सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार विरुद्धको सम्मेलनमा अख्तियारका प्रमुख आयुक्तद्वारा सम्बोधन

नेपालले भ्रष्टाचार विरुद्धको लडाइँमा चुनौतीहरूको सामना गरिरहेको भनाइ
शुक्रबार, २९ मङ्सिर २०८०, १६ : ३८
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको दसौँ सम्मेलनमा सम्बोधन गरेका छन् । संयुक्त राज्य अमेरिकाको एटलान्टा सहरमा मङ्सिर २५ देखि २९ गतेसम्म सञ्चालन भएको सम्मेलनमा उनले नेपालको तर्फबाट सम्बोधन गरेका हुन् । 

सम्मेलनमा राईले भ्रष्टाचार एउटा गम्भीर अपराध भएको र यसले विकासलाई कमजोर बनाउँदै सरकार प्रतिको विश्वसनीयता घटाउने उल्लेख गरे  । ‘सम्मेलन भ्रष्टाचार विरुद्ध लड्न राज्यहरूको सामूहिक सङ्कल्पको सङ्केत गर्ने महत्त्वपूर्ण क्षण हो, नेपाल भ्रष्टाचार नियन्त्रणको लागि दृढसंङ्कल्पित रहेको र यस विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ,’ राईले भने,‘ भ्रष्टाचार नियन्त्रणको लागि प्रवर्द्धनात्मक एवं दण्डात्मक उपायहरू अवलम्बन गरिएको छ।’ 

उनले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका प्रावधानहरू कार्यान्वयन गर्न नेपालले महत्त्वपूर्ण विधायिकी र संस्थागत कदमहरू चालेको प्रसङ्ग कोट्याएका थिए । नेपालमा भ्रष्टाचार विरुद्धका गतिविधिबारे सम्मेलनमा कुरा राख्न पाउँदा आफू खुसी भएको भनाई राईको थियो । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई भ्रष्टाचार विरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धि कार्यान्वयनको लागि सम्पर्क संस्था (फोकल एजेन्सी) को रूपमा तोकिएको र महासन्धिका प्रावधानहरू कार्यान्वयनका लागि राष्ट्रिय रणनीति तथा कार्य योजना तयार गरिएको जानकारी सम्मेलनमा गराएका थिए ।

नेपालको संविधानले भ्रष्टाचारका मुद्दाहरूको अनुसन्धान र अभियोजन गर्ने संवैधानिक निकायको रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना गरेको जानकारी गराउँदै राईले सार्वजनिक पदाधिकारीहरू बिच निष्ठा कायम गर्न आयोग प्रतिबद्ध रहेको उल्लेख गरेका थिए । 

भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको  प्रभावकारी कार्यान्वयनको लागि कानुनको कार्यान्वयन सँगै न्यायिक सहयोगलाई बलियो बनाउन, सार्वजनिक र निजी क्षेत्रहरूमा पारदर्शिता र जबाफदेहिता प्रवर्द्धन गर्न र राज्यहरू बिच आपसी सहयोग संयन्त्र स्थापना गर्न नेपाल प्रयासरत रहेको राईको भनाइ थियो । 

भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा हालै वर्षहरूमा सुधार भएता पनि नेपालले भ्रष्टाचार विरुद्धको लडाइँमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गरिरहेको स्मरण राईले गरे । उनले भने, ‘भ्रष्टाचार सामाजिक, राजनीतिक र कानुनी संरचनामा गहिरोसँग जरा गाडिएकोले यसको दिगो सफलताको लागि यी अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्न जिम्मेवार र पारदर्शी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको छ ।’ 

राईले सम्मेलन आयोजना गरेकोमा संयुक्त राज्य अमेरिकाको सरकार र लागु औषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्र संघको कार्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप