बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समिति बैठक

आरती साह मुद्दाको आदेशमा माफी माग्दिन : प्रस्तावित न्यायाधीश सुवेदी

शुक्रबार, २९ मङ्सिर २०८०, १७ : ४५
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीले मृतक आरती साहको मुद्दाको आदेशमा आफ्नो गल्ती नभएको दाबी गर्दै माफी माग्नुपर्ने अवस्था नभएको बताएकी छिन् । उनले न्यायाधीशले तत्कालको प्रमाणको आधारमा आदेश फैसला गर्ने बताउँदै अर्को अदालतले त्यसबारेमा के फैसला गर्छ भन्ने आधारमा गल्ती नहुने दाबी गरिन् । 

शुक्रवार संसदीय सुनुवाइ समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ  दिने क्रममा सुवेदीले मृतक आरती साहको परिवारले आरतीलाई बचाउन सक्ने भए पनि पहल गर्न नसकेको दाबी समेत गरिन् । 

उनले भनिन्– ‘मलाई खट्केको कुरा विगतमा विवाहित छोरीले माइतीको अंश पाउन सक्ने अवस्था थिएन । विवाह गरेर गएको घरमा लोग्नेसँग सम्बन्ध विच्छेद गरे पनि कुनै अंश पाउने अवस्था थिएन । त्यस अवस्थामा महिलाहरू विवश र बाध्य हुन्थे त्यस अवस्थामा महिला हिंसाको अवस्थाको एउटा परिकल्पना गर्थ्यौ । तर अहिले त राज्यको कानुनले धेरै सुविधाको परिकल्पना गरेको छ नि । अहिले त हामीसँग घरेलु हिंसासम्बन्धी कानुनहरू धेरै छ नि ।’

सुवेदीले अगाडि भनिन्– ‘त्यो छोरीलाई घरमा यदि अन्याय अत्याचार भएको थियो भने उनलाई बचाउन सार्थक प्रयास गरेको भए एउटा जीवन त बाँच्थ्यो नि ।’ सुवेदीको यो भनाइप्रति सांसद ईश्वरी घर्तीले आपत्ति जनाएकी थिइन । न्यायाधीश भएर न्याय दिने मान्छेले यस्तो अभिव्यक्ति दिनुहुन्छ भन्दै उनले पटक पटक दुःख व्यक्त गरिन् ।  

न्यायाधीश सुवेदीले जनकपुर उच्च अदालतमा आफू गएपछि ४७ दिनभन्दा बढी हाजिर नभएको, श्रीमानको उपचारका लागि बिदा लिएर भारत गएको बताउँदै जनकपुरमा आफ्नो कोही नाता सम्बन्ध र साथीभाइ भएका आधारमा आफू जनकपुर नगएको उल्लेख गरिन् । 

४७ दिनको हाजिरमा आफूले १६० थान मुद्दा हेरेको बताउँदै मन्दिर जानुबाहेक आफू बाहिर समेत नगएको र इजलासभन्दा बाहिर मुद्दाको कुरा आफूले नसुनेको उनले दाबी गरिन् । 

उनले भनिन्– ‘सर्वोच्चका लागि मेरो नियुक्ति सिफारिस दसैँ अगाडि नै हुन्छ कि भनेर चर्चा चलेको थियो । त्यस्तो अवस्थामा मैले आरती साहको मुद्दा पन्छाउन सक्दैनथेँ ? आरती साहको केश विवादित थियो भन्ने मलाई थाहा थियो नि । तर मैले मुद्दालाई इन्कार गर्नुहुँदैन, मैले आफ्नो कर्तव्य पालना गर्नुपर्छ भनेर मैले इमानदारितापूर्वक गरेँ । जे थियो त्यो मैले लेखेँ, मैले एक्लै पनि लेखेको हैन ।’

उनले अगाडि भनिन्– ‘सहकर्मीसँग बसेर सबै एङ्गलबाट हेरेर विश्लेषण गरेर हामीले आदेश गरेको हो । त्यसपछि उहाँहरू सर्वोच्च अदालत आउनुभयो सर्वोच्चले आफूले देखेको आदेश गर्‍यो । तर जिल्ला अदालतको मुद्दा विचाराधीन छ नि । फेरि पनि जिल्ला अदालतबाट थुनामा राखेको व्यक्ति प्रमाण मूल्याङ्कनले सफाइ पाउने सम्भावना पनि बाँकी नै छ । धरौटीमा छोड्ने गरी सर्वोच्च अदालतले आदेश गरेको व्यक्ति भोलि कसुरदार ठहर्ने अवस्था पनि बाँकी नै छ । अदालतले ठहर गर्ने बेलासम्म त जाहेरवालाहरूले पनि पर्खनुपर्‍यो नि ।’

आरती साहको परिवारले आफूले भने अनुसारको भएन भन्दै आरोपित गर्दै हिँडेको सुवेदीले बताइन् । उनले आफू विरुद्ध साहको परिवारले न्याय परिषद्मा पनि उजुरी गरेको भन्दै न्याय परिषद्ले विचार गरेरै आफूलाई सिफारिस गरेको दाबी गरिन् । आफू विरुद्धको उजुरी र आफ्नो कामको मूल्याङ्कन गरेर नै न्यायपरिषदले आफूलाई सिफारिस गरेको बताइन् । 

मृतक आरती साहका परिवारका तर्फबाट सुवेदीविरुद्ध ३ वटा उजुरी परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप