विपद् व्यवस्थापनको पूर्व तयारीबारे एभरेस्ट अस्पतालमा छलफल
काठमाडौँ । सम्भावित प्राकृतिक तथा मानवीय विपद् व्यवस्थापनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्ति सधैँ तयारी अवस्थामा रहनुपर्ने विज्ञहरूले औँल्याएका छन् । एभरेस्ट अस्पतालमा आयोजित सिभिल हब स्याटेलाइट मिटिङमा विज्ञहरूले यस्तो धारणा राखेका हुन् ।
छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख डा. प्रकाश बुढाथोकीले विपद्सँग जुध्न इच्छाशक्ति र तयारी दुवै आवश्यक पर्ने बताए ।
जाजरकोट भूकम्पमा स्वास्थ्यकर्मी तथा अन्य निकायले उद्धार र व्यवस्थापनमा देखाएको सक्रियताको प्रशंसा गर्दै उनले जतिबेला पनि खट्न सक्ने इच्छाशक्ति हुनुपर्ने बताए । स्वास्थ्य संस्थाबिचको सहकार्य पनि उत्तिकै महत्त्वपूर्ण हुने उनले औँल्याए ।
सिभिल हब स्याटेलाइटका संयोजक प्राडा दिनेशकुमार लम्सालले विपद् व्यवस्थापनमा खाद्यान्न, इन्धन, यातायात सुरक्षा, प्रभावकारी सञ्चारलगायतको व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण रहने बताए । एभरेस्ट अस्पतालका वरिष्ठ जनरल सर्जन डा.नरेश गिरीले छलफल र कार्य योजना बनाउनेभन्दा पनि कार्यान्वयन पक्षमा जोड दिइनुपर्ने बताए ।
विगतमा भएका त्रुटिहरूमा पाठ सिक्नुपर्ने उनको भनाइ थियो । नेपालमा विपद् आइरहने भएकाले स्वास्थ्यकर्मी तथा अन्य सबै निकाय सधैँ तयारी अवस्थामा बस्नुपर्ने आवश्यकता पनि उनले औँल्याए ।
एभरेस्ट अस्पतालका प्रमुख प्रशासकीय अधिकृत दीपकचन्द्र बरालले विपद्को पूर्व तयारीमा अस्पताल प्रशासन सचेत रहेको जानकारी दिए । ‘विपद् कुनै पनि समय आउन सक्ने भएकाले हामीले इन्धन, औषधि, खाद्यान्नलगायत अत्यावश्यक सामाग्रीहरूको स्टक राखेका छौँ । कम्तीमा १ हप्तासम्म विपद्को व्यवस्थापन गर्न सकिने गरी पूर्व तयारी गरेका छौँ,’ उनले भने ।
छलफलमा सिभिल हबमा आबद्ध काठमाडौँ र भक्तपुरका २४ अस्पतालका प्रतिनिधिहरू सहभागी थिए । एभरेस्ट अस्पतालका सहायक प्रशासन प्रमुख रुपेन लामाले सहजीकरण गरेको कार्यक्रममा अस्पतालका मेडिकल अफिसर डा.प्रकाश महतले सम्भावित विपद् र त्यसको व्यवस्थापनबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्भावित विपद्का लागि अस्पतालहरूलाई तयार राख्ने र कुनै विपद् निम्तिएमा अस्पतालहरूबिच सहकार्य गरेर व्यवस्थापन गर्ने लक्ष्यसहित सिभिल हब गठन भएको हो । यसमा एभरेस्ट अस्पताल, सिभिल अस्पताल, फ्रन्टलाइन अस्पताल, भरोसा अस्पताललगायत काठमाडौँ र भक्तपुरका २४ अस्पताल आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता