शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
बेलबारी अस्पताल विवाद

बेलबारीमा अस्थायी रूपमा राखिएको प्रहरी अस्पताल रातारात सारियो !

प्रहरी अस्पतालको स्थायित्वका लागि दर्जनौँ ठाउँ हेरियो, उपयुक्त इनरुवा नै देखियो : डीआईजी बास्तोला
बिहीबार, २८ मङ्सिर २०८०, १५ : ०५
बिहीबार, २८ मङ्सिर २०८०

विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ स्थित १५ शय्याको कोशी प्रदेश प्रहरी अस्पताल रातारात सारेको घटनाले मोरङ तरङ्गित भएको छ । प्रहरी तथा पूर्वप्रहरी कर्मचारीहरूको स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेर स्थापना गरिएको उक्त अस्पताल सरेपछि बेलबारीका सरोकारवालाले तीव्र असन्तुष्टि जनाएका छन् ।

अस्पताल रहेको स्थानमा यसअघि इलाका प्रहरी कार्यालय राखिएको थियो । ६ कट्ठा जग्गामा रहेको इलाका प्रहरी कार्यालय अझै फराकिलो ठाउँमा सरेपछि त्यहाँ २०७९ फागुन १० गते प्रदेश प्रहरी अस्पताल स्थापना गरिएको थियो । तर, अस्पताललाई पनि ठाउँ साँघुरो हुन थालेपछि प्रदेश प्रहरी कार्यालयले सोमबार राति सुनसरीको इनरुवामा सारेको हो ।

अस्पताल सारेको विषयमा बेलबारी नगरपालिका, त्यस क्षेत्रका सांसदहरू, उद्योग वाणिज्य संघ तथा राजनीतिक पार्टीहरूले आक्रोश व्यक्त गरेका छन् । बुधबार उनीहरूले अस्पताल सारेकै ठाउँमा पत्रकार सम्मेलन गरी पुनः सोही ठाउँमा अस्पताल ल्याउन माग गरेका छन् ।

‘हामीलाई कुनै जानकारी बेगर यसरी मध्यरातमा हस्पिटल सारिएको छ । यो मान्य हुने छैन,’ बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापाले भनिन्, ‘हामीले १० करोडभन्दा बढी लगानी गरेर बेलबारी ४, बुधबारेमा प्रदेश अस्पतालको लागि सुविधा सम्पन्न भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसरी रातारात बन्दै गरेको प्रदेश प्रहरी अस्पताल सारिनु गलत छ । यो तत्काल साबिकको स्थानमा हुनु पर्दछ ।’

सांसद गीता तिम्सिनाले बेलबारीमै प्रदेश प्रहरी अस्पताल ल्याउनुपर्ने बताइन् ।

उता, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले अस्पताल जहाँ रहे पनि कोशी प्रदेशमै रहेको भन्दै अनावश्यक तनाव सिर्जना गर्न खोजिएको बताए । ‘हामी कोशी प्रदेशकै हौँ । कोशी प्रदेशमै छौँ । सीमा नाघेर गएका छैनौँ । कसले के भन्यो भन्ने सरोकार भएन । यो आन्तरिक हस्पिटल व्यवस्थापनको कुरा हो । बेलबारीमा तत्कालीन अवस्थामा राखिएको मात्रै हो,’ बास्तोलाले भने, ‘त्यहाँ ठाउँ अपुग थियो । त्यो एरियामा खोजी ग¥यौँ । धेरै ठाउँमा खोजी गर्दा इनरुवामा उपयुक्त भयो । त्यसकारण हामीले सारेका हौँ । त्यहाँ त ल्याएको सामानहरू समेत चलाउन नै नसक्ने अवस्था भयो ।’

सुनसरीको इनरुवामा भने जिल्ला समन्वय समितिको नाममा रहेको सवा २ बिघा जग्गा र त्यहाँ भएका पुराना संरचना सबै खाली थियो । समन्वय समितिले प्रदेश प्रहरी अस्पताल निर्माणका लागि निर्णय गरेर पूर्णरुपमा हस्तान्तरण गरेको छ । ‘हामीले मे डिकल कलेज नै खोल्नु पर्ने अवस्था आयो भने मात्रै विकल्प खोजिएला,’ डीआईजी बास्तोलाले भने, ‘तत्काललाई सबै हिसाबले इनरुवा उपयुक्त भएको हो ।’

बास्तोलाका अनुसार अस्पतालका लागि ठाउँ साँघुरो भएपछि बेलबारी, उर्लाबारी, इटहरी, पकली, विराटनगर र धरानलगायतका क्षेत्रमा स्थान छनोटका लागि अनुगमन गर्ने काम भएको थियो । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको गुठीको जग्गा पनि अस्पताल राख्न सकिने विषयमा छलफल महानगरसँग छलफल भएको थियो । तर, विराटनगर महानगरपालिकाले वास्ता गरेन । प्रदेश प्रहरी कार्यालयले सुनसरीको पकलीमा रहेको रामजानकी मन्दिर भएको स्थानको डेढ २ बिघा जग्गा लिने तयारी गरेका े थियो । तर, त्यहाँ मन्दिरको साधारणसभाले निर्णय गर्नै सकेन । ‘बेलबारीमा अस्पताल रहँदा त्यहाँका स्थानीयले राम्रै सेवा लिए र सहयोग पनि गरेका थिए । तर, ६ कट्ठा जग्गाले मात्रै अस्पताल सञ्चालन गर्न पुग्दैन थियो,’ बास्तोला भन्छन् ।

बेलबारीकै पुल पारी रहेको सहाराको जग्गा पनि प्रहरीले हेरेको थियो । ६०–६५ लाख रुपैयाँ दिनुपर्ने अवस्था आयो । यस्तै बेलबारीमा डेढ बिघा जग्गा दिने कुरा पनि आएको थियो । तर, तदारुकतासाथ त्यो प्रक्रिया अगाडि बढेन । ।।।सबै प्रयास असफल भएपछि हामीले सारेका हौँ । बेलबारी नगरपालिकाले मेयर सावले धेरै प्रयास गर्दा पनि नसकेको अवस्था हो,’ डीआईजी बास्तोलाले भने, ‘हस्पिटल भनेको बिरालोले बच्चा सारेजस्तो ह ुने कुरा भएन । त्यसो हुँदा भविष्यमा पनि समस्या नआउने गरी हामीले सारेका हौँ ।’

इनरुवाको जिसस रहेको स्थानमा भने हस्पिटलका लागि ओपीडी सञ्चालन गर्ने, ट्रेनिङ गराउने, हस्पिटल चलाउने ठुलो भवन, अपरेसन थिएटर चलाउनका लागि ६ वटा हल रहेको बास्तोलाले बताए । यस्तै अन्य सबै संरचना प्रयोग गर्न सकिने देखिएको उनी बताउँछन् ।

‘हामीलाई इनरुवामा उपयुक्त छ भन्ने भएपछि माथि जाहेर गरेर हामीले सार्ने वातावरण मिलाएर सारेका हौँ । बेलबारीमा रहेर कुचुक्क बस्नेभन्दा इनरुवा गएर फराकिलो बनाउने कुरा हामीले हेरेका हौँ,’ बास्तोलाले भने ।

उक्त अस्पतालमा नवौँ तहका एमडीजीपी गरेका १ जना डाक्टर डीएसपी, दुई जना मेडिकल अफिसर र स्वास्थ्यकर्मी थिए । तत्कालीन आईजीपी धिरजप्रताप सिंहले उद्घाटन गरेको उक्त अस्पताल बेलबारीमा रहँदा दैनिक ३० जनासम्म ओपीडीमा सेवा लिन बिरामी आउन े गरेका थिए । अस्पतालमा नवौँ तहका चिकित्सकसहित ६० जनाको दरबन्दी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप