक्रिया सुरु गरे । महालेखाले प्रतिवेदन सार्वजनिक गरेपछि २०७८ सालमा बजेट सार्वजनिक गरेका खतिवडाले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर लाग्ने वा नलाग्ने भन्ने विषयमा कुनै निर्णय दिन सकेनन् ।

महालेखापरीक्षकको कार्यालयले बैँकको मर्जर तथा प्राप्तिको वार्गेन पर्चेज गेन र एफपीओको प्रिमियम तथा लिलामीको शेयर बिक्रीमा विभिन्न कम्पनीले आम्दानी गरेको र राज्यलाई नियमानुसार कर नतिरेको विषय उठाइरहेको थियो ।

महालेखाले ५८ औँ वार्षिक प्रतिवेदनमा समेत एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा सरकारले कर उठाउन नसकेको विषय उठायो । महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘नेपाल लेखामानमा भएको आयकरसम्बन्धी व्यवस्थाअनुसार सौदाबाजी गर्दा भएको लाभलाई नाफा र नोक्सान विवरणमा उल्लेख गरी लेखाङ्कन गर्नुपर्नेमा सो नगरेकोले प्रचलित लेखामान र आयकर ऐन, २०५८ को दफा २२ विपरीत हुन गएको’ उल्लेख गरिएको थियो ।

‘कतिपय बैँकले नाफा नोक्सान खातामा नै देखाएको अवस्था छ । बिजनेस कम्बिनेसनबाट प्राप्त भएको लाभलाई २१ बैङ्क तथा वित्तीय संस्थाले उपर्युक्त बमोजिम लाभ देखाई आयकर तिर्नुपर्नेमा सो नगरेकोले ती वाणिज्य बैङ्कहरूको लाभ १४ अर्ब ९३ करोड ३ लाख रुपैयाँमा आयकर ऐन २०५८, अनुसूची १ को दफा २ को उपदफा (२) बमोजिम ३० प्रतिशतले हुने कर ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँमा शुल्क एवं ब्याजसमेत छानबिन गरी कर निर्धारण हुनुपर्दछ’ महालेखाको ५८ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखाले ५८ औँ प्रतिवेदन सार्वजनिक गर्दा अर्थ मन्त्रालयको नेतृत्व नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गरेका थिए । पौडेलले पनि एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर लाग्ने र नलाग्ने भन्ने विषयमा कुनै निर्णय दिन सकेनन् ।

 २०७९ सालमा अध्यादेशबाट बजेट सार्वजनिक गरेका पौडेलले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर लाग्ने नलाग्ने विषयमा कुनै निर्णय गरेनन् । जबकि त्यसबखत बैङ्क तथा वित्तीय संस्थाहरूले अर्थ मन्त्रालयलाई निर्णय दिन आग्रह गरिरहेको थियो ।

 कानुन अनुसार समयमा कर नतिरेकाले अर्बौँ रकम शुल्क र जरिवाना तिर्नुपर्ने भएपछि बैङ्क तथा वित्तीय संस्थाहरू दबाबमा थिए । युवराज खतिवडा अर्थमन्त्री हुँदा सरकारी निकायले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर तिर्नुपर्छ भनी व्याख्या नगरेकाले कुनै पनि निकायले कानुनअनुसार कर तिरेका थिएनन् । जसले गर्दा शुल्क र जरिवाना तिर्नुपर्ने दबाब थियो ।

महालेखाको ५९ औँ प्रतिवेदनले पनि एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर उठाउन सरकारलाई निर्देशन दियो । विष्णुप्रसाद पौडेलपछि अर्थमन्त्री भएका जनार्दन शर्माले पनि यो विषय समाधान गर्न सकेनन् । पौडेलले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयकबाट फेरेका मन्त्री शर्माले समेत एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर लाग्ने वा नलाग्नेको कुनै निर्णय दिएनन् ।

२०७९ सालको बजेट ल्याउँदा समेत तत्कालीन अर्थमन्त्री शर्माले यो विषय समाधान गर्न सकेनन् । एकातर्फ महालेखाले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर उठाउन निर्देशन दिइरहेको थियो । अर्कोतर्फ अर्थ मन्त्रालयको नेतृत्वले कुनै निर्णय गरिरहेको थिएन ।

त्यसैगर महालेखाको ६० औँ प्रतिवेदनमा सरकारले कर उठाउनुपर्ने विषय उठाइएको छ । महालेखाले लगातार ४ वटा प्रतिवेदनमा कर उठाउनुपर्ने विषय उठाएपछि अर्थमन्त्री प्रकाशशरण महतले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा मङ्सिर मसान्तसम्म कर तिरे जरिवाना शुल्क र ब्याज मिनाहा हुने व्यवस्था गरे ।

जबकि डा.महतभन्दा अगाडी अर्थमन्त्री रहेका डा.खतिवडा, पौडेल र शर्माले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर लाग्ने वा नलाग्ने विषयमा कुनै निर्णय दिन सकेका थिएनन् । 

सरकारले समयमै निर्णय नदिएकाले अर्बौँ रकम शुल्क र जरिवानाको दायित्वमा परेका सङ्गठित संस्थालाई छुट दिने घोषणा डा.महतले आर्थिक ऐन मार्फत गरेका थिए । तर उक्त शुल्क र जरिवानामा छुट दिने निर्णय गर्दा संविधान विपरीत सरकारले कर लगाउने खोजेको भन्दै अर्थमन्त्रीले गरेको निर्णय विरुद्ध वाणिज्य बैङ्कहरू सर्वोच्च अदालत पुगेका थिए । सरकारले भूत प्रभावी भएर राफसाफ भइसकेको विषयमा समेत कर लगाएको भन्दै बैंकरहरुले दाबी गर्दै आएका थिए ।

तर, बिहीबार सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसहित १६ वाणिज्य बैङ्क तथा बीमा कम्पनीले भूत प्रभावी कानुन बनाइ कर लगाउन खोजेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट खारेज गरेको छ । 

बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो ।

उक्त रिट सर्वोच्चले खारेज गरेसँगै आर्थिक ऐन मार्फत छुट दिने अर्थमन्त्री डा. महतको निर्णय कानुन बमोजिम भएको ठहर भएको छ । अर्थमन्त्री महतले आर्थिक ऐन मार्फत छुट दिने निर्णय गरेपछि विभिन्न सार्वजनिक कार्यक्रममा महालेखापरीक्षकको प्रतिवेदनका आधारमा आफूले निर्णय गरेको आफ्नो निर्णय कानुनअनुसार भएको बताउँदै आएका थिए ।

३ जना पूर्व अर्थमन्त्रीले कुनै निर्णय नगर्दा राज्यले गुमाएको करिब २० अर्ब राजस्व अर्थमन्त्री डा. महतको निर्णय राज्य कोषमा आउन लागेको छ । अर्थमन्त्री महतले छुट दिने निर्णय नगरेर विगतका अर्थमन्त्री जस्तै मौन बसेको भए संवैधानिक निकायले प्रश्न उठाउने र सरकारले नटेर्ने प्रकृति बढ्दै जाने थियो ।

तर, अर्थमन्त्री महतले संवैधानिक आयोगले उठाएको विषयलाई महत्वका साथ समाधान गर्दै राज्य कोषमा अर्बौँ रकम जम्मा गरेका छन् । अर्थमन्त्री महतले नै विभिन्न सार्वजनिक कार्यक्रममा संवैधानिक निकायले प्रश्न उठाएपछि सरकारले कर लिने नीति लिएको बताउँदै आएका थिए । यस्तै, मन्त्री महतले बजेट संशोधन गरेर ब्याक हुने सम्भावना नरहेको र बैंकरहरुलाई अदालत जान सार्वजनिक रूपमै सुझाव दिँदै आएका थिए । 

मङ्सिर मसान्तसम्म यस्तो रकम दाखिला गरे ब्याज र जरिवाना नलाग्ने सुविधा दिइएको छ । यसकारण कम्पनीहरूलाई आजसम्म यस्तो रकम बुझाइ सक्नुपर्ने छ । मङ्सिर मसान्तभित्र कर तिर्दा मर्जर तथा प्राप्तिबाट भएको लाभ र सेयर प्रिमियमबाट भएको लाभको आधारमा मात्रै कर तिरे पुग्छ । ब्याज र जरिवाना तिर्नुपर्दैन । शुक्रवार मात्रै ठुला करदाता कार्यालयले ३० करदाताबाट ११ अर्ब ३ करोड रुपैयाँ सकलन गरिसकेको छ । शनिवार पनि करिब ८ अर्ब रुपैयाँ सङ्कलन हुने कार्यालयको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप