बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा पाकिस्तान ३५५ रनले पछाडि

शुक्रबार, २९ मङ्सिर २०८०, १६ : १२
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन शुक्रबार पाकिस्तानले आफ्नो पहिलो पालीमा दुई विकेट गुमाएर एक सय ३२ रन बनाएको छ । दोस्रो दिनको खेल सकिँदासम्म पाकिस्तानका ओपनर ब्याट्सम्यान इमाम उल हक अविजित ३८ र खुर्रम सहजाद अविजित सात रन बनाउँदै क्रिजमा छन् ।

पाकिस्तानका अर्का ओपनर अब्दुल्लाह सफिक भने एक सय २१ बलमा ६ चौकाको मद्दतले ४२ रन बनाउँदै आउट भएका थिए । कप्तान सान मसुद पनि ३२ रन बनाएर पेभेलियन फर्किएका थिए । उनले ४३ बलको सामना गरी पाँच चौका प्रहार गरेका थिए ।

अस्ट्रेलियाका बलर नाथन लियोन र मिचेल स्टार्कले एक–एक विकेट लिए । त्यसअघि अस्ट्रेलिया आफ्नो पहिलो पालीमा चार सय ८७ रन बनाउँदै अलआउट भएको थियो । अस्ट्रेलियाले पहिलो पालीमा बनाएभन्दा पाकिस्तान अझै तीन सय ५५ रनले पछाडि छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले एक सय ६४ रनको योगदान गरे । वार्नरले दुई सय ११ बलको सामना गरी चार छक्का र १६ चौका हिर्काएका थिए । 

अर्का ओपनर उसमान ख्वाजाले पनि ४१ रन बनाए । छैटौँ नम्बरका ब्याट्सम्यान मिचेल मार्सले टोलीको खातामा ९० रन थपे । उनले एक सय सात बलमा एक छक्का र १५ चौका प्रहार गरे ।

ट्राभिस हेडले ४० र एलेक्स केरीले ३४ रन बनाए । स्टिभन स्मिथ ३१ रन बनाउँदै आउट भए । अस्ट्रेलियाले अतिरिक्त रुपमा ४१ रन पाएको थियो । पाकिस्तानका बलर अमिर जमाल एक्लैले ६ विकेट लिएका थिए । उनले २०.२ ओभरमा एक सय ११ रन खर्चिए । खुर्रम सहजादले पनि दुई विकेट हात पारेका थिए । फाहिम असरफ र साहिन शाह अफरिदीले एक–एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप