सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
यात्रानिबन्ध

गाउँ जस्ता सहर, सहर जस्ता गाउँ

शनिबार, ३० मङ्सिर २०८०, ०७ : ३२
शनिबार, ३० मङ्सिर २०८०

लुक्लाबाट पाइला चाल्दा बिहानको सखारै थियो । तर समय बित्न समय लाग्दोरहेन छ । मन रमाउने ठाउँ भएपछि, आँखाले झिमिक्क नगरी हेर्न थालेपछि समयले कहाँ पर्खिनु ? छिनमै समय आफ्नो गतिमा लमक्क लम्की हाल्दोरहेछ । समयले कसैलाई पर्खिएर रोकियो भने त आपतै पर्छ । बिहानको बिहानै रहँदा वा दिन नढल्किँदा अथवा रात नपर्दा मान्छेको सातो जाँदैन होला र ?

बौद्ध चैत्य, माने र ढुङ्गाको द्वार हुँदै लुक्ला बजारलाई पछाडि छाडेर । भरियाका हुल र पाहुना पर्यटकका पाइला पछ्याउँदै । लुक्लासँग बिदा भएर मेरा पाइला अगाडि बढे । बजार सिद्धिना साथ ठुलो द्वार आयो । द्वारमा पासाङ ल्हामु शेर्पाको मुहार अङ्कित अर्धकदको प्रतिमा प्रवेशद्वारको दायाँ बायाँ राखिएको रहेछ ।

त्यही पासाङ ल्हामु प्रवेशद्वारबाट बाहिरिएपछि ‘सगरमाथा जाने बाटो’ को यात्रा सुरु हुने रहेछ । त्यसैले यसलाई ‘सगरमाथा प्रवेश द्वार’ का रूपमा समेत लिने गरिएको थाहा भयो । सगरमाथा शिखर चढ्नेदेखि फेदीसम्म पुग्नेहरू सबै यही बाटो जान्छन्, आउँछन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङ ल्हामु गाउँपालिका भवनबाट ‘सगरमाथा आधार शिविर’ जाने बाटो ओरालिन्छ । त्यहाँ सबैले देशअनुसार तोकिएको शुल्क बुझाएर अघि बढ्नुपर्ने नियम रहेछ । नेपालीले कामको प्रकृतिअनुसार शुल्क फरक फरक तिर्नुपर्ने व्यवस्था रहेछ । ‘गाइड’ ले पन्ध्र सय तिरेपछि सो रसिदको अवधि एक वर्ष मान्य हुने रहेछ । भरियाहरूले पचास रुपियाँको रसिद काट्नुपर्ने रहेछ । नेपाली पर्यटक भएको हुँदा निकुञ्जले तोकेको सय रुपियाँ शुल्क बुझाएर मैले निकुञ्जको टिकट लिएँ । अब सगरमाथा फेदीसम्म पुगेर आउन पाउने अनुमति मैले पाएँ । तर शुल्क बुझाएको रसिद नफर्किउन्जेल साथमै राखिराख्नुपर्ने रहेछ ।

त्यहाँबाट हिँडेपछि मनमा बेग्लै उत्साह उम्रिने रहेछ । तनमा आनन्दका भाव स्वतः उत्पन्न हुने रहेछ । आँखामा हेर्नुको उत्सुकता कति–कति । पाइलालाई हिँड्नुको हतारो उस्तै । अनि गुराँसका बोटबुट्यान हेर्दै हिँड्दाको पृथक् आनन्द मिल्नु स्वाभाविक हो ।

लुक्लाबाट नाम्चे प्रस्थान हुँदै गर्दा सर्वप्रथम गुराँसका जङ्गलहरूले नै स्वागत गर्ने रहेछ । कैयौँ वर्ष पुराना बुढा बोटहरूले ‘मैले सिजनमा फुल्नुपर्छ’ भन्ने धर्म भुलेका छैनन् । अनेकौँ मान्छे र पशुका पैतालाका निर्मम प्रहार सहँदै बाटाघाटाले यात्रीलाई हिँडाउन सुविधा दिएकै छन् । यस्तो सुविधा र सौन्दर्यसँग साक्षात्कार हुँदै देश–विदेशका पदयात्रीको लर्को लागेकै छ यी बाटाहरूमा निरन्तर ।

कुनै गन्ध–दुर्गन्धले नाक खुम्च्याउनु पर्दैन । बरु प्रकृतिको मगमग सुगन्ध बाटैभरि । बनेली चराका सुमधुर भक्तिसङ्गीतको गुञ्जन । अनेक वनवनस्पतिले हराभरा प्रकृति । मडारिरहेका बादल, बतासिरहेका बतास र लठारिरहेका बाँदर छैनन् । शान्त, सुन्दर, हरियालीको पाटोमा पर्यटकहरू रमाइरहेका छन् ।

ओरालो झर्दै गर्दा बाटोमुनि भिरमा गुराँसकै बुट्यान । बाटो मास्तिर हेर्दा पनि गुराँसकै बन । गुराँसे बनको तिनै चरनमा चराहरू आफ्नै रनवन ठानेर निर्धक्क खाँदै, खेल्दै रमाउँदै यता भुर्र, उता खुर्र उडिरहेका । निकुञ्जको कडा निगरानीले गर्दा बनमा घाँसदाउरा गर्न पशुपन्छीलाई मार्न प्रतिबन्ध छ । त्यसो हुँदा वर्षौँदेखि जङ्गल घना रूपमा बढिरहेको र पशुपन्छी निस्फिक्री रमाइरहेका छन् ।

बाङ्गाटिङ्गा, बटारिएका, बाउँठिएका गुराँसका बुढाखाडा रूखहरू धेरै । हलक्क हुर्किएका बोटहरू कमै । चैत, वैशाखमा गुराँस फुलेको हेर्नु र तिनको सुगन्धमा समाहित हुनुको मज्जा अर्कै हुँदो हो भन्ने कल्पना गर्दै हिँडिरहेको छु । ओरालो हुँदै, तेर्सो लाग्दै हराभरा प्रकृतिको गाढा हरियो रङमा मोहित भएर एकनासले रमाउँदै रमाउँदै पाइला सार्नुको अलग्गै अनुभूतिले म वशीभूत ।

सल्लाका सुरिला रूखहरूको उचाइ यात्रा नियाल्दै जाँदा । घोडा, झम्पे, चौरीलाई बाटो छोड्दै पालो पर्खिंदै । बटुवा, भरिया, पर्यटकहरूलाई पालो दिँदै । लामो झोलुङ्गे पुल वारिबाट पारिको दृश्य हेर्दै । पारि पुगेर फेरि वारिको पाटो नियाल्दै । ओरालो झरेर आफू आएको उकालो बाटो फर्किएर हेर्दै । यात्राको मज्जा यसरी नै लिँदै ।

गगनचुम्बी पहाडबाट झरनाले फुत्त हाम्फालेर झरेको देखेर हेरेको हेरै आँखा । दूध जस्तै दूधकोशीमा रमाउँदाको क्षण फेरि अर्को सुखद पल । बडेमानका ढुङ्गामा ‘ऊँ मणि पेमे हूँ’ लेखेको सुन्दर अक्षर देखेर अचम्म मान्दै हिँड्दाको बेग्लै अनुभव । बारीमा फलेका गाँजर, बन्दा, साग हलक्कै बढेका देखेर । अनि चौँरी, घोडाहरूले खाने फर्सी जस्तै फल लहराभरि लटरम्मै बारीमा फल्नुसम्म फलेका । चिसो ओसमा पनि ती सर्लक्क सप्रिएका र स्थानीयका लागि राम्रो आम्दानीको स्रोत हुँदोरहेछ ।

नीलो र रातो रङको जस्ताले छाइएका चिटिक्कका घरबस्ती । धुपी, सल्लाका रूखहरूका बीचमा यस्ता सुन्दर घर निकै आकर्षक लाग्ने । तिनै घरहरू हुन् पैदल यात्रीका लागि भरपर्दो खाने र बस्ने स्थान । घर वरपर फूलका बोटबिरुवाहरू सजाइएको हेरेर हिँड्दै अगाडि बढ्नुको सुखद आनन्द महसुस हुन्छ । ढुङ्गा विछ्याइएका बाटा । ढुङ्गाका पर्खालले घेरिएका घर । पर्खाल र करेँसामा पहेँलपुर सयपत्रीका थुँगा बोटले थाम्न नसकेर लचक्क लच्किएका ।

फाक्दिङ, टुकटुक, चौँरीखर्क, मोन्जोमा भेटिए गाउँ जस्ता, सहर जस्ता यस्तै घर र बस्तीहरू । थाकेका, भोकाएका यात्रीका लागि यी घरहरू सहरी सुविधायुक्त । त्यसैले पनि गाउँ जस्ता सहर, सहर जस्ता गाउँ हुन् यी । यस्तो ठाउँमा विदेशीका मागअनुसारका खानपान पाउनु ठुलो कुरा हो । त्यसैले यहाँका लागि त यी पाँचतारे होटल बराबर हुन् । लुक्लाबाट हिँडेर आउँदा यिनै होटलहरूमा पर्यटकहरूको पहिलो बास हुँदोरहेछ ।

यस्ता घरहरू दस–पन्ध्र मिनेटको हिँडाइपछि भेटिन्छ । त्यति नै सङ्ख्यामा रहेका घरका आँगनमा बाँस, प्लास्टिक र काठका टेबुल, कुर्सी पाहुना निम्त्याउन पर्खिबसेका देखिन्छन् । वातावरण हेर्दा थपक्क गएर थुचुक्क बसिहालौँ जस्तो लाग्ने । कति खाइरहेका हुन्छन् त्यहाँ । हरियो जङ्गलको माझमा रङ्गीचङ्गी छाना, ध्वजापताका र अनेक डिजाइनका झुरूप्प बसेका आकर्षक घरहरू । यी घरबस्तीमा शेर्पा, कुलुङ राई जातिको बाहुल्य रहेछ । मिलेर बसेका, हाँसेर सेवा दिइरहेका । मेहनतअनुसार कमाइ पनि राम्रै भइरहेकाले सन्तुष्ट दैनिकी व्यतीत गरिरहेको देखियो ।

परन्तु ढुक्कले बसेको पनि होइन । हिँडेकै हो हेर्दै, दृश्यलाई आँखामा राख्दै । मनमा सजाएर फुर्सदमा फेरि सम्झिएर, फर्किएर पछि हेर्ने भन्दै । सोधिखोजी गर्दै, जानकारी बटुल्दै । लेख्नुका खजाना मिठा–मिठा खुराक खोज्दै । एकपछि अर्को फेरि बटुवाको लर्को । सगरमाथा आधार शिविर जाने बाटोमा मान्छेको कति घुइँचो ? मान्छेले दिएको निम्तो होइन । प्रकृतिको निम्तो मान्न आएका पर्यटकहरू । कति देशका पाहुनापासा ओइरिएका भन्दै तिनछक्क पर्दै, पर्दै ...!

यस्तो बाटो जिन्दगीमा एक पटक हिँड्नै पर्छ । यस्तो लामो यात्रामा एक पटक हिँडेर गन्तव्य पुग्नै पर्छ । कुन बिरानो देशका कति धेरै पर्यटक त्यत्तिकै, त्यसै यहाँ कहाँ आएका हुन् र ? विश्व प्रसिद्ध पदयात्रा मार्ग यो । यसको चामै बेग्लै । यसको महत्त्व नै अलग्ग । जहाँ हिँड्नुको सास्ती होइन, जीवन बुझ्नु र प्रकृतिसँग साक्षात्कार हुन पाउनुको दुर्लभ अनुभव सँगाल्न पाइन्छ ।

अन्ततः सुटुक्क समय त कुलेलम ठोक्दोरहेछ । समयले छोडेर हिँड्दोरहेछ आफैँलाई । बाटो जहीँको त्यही बसिरहँदो रहेछ चुपचाप । थाहै नपाई पदयात्रीले नेटो काटिसक्दा रहेछन् । आफू भने प्रकृति देखेर मक्ख । बस्यो, बिसायो, हे¥यो, दङ्ग प¥यो, फुरुङ्ग भयो । बस् !

क्रमशः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप