एउटा खुट्टा गुमाएर पनि छमछमी नाच्दै सीता
काठमाडौँ । १२ वर्षको उमेरमा सीता सुवेदीले क्यान्सरका कारण आफ्नो एउटा खुट्टा गुमाइन् । त्यतिबेला अब आफ्नो जीवन कसरी अघि बढाउने केही थाहा थिएन ।
सानो बेलादेखि नाचमा निकै रुचि भएकी सुवेदीलाई सबैभन्दा दुःखको कुरा आफू फेरी नाच्न नपाउने भन्नेमा नै थियो । ‘ब्राह्मणको छोरीले नाच्नतिर रुचि देखाइ भनेर घरका कोही पनि खुसी हुनुहुन्थेन । नाच्नु र गाउनु भनेको बिग्रेको भन्ने सोच त्यो बेला समाजमा व्याप्त थियो त्यसैले पनि मलाई परिवारले त्यो समयमा मलाई नाच्न गाउनमा परिवारले खासै प्रेरणा दिनुहुन्थेन । २०५८ सालमा क्यान्सरको कारण खुट्टा काट्न परेपछि मलाई अब नाच्न पाउँछु कि नाइँ भन्ने पिर थियो,’ सुवेदीले रातोपाटीसँग भनिन् ।
एसएलसीपछि उनी आफ्नो पढाइलाई निरन्तरता दिन भरतपुर आइन् र वीरेन्द्र क्याम्पसमा स्नातक पढ्न सुरु गरिन् । अरू नै विषयमा पढाइ सुरु गरे पनि उनको मनमा नृत्य प्रतिको लगाव र मोह भने मरिसकेको थिएन । तर पनि समाजमा अपाङ्ग हुनुको कारण सामना गर्नुपर्ने दैनिक तिरस्कारले उनलाई सधैँ पछि पारिराख्यो ।
उनको जीवनमा गुरु धनबहादुर गोपाली एउटा यस्तो मोडमा आएर भेटिए जसका कारण उनले अहिले नयाँ परिचय पाएकी छिन् । एउटा खुट्टा नभए पनि शास्त्रीय नाचमा उनी अहिले पोख्त छिन् ।
‘यहाँसम्म आउनको लागि मैले निकै हन्डर खाएँ । आफ्नै लगन र परिश्रमबाट मैले सन् २०१८ मा गोल्ड मेडल पनि पाएँ । म जस्तै अरूको लागि अहिले म उत्प्रेरणाको स्रोत बन्न सकेको छु,’ उनले भनिन् ।
तर यहाँसम्म आउँदा उनले करिब आधा दर्जन गुरुहरूबाट नै अपहेलित भएकी थिइन् । सुरुवाती समयमा उनलाई केही गुरुले तालिम दिए पनि पछि भने ‘तिमी भोलदेखि नआऊ’ भन्ने सन्देश पाउँथिन् । कारण थियो शास्त्रीय सङ्गीतका लागि आवश्यक हुने ३२ गुण थियो जुन उनले पुरा गर्न सकेकी थिइनन् ।
गोपाली गुरुले उनलाई गायन सिकाउँदाको समयमा उनले सीताको चाल हेरेर “नानी तँलाई नाच्न पनि आउँछ जस्तो छ । एकपटक कोशिस गरि हेर् ।” भनेपछि उनमा पुनः पुरानो उर्जा सञ्चित हुन थाल्यो ।
यही बिचमा उनले गुरु रवि रानामगरलाई भेटिन्, जसले उनलाई शास्त्रीय नाचको बाटोमा डोर्याइरहेका छन् । तर एक खुट्टाको सहाराले नाच्न उनलाई सहज भने छैन । यसमा उनका रवि गुरुले भने निकै मेहनत गरेका छन् । ‘मैले उहाँलाई कसरी सजिलो हुन्छ र उहाँले कसरी सिक्न सक्नुहुन्छ भन्ने कुरालाई ध्यानमा राखेर सबै स्टेपहरु सिकाउँछु र सीता आफैँमा पनि नाचको लागि भोक भएको र बलियो आत्मबल भएको मानिस भएका कारण नै सिक्न र सिकाउन सजिलो भएको थियो,’ रानामगरले रातोपाटीलाई भने ।
अहिले पनि सीता र रवि गुरु नियमित जसो नाच प्रशिक्षणका लागि कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय पुग्ने गर्छन् । गुरुले तालीको माध्यमबाट दिएको ताललाई समातेर उनी एक खुट्टामा विभिन्न मुद्रामा नाच प्रस्तुत गर्छिन् ।
‘यही क्लास हो जहाँ मैले मेरा समकक्षीबाट अपहेलना खेपेको छु । उहाँहरूले मलाई मेरो शारीरिक अवस्थाका कारण किन यहाँ आएको जस्ता टिप्पणी गर्नुहुन्थ्यो तर पनि म त्यस्ता कुराले कहिल्यै विचलित भइनँ । अहिले म कहाँ छु र उहाँहरू कहाँ हुनुहुन्छ त्यही कुराले उहाँहरूको त्यस समयको प्रश्नको उत्तर दिएको छ,’ सीताले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी