छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका-३ सिमरास्थित सडकमा भे.७ प ५३८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बाँके खजुरा गाउँपालिका-३ बस्ने ३० वर्षीय कृष्ण सुनारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका २ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् ।
यता धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपही पुलस्थित सडकमा प्र.२-०२-००२ प ४०९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमला नगरपालिका-८ सोनपारा बस्ने २५ वर्षीय भरत सहनी समेत २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि न्युरो अस्पताल जनकपुर रिफर गरिएको छ ।
त्यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित सडकमा प्रदेश ३-०२-००८ प ४२४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका-३ बसामाडी बस्ने २५ वर्षीय विकल सारु मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।