बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समिति बैठक

ठट्यौली शैलीमा प्रस्तावित न्यायाधीश मुसलमान– ‘१० दिनअघि सुनुवाइ सकेको भए डेढ सय मुद्दा हेरिसक्थेँ’

शुक्रबार, २९ मङ्सिर २०८०, २१ : ३६
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले सर्वोच्च अदालतमा बढेको मुद्दा चाप घटाउने एकमात्र उपाय न्यायाधीशले तोकिएको समयभरि काम गर्नुपर्ने बताएका छन् ।  शुक्रवार संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशहरुले इमान्दार भएर समय पालना गर्दै काम गरे मुद्दाको चाप घट्ने बताए ।

उनले काम, क्रोध, लोभ र मोह त्याग गरेर न्यायाधीशले काम गर्नुपर्ने बताए ।  न्यायाधीश मुसलमानलाई सांसद महेश बर्तौलाले काम मात्रै ग्रहण गर्ने लोभ मोह त्याग्ने हो, त्यसको लागि प्रतिबद्ध छु भन्नुभएको छ, न्यायिक सुशासन कसका कारणले हुन सकेन ? उजुरीकर्ताले तपाईंको बेन्चबाट मनसाय राखेर न्याय दिइएन भन्ने उजुरी छ यसबारेमा के हो ? भन्दै प्रश्न गरे । 

सांसद रमेश लेखकले सर्वोच्चमा मुद्दाको चाप कसरी घटाउने ? सार्वजनिक सरोकारका विषयमा लामो समय मुद्दा अल्झिने गरेको छ यसलाई कसरी घटाउने ? भन्दै प्रश्न गरे । 

सांसद लेखकको प्रश्नमा उनले साढे १० बजेभित्र कजलिज तोकिएपछि कसरी छिटो भन्दा फैसला गर्ने भन्नेमा आफू केन्द्रित हुने बताए । 

उनले भने– ‘अदालतमा साढे १० बजे कजलिस्ट आउँछ । त्यसपछिको  समय खेर नफाली अल्छी नगरी काम गरे मुद्दाको चाप घट्छ । सर्वोच्चमा २१ जना न्यायाधीश पूरा गरेर पूरा समय काम गर्नुपर्छ । न्यायाधीशले काम क्रोध लोभ मोह त्यागेर काम गर्नुपर्छ । कसरी काम छिटो गर्न सकिन्छ भन्दा १० दिन अघि नै सुनुवाइ भइदिएको भए यति बेलासम्म डेढ सय मुद्दा हेरिसकिन्थ्यो ।’

उनले सार्वजनिक सरोकारका विषयमा मुद्दा पर्दा आफूले छिटो टुङ्ग्याउने गरी फैसला गरेको बताए । उनले विगतमा सामाजिक सरोकार तथा विकास निर्माणका कामसम्बन्धी मुद्दा परेको बेला कसैलाई जानकारी नदिई स्थलगत भ्रमण गरेर वास्तविकता बुझी कसैलाई अन्याय नहुने गरी फैसलाहरू गरेको समेत उल्लेख गरे ।

हेटौँडाको सहिद स्मारकले केही वन क्षेत्र प्रयोग गरेको, प्रदेशको सडक निर्माणको काममा स्थानीयले दायर गरेको मुद्दा आदिको स्थलगत भ्रमण गरेर आफूले फैसला गरेको उनले बताए । 

उनले भने–‘मुद्दा हेर्ने बेला म कानुन मात्रै हेर्दिन, तथ्य पनि हेर्छु ।’ सांसद जगप्रसाद शर्माले नेपालको न्याय क्षेत्रभित्र अन्याय पनि रहेकोले त्यसलाई कसरी अन्त्य गर्न सकिन्छ ? न्यायालयमा सुशासन कायम गर्ने योजना के छ ? भनेर प्रश्न गरेका थिए । 

सांसद ज्ञानेन्द्र कार्कीले छिटो न्याय पाउन तपाईंको प्रभावकारी भूमिका कस्तो हुन्छ ? न्यायमा सबैको पहुँच पुर्याउन तपाईंको के भूमिका रहन्छ ? भन्दै प्रश्न गरेका थिए । 

उनले सर्वोच्च अदालतले अवलम्बन गरेको रणनीतिलाई लागू गराउने आफ्नो मुख्य उद्देश्य हुने बताए । एउटा न्यायाधीशले मात्र केही गर्न नसक्ने, सामूहिक प्रयासबाट सर्वोच्च सुधार गर्न सकिने उनको भनाई छ । शुक्रवार न्यायाधीश सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानमाथि सुनुवाइ भए पनि अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय भइसकेको छैन । 

शुक्रवार २ जना न्यायाधीशको सुनुवाइ सकिएको छ । पुस १ गते सर्वोच्चका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेल र  टेकप्रसाद ढुङ्गानाको सुनुवाइ गरिने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप