शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आयोजना

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको वित्तीय प्रगति ८२.७ प्रतिशत, भौतिक प्रगति ९४.७ प्रतिशत

शुक्रबार, २९ मङ्सिर २०८०, ०६ : ११
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले ८२.७६ प्रतिशत वित्तीय प्रगति हुँदा ९४.७ प्रतिशतले भौतिक प्रगाति गरेको छ । सात वर्षे सो आयोजनाको लक्ष्य दुध, खासी–बोकाको मासु र पस्मिना उत्पादन वृद्धि गर्ने, उत्पादनहरुको मूल्य अभिवृद्धि गर्ने र पशु सेवा क्षेत्रको सुदृढीकरण र आधुनिकीकरण गर्ने लगायत छन् ।

आयोजनाका सूचना अधिकारी डा. प्रवेश शर्माका अनुसार आयोजनाले आफ्ना लक्ष्यमध्ये कुनै प्राप्ति गरिसकेको छ भने कुनै लक्ष्य प्राप्ति नजिक छ । सो आयोजनामार्फत गाई भैंसीको दुध उत्पादकत्वमा ४० प्रतिशत वृद्धि, खसीबोकाको मासुको उत्पादत्व २० प्रतिशत वृद्धि, दुध र मासुको बिक्री ३० प्रतिशतले वृद्धिको लक्ष्य रहेकोमा ती लक्ष्य प्राप्त भइसकेको छ ।

‘दुध उत्पादकत्वमा ४० प्रतिशत वृद्धि, खसी–बोकाको मासुको उत्पादत्व २० प्रतिशत वृद्धि, दुध र मासुको बिक्री ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्य प्राप्त गरिसकेका छौँ ।’

शर्माका अनुसार आयोजनाको आधार वर्षमा प्रतिगाई सरदर दुध उत्पादन ४ सय ५० लिटर प्रतिवर्ष रहेकोमा पाँचौँ वर्षमा प्रतिगाई १ हजार ४ सय ९८ लिटर प्रतिवर्ष पुगेको थियो ।

यस्तै, भैंसीको दुध आयोजनाको आधार वर्षमा प्रतिभैंसी सरदर उत्पादन ६ सय ४० लिटर प्रतिवर्ष रहेकोमा पाँचौं वर्षमा ८ सय १४ दशमलव ९ लिटर प्रतिवर्ष पुगेको छ ।

खसी, बोकाको मासुको उत्पादन आधार वर्षको तुलनामा ८ दशमलब ४ प्रतिशतले वृद्धि भएको छ ।

सात वर्षे आयोजनामा ९ अर्ब रुपैयाँ लगानी छ । यसमध्ये विश्व बैंकले ५ अर्ब, सरकारको ९१ करोड,  लाभग्राहीको स्व–लगानी १ अर्ब ३० करोड, बैंक वित्तीय संस्थाको ऋण १ अर्ब ९५ करोड लगानी छुट्याइएको छ ।

शर्माका अनुसार आयोजनाको सेवा वा सामग्री २ लाख कृषक परिवारमा पु¥याउने लक्ष्य रहेकोमा २ लाख ४३ हजार कृषक परिवारमा पुगेको छ । यस्तै, ५ सय जनालाई पूरक अनुदान उपलब्ध गराउने लक्ष्य रहेकोमा ४ सय ४८ जनालाई अनुदान दिइएको छ ।

आगामी असारमा सकिने योजना अन्तर्गत ५ अर्ब रुपैयाँ खर्च भइसकेको शर्माले जनाए । सो रकमबाट दुध उत्पादन क्षेत्रमा ५६ प्रतिशत, मासु उत्पादन क्षेत्रमा ४२ प्रतिशत र पस्मिनामा २ प्रतिशत रकम खर्च भएको छ ।

सात वर्षे आयोजनामा ९ अर्ब रुपैयाँ लगानी छ । यसमध्ये विश्व बैंकले ५ अर्ब, सरकारको ९१ करोड,  लाभग्राहीको स्व–लगानी १ अर्ब ३० करोड, बैंक वित्तीय संस्थाको ऋण १ अर्ब ९५ करोड लगानी छुट्याइएको छ । तर यसबाट केही रकम फिर्ता हुने शर्माले जनाए ।

५३ वटा भौतिक संरचना निर्माण सम्पन्न

आयोजनाले ५३ वटा भौतिक संरचना निर्माण सम्पन्न गरेको जनाएको छ । ५४ वटा सम्झौता गरेको भौतिक संरचना निर्माण कार्यमध्ये ५३ वटा निर्माण सम्पन्न भएको हो । पशुुसँग सम्बन्धित प्रयोगशाला सुधारको काम अन्तिम चरणमा पुगेको आयोजनाले उल्लेख गरेको छ । पशु हाटबजार, प्रयोगशाला लगायतका भौतिक संरचना निर्माण भएको छ ।

पस्मिनाका लागि च्याङ्ग्राको संख्या वृद्धि

पश्मिना मूल्य शृङ्खला अन्तर्गत १० वटा कृषक समूहका करिब १ सय ४० जना सदस्य छन् । पश्मिनामा करिब ६ करोड २९ लाख रुपैयाँ बराबर लगानी भएको छ । करिब २ हजार २ सय ७८ संख्यामा च्याङ्ग्रा तथा १ सय १४ बोकाको संख्या वृद्धि भएको शर्माले जनाए ।

वंशावलीमा आधारित दुधालु गाई भैंसी नश्ल सुधार कार्यक्रम अन्तर्गत जम्मा ९ जिल्लाका ८३ वटा पशु समूहमा ५ हजार १ सय ८२ पशु दर्ता भएको छ । यो आयोजनाले ३ हजार ५ सय ५० पशुको रेकर्डिङ गरिरहेको जनाएको छ ।

यस्तै, आयोजनामार्फत ३१ वटा उन्नत तथा सुरक्षित घुम्ती खोर निर्माण भएको, पस्मिना कोर्ने काइयो, सोलार, गोठालाका लागि आवश्यक सामग्री, पस्मिना निकाल्न ट्रेविज जस्ता सामान उपलब्ध गराइएको शर्माले जनाए । फाइबर प्रशोधन उद्योगसँग पस्मिना खरिद सम्झौता भइ कच्चा पस्मिनाको बिक्रीको सुनिश्चितता भएको शर्माको भनाइ छ ।

५४ लाख भ्याक्सिन वितरण

आयोजनाबाट भएको बोलपत्र आह्वानबाट करिव ५४ लाख २५ हजार डोज ‘एफएमडी’ भ्याक्सिन खरिद भइ राष्ट्रिय रोग नियन्त्रणको कार्यक्रममा पशु सेवा विभाग मार्फत वितरण गरिएको शर्माले बताए । उनका अनुसार आयोजना मार्फत १६ वटा हेमाटोलोजी एनालाइजर र १५ वटा ‘युएसजी’ मेसिन खरिद गरी मेसिन सञ्चालनका लागि आवश्यक तालिम समेत प्रदान गरी वितरण भएको छ ।

वंशावलीमा आधारित दुधालु गाई भैंसी नश्ल सुधार कार्यक्रम अन्तर्गत जम्मा ९ जिल्लाका ८३ वटा पशु समूहमा ५ हजार १ सय ८२ पशु दर्ता भएको छ । यो आयोजनाले ३ हजार ५ सय ५० पशुको रेकर्डिङ गरिरहेको जनाएको छ ।

धेरै विषय समेट्दा समस्या

आयोजना ल्याउँदा एउटै विषय मात्रै समेट्नु पर्ने शर्माले सुझाए । यो आयोजनामा पशुक्षेत्र विकासका लागि दुध उत्पादनमा वृद्धि, पस्मिना, मासुको वृद्धि, पशु स्वास्थ्य, अनुदान लगायत क्षेत्रलाई समेटिएको छ ।

आयोजनामा विभिन्न क्षेत्र समेटिएकाले कार्य गर्न समस्या भएको आयोजनाका सूचना अधिकारी शर्मा बताउँछन् । ‘आयोजनामा विभिन्न क्षेत्र समेटिनुभन्दा एउटा विषयमा फोकस गरे राम्रो उपलब्धि हुन्थ्यो,’ उनले भने, ‘हाम्रो आयोजनाको उपलब्धि नभएको भने होइन, तर एक विषयमा मात्रै केन्द्रित भए राम्रो उपलब्धि हुन्थ्यो ।’

आयोजनामा १० लाख देखि १ करोड रुपैयाँसम्म अनुदान लिन मिल्ने थियो । जसमा ५० प्रतिशत आयोजनाको, ३० प्रतिशत बैंकबाट ऋण लिनुपर्ने र २० प्रतिशत किसान आफैँले योगदान गर्नुपर्ने थियो । यो अनुदानमा निमुखा किसानलाई समावेश गर्न नसकिएको उनले सुनाए ।

‘अनुदानमा किसानको लागत कमजोर देखियो, किनकि ५० प्रतिशत आयोजनाबाट, ३० प्रतिशत बैंक र २० प्रतिशत आफैँले लगानी गर्नुपर्ने थियो,’ उनले भने, ‘किसानले सो अनुदान रकम लिनका लागि क्षमता नपुगेको पाएका छौँ ।’

आगामी दिनमा आयोजना ल्याउँदा किसानको वर्गीकरण गर्नुपर्ने देखिएको उनले बताए । ‘कृषकको वर्गीकरण गर्न आवश्यक छ,’ उनले भने, ‘व्यावसायिक कृषकहरुको लाागि छुट्टै प्याकेज ल्याउनुपर्छ, अरु किसानलाई पनि समेट्ने गरी छुट्टै प्याकेज ल्याउनुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप