सभामुखको अगाडि महासचिव नियुक्तिबारे राष्ट्रिय सभा उपाध्यक्ष र संसद्का कर्मचारी नेताले पोखे असन्तुष्टि

काठमाडौँ । संघीय संसदको महासचिव भरतराज गौतमको अचानक राजीनामा र प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवमा नियुक्तिका लागि सिफारिस गरिएकोप्रति राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले असन्तुष्टि व्यक्त गरेकी छन् ।
बिहीबार संघीय संसद् सचिवालयले आयोजना गरेको १७ औँ संघीय संसद् सेवा दिवस कार्यक्रममा उनले कार्यकाल बाँकी रहेका महासचिवलाई राजीनामा गराइएकोमा असन्तुष्टि व्यक्त गरेकी हुन् ।
उपाध्यक्ष अर्यालले संसद् सेवा दिवस मनाइरहेको बेला संसदको महासचिवको राजीनामा गराउनु उचित नभएको बताइन् । विधिको शासन अनुसार चल्नुपर्ने बताउँदै उनले भनिन्, ‘संघीय संसद् दिवस मनाइरहेको बेला महासचिवको राजीनामा गराइयो । यो दिवस भइन्जेल राजीनामा नगराइएको भए पनि हुन्थ्यो । उहाँलाई पनि संसद् सेवा दिवस मनाउन दिएको भए हुन्थ्यो ।’
यस्तै संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले संघीय संसद्का महासचिवले किन राजीनामा गर्नुपरेको भन्दै प्रश्न गरे । उनले भने, ‘हाम्रो संस्थाका कर्मचारी प्रमुख महासचिवले राजीनामा दिनुभयो । यो बाध्य पारिएको हो कि के हो ? संसद् सेवा दिवस आउनुअघि उहाँको राजीनामा आउनु मलाई गम्भीर विषय लागेको छ । यो अवस्था किन आयो ? राजनीतिक दबाबले हो कि अथवा अन्य हिसाबले हो, बुझ्न सकिरहेको छैन ।’
सेवा दिवस सम्पन्न भएको दुईतीन दिनपछि राजीनामा दिएको भए वा नयाँ महासचिवलाई सिफारिस गरिएको भए आफूहरुले पनि आभार प्रकट गर्ने अवस्था हुन्थ्यो भन्ने उनको तर्क थियो । उनले अगाडि भने, ‘किन यो पूर्वसन्ध्यामा भइरहेको छ ? यो सेवालाई किन यस्तो बनाइएको छ ? यो विषयमा धेरै कर्मचारी साथीहरु गम्भीर र आश्चर्यचकित हुनुभएको छ ।’
बेल्बासेले आफ्नो नेतृत्वकर्ता कर्मचारीको बिदाइ पनि गर्न नपाउनेगरी कसरी राजीनामा भएको हो भन्दै प्रश्न उठाए । साथै संसद् सेवामा काम गरेका कर्मचारीलाई संसदको महासचिव हुने बाटो बन्द गर्न लागिएको हो कि भन्दै उनले आपत्ति प्रकट गरे ।
उनले भने, ‘किन प्रशासकीय कर्मचारीहरुलाई हामीले बिदाइ पनि गर्न नपाउने ? त्यो महासचिव जस्तो गरिमामय पदमा पुग्ने हामीले सपना पनि देख्न नपाउने ? यो कस्तो विडम्बना हो ? न्याय सेवामा काम गर्ने कर्मचारीहरु मुख्य रजिष्ट्रार हुन पाउने, निजामती सेवामा प्रवेश गरेको कर्मचारी मुख्य सचिव हुन पाउने तर हाम्रो सेवामा किन नपाउने ? यो विषयमा हामी अत्यन्त गम्भीर हुनुपर्छ ।’
उनले संसद् सेवामा बढुवाको अवसर नभएर सिनियर सहसचिवहरु संघीय संसदलाई छोडेर प्रदेश सभामा गइरहेको बताउँदै संसद् सेवा दिवस मनाउने पूर्व सन्ध्यामा महासचिवले राजीनामा दिनु आश्चर्यजनक भएको बताए ।
उनले भने, ‘यो अवस्थालाई हामीले कहिलेसम्म टुलुटुलु हेर बस्ने ? हाम्रा वृत्तिविकास, वैदेशिक भ्रमण, बढुवा जस्ता विषयमा एकरुपता नहुने, वृत्तिविकासका बाटाहरु बन्द हुने हो भने यो सेवामा हामी कसरी उत्साह लिएर काम गर्न सक्छौँ ?’ बढुवा सिफारिस, पुरस्कार, वैदेशिक भ्रमण, कार्यसम्पादन प्रोत्साहन लगायतका कार्यविधिका साथै १६ वर्षदेखि पुनरावलोकन हुन नसकेको ऐन र नियमावली संशोधन गर्न पनि उनले माग गरे ।
अध्यक्ष बेल्बासेले भने, ‘संसद् सेवालाई बचाइराख्ने हो भने सबैलाई समान व्यवहार, वृत्तिविकास, अनुमानयोग्य सरुवा बढुवा, सेवा सुविधाको पुनरावलोकन, सेवा सुविधा वितरणमा पारदर्शिता, सचिवालयको वार्षिक बजेट आफैँ बनाई बजेटमा अनिवार्य समावेश बनाउनुपर्छ ।’
आवश्यक सल्लाह सुझाव निर्देशन लिने र निर्णयमा पुग्ने कुराहरुमा हामी खुला छौँ : सभामुख
संसद्का कर्मचारीको गुनासो सुनिसकेपछि बोलेका सभामुख देवराज घिमिरेले संसदको गरिमालाई उच्च राख्नका लागि सबैको प्रयास महत्त्वपूर्ण हुने बताए । उनले हिजो संसद् सेवाभन्दा बाहिर रहेका बेला संसदमा काम गर्ने कर्मचारीको गरिमा ठुलो रहेको तर संसदमा सेवामा आएपछिको अवस्थालाई मूल्याङ्कन गर्नुपर्ने बताए ।
संघीय संसद् सचिवालयलाई प्रभावकारी पार्न के के गर्न सकिन्छ, विगतका अनुभव लिँदै त्यसमा कस–कसले कस्तो काम गर्न सक्छ, ती कुराहरुमा जिम्मेवारी लिएर अघि बढ्न सभामुख घिमिरेले आग्रह गरे ।
उनले भने, ‘विशिष्टिकृत सेवा प्रदान गर्नका लागि यसले खेलेको भूमिकाले निर्वाचनको माध्यमबाट आउने प्रतिनिधि सभा वा राष्ट्रिय सभाका माननीयजीहरुलाई सहयोग पु¥याउने तपाईंहरु संसदको स्थायी अनुभव प्राप्त हुनुहुन्छ । अहिले भइरहेको गतिविधिहरु कसैको इच्छा, चाहना या विधान, कानुन, परिपाटी परम्पराको खिलापमा छन् कि, त्यसलाई बेहोर्दै हामी राम्रो गर्दै जाँदैछौँ । यसको बारेमा पनि आवश्यक सल्लाह सुझाव निर्देशनहरु लिने, निर्णयमा पुग्ने कुराहरुमा हामी खुला छौँ ।’
उनले अगाडि भने, ‘खुलापनका साथ पनि जानुपर्छ तर अहिले घटिरहेको यसको गरिमालाई बढाउनका लागि, यो सेवालाई प्रभावकारी पार्नका लागि एकै प्रयासमा हामीलाई गाह्रो छ । तर यसको लागि देशको अर्थतन्त्र र हाम्रा गतिविधिहरुलाई त्यो ढङ्गले फराकिलो बनाइ जिम्मेवारीका साथ बोक्न जरुरी छ ।’
गत मङ्सिर २४ गते संसद् सचिवालयका महासचिव भरतराज गौतमले अचानक राजीनामा दिएको, सभामुख र राष्ट्रिय सभा अध्यक्षले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई संघीय संसदको महासचिवमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि कर्मचारीहरु असन्तुष्ट बनेका छन् ।
महासचिवका लागि प्रस्ताव गरिएका पाण्डेय प्रतिनिधि सभाको सचिव हुनुअघि महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायाधिवक्ता थिए । संसद् सेवाभन्दा बाहिरबाट महासचिव बनाउन खोजिएको भन्दै संसद्का कर्मचारीमा असन्तुष्टि चुलिएको छ, जुन संसद् सेवा दिवस मनाउँदा कर्मचारी युनियनका अध्यक्ष बेल्बासेले यसबारे खुलेर आफ्ना भनाइ राखेका थिए । पाण्डेयलाई महासचिवमा नियुक्तिका लागि गरिएको सिफारिस राष्ट्रपति कार्यालयमा अध्ययनका क्रममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने
-
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
-
माधव नेपाल र आरती लामाबिच बैठकमा भएको के हो ?
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
अवैध सालको काठसहित दुई जना पक्राउ