विराट् विरासत बोकेको असम
युभल नोहा हरारेले आफ्नो पुस्तक सेपियन्स : मानव जातिको सङ्क्षिप्त इतिहासमा लेखेका छन् आजको मानव जाति होमो सेपियन्स पूर्व अफ्रिकी प्रान्तमा लगभग १ लाख वर्षअगाडि भेटिएको थियो । हरारेको सेपियन्स पुस्तक पढ्दा लाग्छ मानव जाति एउटै ठाउँमा मात्र सीमित हुन चाहँदैन नयाँ नयाँ खोज अत्याधुनिकता पछ्याइरहन चाहन्छ ।
त्यसैले त पूर्वअफ्रिकी प्रान्तबाट मान्छेहरू नयाँ ठाउँ, खाद्य र अन्य स्रोतको खोजीमा अहिलेको एसिया, युरोप, अस्ट्रेलिया, अमेरिका र संसारका अन्य ठाउँमा पुगे । मानवजन्य यही सैद्धान्तिक स्वभावले थियो वा परिवारलाई दुई छाक सुखले खुवाउने परिस्थितिजन्य अवस्थाले आजभन्दा करिब ८५ वर्षअघि मेरा हजुरबुवा (केदारनाथ पाध्या) बर्मा हुँदै भारतको असम पुगे ।
हाम्रो नियति उही न हो, हिजो होस् वा आज । परिवारलाई सुखसयल र दुई छाक हाँसीखुसी खुवाउन वैदेशिक रोजगारका लागि अविराम यात्रा चलिरहेको छ । कास्की वेगनासको मध्यम वर्गीय परिवारमा जन्मिएका मेरा हजुरबा बर्मामा ऊ बेला बेलायती गोर्खा सैनिकका रूपमा काम गरेर नेपाल फर्किएकाले बर्माका बारेमा सुनाएका कथा वा उतिबेला नेपालमा बर्मालाई सुन फल्ने ठाउँ भनिने उक्ति सुनेर गाउँकै अग्रजहरूसँग बर्मा पुगे । ५–७ वर्षको बर्मा बसाइपछि बर्मामै बिहे गरी त्यता द्वन्द्व चर्कन थाले लगत्तै असम झरे ।
भारत इस्ट इन्डिया कम्पनीमा नेपाली सेना भर्ती भएर सेवा निवृत्तिपछि उनीहरूमध्ये केही परिवारसँगै उतै बसोबास गर्न थाले भने सेनामा भर्ती भएका नेपाली बिदामा आएका बेला उनीहरूको साथ लागेर २० औँ तथा २१ औँ शताब्दीमा असममा पशुपालन, कोइला खानी, चुना उद्योग तथा रेल विभागका ठेकेदारहरूसँग काम गर्न उल्लेख्य रूपमा नेपालीहरू असम पुगेको पाइन्छ । सन् १८९० ताका असमको डिगबोईमा तेलखानी भेटिएपछि अङ्ग्रेजहरूले उल्लेख्य नेपाली कामदार लगेको समेत पाइन्छ । असमको शिवसागर जिल्लामा पुगेका मेरा हजुबुवा र हजुरआमाले आफ्ना आठ सन्तानको जन्म उतै दिए । चिया बगान, गाईपालन, तरकारी खेती तथा पण्डित्याई कर्ममा रमाएका उनीहरूले आफ्नो अन्तिम सास असममै फर्ने र भौतिक शिरीर ब्रह्मपुत्र नदी हुँदै गङ्गामा मिसिने स्थानीय दैखाना नदीमा बिर्सजन गर्ने निधो गरे । उनीहरूकै चाहना अनुसार हजुबाको विसं २०५५ र हजुरआमाको विसं २०६६ मा देहावसानपछि दैखाना नदीमा अन्तिम संस्कार भयो । मेरो बुवाले १४ वर्षको उमेरमा असममै विवाह गरेर नेपाल आउनुभयो । यता माध्यमिक तहको पढाइसँगै ७–८ वर्षको नेपाल बसाइपछि हजुरबुवाको पेसालाई सघाउन असम फर्कनुभयो भने मेरी आमा कास्कीकै पुख्र्यौली थलोमा बस्न थाल्नुभयो । बुवाले नेपाल आउजाउ गर्दै थप १२ वर्ष असम बस्नुभयो । त्यस हिसाबले मेरो खानपान र शिक्षादीक्षाका लागि असमकै त्यो उर्वर भूमिको भूमिका रर्यो ।
कुनै बेला महात्मा गान्धीले असमी भाषामा हुनर अखम अर्थात् सुनको असम भनेको भूमि र मेरो आफ्नै पारिवारिक विराट् विरासत भएको भूमिमा हजुरबुबा र हजुरआमाको अस्तु पछ्याउँदै आफ्नै उमेरले दुई बिस टेकेपछि मात्र असम यात्रा गर्ने संयोग २०८० सालको दीपावलीको छेकोमा जुर्यो ।
काठमाडौँ कलङ्कीबाट काँकडभिट्टा पुगेपछि जिप लिएर हाम्रो ७ जनाको टोली न्युजलपाइगुढी पुग्यो । न्युजलपाइगुढीबाट गुहाटी हुँदै करिव ९०० किलोमिटरको यात्रा तय गरे पछि असमको शिवसागर, गिलेकी पुगियो । दिदीसँग तिहारको टीका लगाउन हिँडेका नवलपरासीका खेमनारायण तिवारी जब रेल ब्रह्मपुत्रको पुलमा पुग्छ बिहान साढे तीन बजे वाताअनुकूलित डिब्बाको बिस्तारा छाडेर ढोकामा चिसो सिरेटो खाँदै उभिन पुग्छन् । असमको तिनसुकियामै जन्मेर ४५ वर्षसम्म उतै बसेका उनलाई गुवाटी कट्ना साथ अपर असमको सुगन्ध आउँछ रे । तिनसुकिया र डिब्रुरुगढको आफ्नो बालापनले चिमोट्छ रे । एउटै बिरुवा नछोडी हेर्दै जाऊँ जस्तो लाग्छ रे । उनको भावना र उनले तिनसुकिया, धेमाजी र डिब्रुरुगढ क्षेत्रमा व्यापक रूपमा रहेका बाँस, नियालो तथा कटन उद्योगका बारेमा सुनाएका कथा सुन्दा यात्रा थप उमङ्गित बनिरहेको थियो । मेरो मनले हजुरबा हजुरआमालाई सम्झिँदै दैखाना नदी पुगेर श्रद्धा सुमन गर्ने आतुरता प्रकट गर्दै थियो ।
केही खोल्सा खोल्सी सानासाना थुम्कासहितको अर्ध समथर भूमि जताततै चिया बगान मिश्रित समुदायका मानिस र नजिकबाट नागाल्यान्डको पहाड हेर्दा नेपालकै आमनेसमाने रहेको अनुभूत भएको थियो । हसिला असामिया, तामुल पानको सत्कार र साना कपका मसला चियाको स्वादले असामे उर्वरताको एकदमै रौनक दिएको थियो । शाकाहारीका लागि, दुध, पनिर, बाँसको चुङ्गाको भात, चुङ्गाको दही, असामी थाली, तिलपिठा र मिठाईका परिकार तथा मांसहारीका लागि लोकल खसी, कुखुरा, हाँस र माछाको स्वादले विचित्रमय असमको सम्झनालाई थप प्रगाढ बनाउँछ । सन् १९८० आसपासको विदेशी भगाउ आन्दोलन र सन् १९९० आसपासको आल्फा आन्दोलनका छर्राहरूसँग पौँठेजोरी खेल्दै असममा व्यापार गरिरहेका भानु, कृष्ण र मक्करबहादुर, चियाको कारोवार गर्ने शिव, गाईपालन गरिरहेका बालकृष्ण हुन् वा किराना पसलकी पार्वती सबैको संस्कार, मिठास र सहयोगी भावना उनीहरू बिचको सामीप्यता, धर्म संस्कृति, भाषा, साहित्यको अभिरुचि र चासो लोभ लाग्दो छ । साथै असमी र बङ्गाली समुदायसँगको निकटता प्रेमपूर्वक छ ।
असममा शिक्षण पेसा अँगालेर बसेका उमाप्रसाद शर्मा भन्छन्, असममा नेपालीहरू भारतको स्वतन्त्रता सङ्ग्राममा समेत सहभागी थिए । छविलाल उपाध्याय असमका पहिलो भारतीय स्वतन्त्रता सेनानी थिए । त्यसै गरी १९४६ मा असमको तिनसुकिया विधान सभामा नेपाली समुदायका प्रथम विधायक दलवीर सिंह लोहार थिए । हरिप्रसाद गोर्खा राईले सन् १९३५ मा नेपाली र असमीया भाषामा साहित्यहरूलेखि साहित्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै समाजलाई अन्तरघुलन गर्ने सेतु भएको कुरा शर्मा बताउँछन् । शर्मा थप्छन् असममा नेपालीहरू चिया, खेतीपाती, पशुपालन र दुध, घिउ व्यापारका अलवा उल्लेख्य रूपमा विभिन्न प्रशासनिक, राजनीतिक र शैक्षिक क्षेत्रमा रहेको जानकारी गराउँछन् । सन् १९९० ताकाको आल्फा आन्दोलने नेपालको माओवादी आन्दोलनकै झल्को दिनेगरी दुईतर्फको चेपुवामा परेका घरहरूमा गोलीका डाम देखिएका कथा र ती कठिन दिन पार गरिएको अहिले त आनन्द भएको अधिकांश नेपाली भाषी दिदीबहिनी बताउँथे ।
त्यहाँ रहेका युवा पुस्ता पढ्न र रोजगारीको लागि बैङ्गलोर, पुने, दिल्ली र पन्जाबसम्म पुग्ने रहेछन् । हामीकहाँ जस्तो वैदेशिक रोजगारमा जाने चलन एकदमै कम देखियो । सरकारी एवं आफ्नो योग्यताअनुसारको काम गर्न विभिन्न सहरहरूमा जाने एवं पशुपालन, चिया खेती अन्य व्यवसायमा देशभित्रै काम गर्ने परिपाटी बढिरहेको देखियो । असमका नेपालीभाषी दाजुभाइ दिदीबहिनीहरूमा भाषा, साहित्य र संस्कृतिको बढो अभिरुचि छ । चाडपर्वहरू र सांस्कृतिक कार्यक्रमहरूको जगेर्ना र संरक्षणमा समेत अग्रसर रहेको पाइन्छ ।
७८४३८.०८ वर्ग किमिमा फैलिएको असमको पछिल्लो तथ्याङ्क अनुसार जनसङ्ख्या ३,१२,०५,५७६ छ । नेपाली भाषाका अभियान्ताहरूले उक्त जनसङ्ख्यामध्ये २५ देखि ३० लाख नेपालीभाषी रहेको बताउँछन् तर आधिकारिक तथ्याङ्क भने कम रहेको पाइन्छ । डिकवाईमा व्यवसाय गरेर बसेका दीपक रेग्मीका अनुसार तिनसुकियाको जागुन र सदिया तथा गुवाटीको तेजपुरमा धेरै नेपालीहरू भएका टोल छन् । यद्यपि असमको धेरै जसो इलाकामा सानै सङ्ख्यामा भए पनि नेपालीहरू भएको पाइन्छ । असममा ग्रामीण क्षेत्रमा ८६ प्रतिशत र सहरी क्षेत्रमा १४ प्रतिशत मानिस बसोबास गर्दछन् । असमको सिमाना भुटान, बङ्गालेदश अरुणाचल प्रदेश, नागाल्यान्ड, मेघालय, वेस्टबङ्गाल, त्रिपुरा र मिजोरमसँग जोडिएको छ । असमको मुख्य खाद्यान्न बाली धान हो भने नगदे बालीहरू जुट, चिया, कटन, ओइल सिड, उखु, आलु र अन्य फलफूलहरू हुन । त्यस्तै मौरी पालन, तेल उद्योग, निगालो तथा बाँस उद्योग, भाँडाकुँडा उद्योग, कटन उद्योग लगायतका उद्योगहरू असममा रहेका छन् । तथ्याङ्क हातेकिताब, असम २०२१ का अनुसार असममा सानाठुला गरी कुल १,२२,४४० चिया बगान छन् । ती बगानहरू ३,४७,२०० हेक्टर क्षेत्रफलमा फैलिएका छन् । भने वार्षिक उत्पादन ३,७९,७९० केजी रहेको छ । असममा करिब ६१ प्रतिशत हिन्दु ३४ प्रतिशत मुस्लिम छन् भने अन्य धर्मवलम्बीहरूमा क्रिस्चियन, सिख, बौद्धिष्ट र जैनहरू रहेका छन् । जैविक विविधताको दृष्टिकोणले पनि असम एक महत्त्वपूर्ण आकर्षणको केन्द्र हो, जहाँ ७ बटा नेसनल पार्क, १८ वन्यजन्तु संरक्षण केन्द्र, ३ बाघ आरक्षण केन्द्र, ५ हात्ती आरक्षण केन्द्र, २ बायोस्फियरसहित २ वटा विश्व सम्पदामा सूचीकृत नेसनलपार्क छन् ।
२९०० किलोमिटर लामो ब्रह्मपुत्र नदीलाई असमको जीवन रेखाको रूपमा लिइन्छ । ब्रह्मपुत्र नदीमा रहेका मजुली र उमानन्द आइल्यान्ड मध्य मजुली आइल्यान्ड संसारकै नदीहरूको ठुलो आइल्यान्ड हो भने उमानन्द गुहाटीको पर्यटनको केन्द्र विन्दु । असमको राजधानी गुहाटीमा कामख्यादेवी, उमानन्द, नभग्रह, उग्रतारा र नेपाली मन्दिरलगायतका धार्मिकस्थल, विभिन्न विधाका कलेज, हस्पिटल, गान्धी मन्डप, नेहरू स्टडियम, म्युजियम र बह्मपुत्रनदीको पुल पर्यटनका आकर्षक गन्तव्य हुन् ।
मैले बाल्यकालमा हुजुरबा र बाले कम्मरमा कपडाले बेरेर धागोले बाँधेर ल्याएका कटकटाउँदा ती नोटहरू चराई हाजिराको १५० रोपनीमा फैलिएको चिया बगान बीचमा जीर्ण अवस्थामा रहेको, हजुरबाको पालाको घरको आँगनमा बसेर झलझली सम्झिरहेको छु । ती पैसाका लागि हजुरआमा र आमाहरूले गरेका तरकारी, घिउ व्यापार हजुरबाले र बाहरूले २५ किलोमिटर टाढा शिवसागर बजारमा दुध बेच्न जाँदा चालेका साइकलका पाइडलको अनुभूत त्यही भूमिमा बसेर गर्ने र अनुग्रहित हुने मौका पाएको छु । हजुरबाले ब्रह्मपुत्रनदीमा पुल नबन्दै हजुरआमाको हात समातेर काठ र बाँसका सहायताले असम पुगेको त्यो अदम्य साहस शिरमा राखेर आमा, दिदी, श्रीमती र छोरीलाई अक्षरमा हैन जीवनको गोरेटोमा सँगसगै हिँडाउने अठोट गर्दैछु । हजुरबा र हजुरआमाको त्यो विराट बिरासतले भावी पुस्ताको सही अभिभाकत्व लिने उत्साह र ऊर्जा आफैँभित्र बढाउँदै छु । नगदेबालीका रूपमा आएको चिया खेती तथा अत्तर बनाउन प्रयोग हुने अगर उडको खेतीले असमका किसानहरूको फिरिएको दैनिकी र सरसरती हेर्दा पर्यटन केन्द्र जस्तो देखिने असम वास्तवमै गज्जब लाग्छ ।
सुरेखा क्षेत्रीको मायाको सुवास छर्न खोज्छु म नेपाली भए पनि असामिया हुँ म भन्ने असामिया गीतमा झुम्मिएर देउसी खेल्दै गरेका नेपालीभाषी युवायुवती देख्दा हरिप्रसाद गोर्खा राईले सन् १९३५ मै भाषासाहित्यमा बनाइदिएको पुलले अहिले पनि काम गरिरहेको अनुभूत भयो । त्यसैले त मनमा पुनः अर्को असम यात्राको हुटहुटी सुरु भइसक्यो ।