शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

सागसब्जी उत्पादनबाट आत्मनिर्भर बनेका थारु महिला

शनिबार, ३० मङ्सिर २०८०, ०८ : ०५
शनिबार, ३० मङ्सिर २०८०

दाङ । बिहान ४ बजेदेखि नै तुलसीपुरका विभिन्न चोकमा कठ्याङ्ग्रिने चिसोको परवाह नगरी छिटुवामा सागसब्जी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन् दाङका थारु महिला । तुलसीपुर बजारका चोकचोकमा  किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा भेटिन्छन् ।

चिसो सडकमा ग्राहकको पर्खाइमा बस्नेमध्येकी एक हुन् तुलसीपुर उपमहानगरपालिका–१० पड्डाकी ४० वर्षीया रामकुमारी चौधरी । उनी व्यावसायिरूपमा काउली र आलुखेती गरेर आत्मनिर्भर छिन् । उनी भन्छिन्, “सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौं बित्यो । यसबाटै जीवन गुजारा भएको छ । कृषिकर्मबाट राम्रो आम्दानी भएको छ ।”  

गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले पैदल त  कहिले अटो चढेर आउने रामकुमारी पनि सडकमा कृषि उपज बेचेर आत्मनिर्भर भएकी छन् । दैनिक गर्जो टार्न र आफ्ना छोराछोरीलाई कापीकलम किन्न उहाँको कृषि आम्दानीले थेगेको छ । पाँचदेखि कठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उनले वार्षिक रु दुईदेखि साढे दुई लाखसम्म बचत गर्दै आएको सुनाइन् । बचत रकमबाट नै उनले मल बीउबिजन,  किटनाशक औषधि खरिद गर्दै आएकी छन् ।  

त्रिपन्न वर्षीया आश्मानी चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा आफूलाई सक्रिय राखेकी छन् । पन्ध्र कट्ठा जमिनमा चमसुर, पालुङ्गो, गोलभेडा फलाउने उहाँ धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउँछिन् । उनले गत वर्ष रु तीन लाख आम्दानी गरेको बताइन् । 

तुलसीपुर १६ की ४० वर्षीया राजपति चौधरी पनि १२ कट्ठा जमिनमा व्यावसायिकरूपमा सागसब्जी लगाएर गरेर आत्मनिर्भर बनेकी छन् । उनले वार्षिक रु साढे तीन लाखसम्म आम्दानी हुने गरेको बताइन् । सागपात बेचेर नै उनले आफ्ना दुई छोराछोरीलाई कृषि प्राविधि पढाएकी छन् । परिश्रमअनुसार पर्याप्त प्रतिफल प्राप्त हुने कृषिकर्ममा नै आफ्ना सन्तानलाई लगाउने आफ्नो सोच रहेको उनले सुनाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप